१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण ५ बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दमकमा गैरकानुनी अभ्यासको बचाउमा एमाले 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ५ बिहीबार ०६:१९:००

संविधान संशोधन गरेर स्थानीय तहमा प्रतिपक्षी दलको व्यवस्था गर्नुपर्ने माग

दमक नगरपालिकामा गैरकानुनी अभ्यास गर्दै संसदीय दल बनाएको एमालेले स्थानीय तहमा प्रतिपक्षीको व्यवस्था गर्न माग गरेको छ । संविधान संशोधन गरेर भए पनि स्थानीय तहमा प्रतिपक्षी दलको व्यवस्था गर्नुपर्र्ने उसको माग छ । 

बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश कमिटी सदस्य लोकबहादुर धिमालले संविधान संशोधन गरेर स्थानीय तहमा पक्ष र विपक्षको व्यवस्था गर्नुपर्ने बताए । उनी एमालेले नगरपालिकामा बनाएको संसदीय दलका नेता हुन् । 

दमकमा प्रमुख र उपप्रमुख जित्न नसके पनि एमालेले दुईतिहाइ जनप्रतिनिधि जितेको छ । एमालेले प्रतिपक्षीको रूपमा संसदीय दल नै बनाएर खेलिरहेको भूमिका संविधान र स्थानीय सरकार सञ्चालन ऐनविपरीत भएको समाचार आइतबार नयाँ पत्रिकामा प्रकाशित भएको थियो । ‘ओलीको गृहनगरमा एमालेले गर्‍यो गैरकानुनी अभ्यास : दमक नगरपालिकामा संसदीय दल बनाएर प्रतिपक्षको भूमिका’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै धिमालले संविधान संशोधन गरेर भए पनि स्थानीय तहमा प्रतिपक्षी दलको व्यवस्था गर्नुपर्ने माग राखे । 

समाचारमा संविधानविद् भीमार्जुन आचार्यको भनाइ पनि समेटिएको थियो । ‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ । संघ, प्रदेश र स्थानीय तहबीच सिद्धान्तमै फरक छ । स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष व्यवस्था गर्न खोज्नु संविधानविपरीत हो । निर्वाचनमा कसैको जित कसैको हार त भइहाल्छ । स्थानीय तहका जनप्रतिनिधि दलभन्दा जनताप्रति बढी उत्तरदायी हुन्छ र हुनुपर्छ,’ आचार्यले नयाँ पत्रिकासँग भनेका थिए, ‘कि त संविधान नै संशोधन गर्नुपर्‍यो । होइन भने जसले कोसिस गरे पनि यो अभ्यास संविधानविपरीत हो । त्यस्तो व्यवस्थाका लागि त पहिले संविधान संशोधन गर्नुपर्छ ।’ 

प्रतिपक्षी दलको नेताको हैसियतमा धिमालले कार्यालयका लागि कोठा र सवारी सुविधा मागेको नगर प्रमुख रामकुमार थापाले बताएका थिए । तर, धिमालले यसको खण्डन गरे । सबै कार्यपालिका सदस्यका लागि एउटा कोठा माग गरे पनि गाडी नमागेको उनको दाबी छ । ‘हामीले दमक नगरपालिकासँग गाडी मागेका छैनौँ । मसँग तीनवटा गाडी छन् । बरू नगरपालिकाले माग्यो भने म भाडामा दिन सक्छु । तेलका लागि ७२ लाख बजेट छुट्याउने भनेपछि कसरी त्यत्रो तेल लाग्छ ? गाडी दुरुपयोग भयो कि भनेर सोधेको हो । गाडी मागेको हैन,’ उनले भने, ‘मेयर–उपमेयर र वडाध्यक्षहरूका लागि कार्यकक्ष छ । हामीले मान्छे कहाँ भेट्ने ? हाम्रो मान्छेलाई मेयरको कोठामा लगेर भेट्ने ? त्यही भएर कार्यपालिका सदस्यका लागि एउटा कोठा मागेका हौँ । अब त्यो पनि चाहिएन । हामी चौरीमा भेट्छौँ । हामीलाई माग्ने मान्छे सम्झनुभयो ।’ 

दमकमा निर्वाचित ५५ जना जनप्रतिनिधिमध्ये एमालेका विश्वनाथ बराल जिल्ला समन्वय समिति झापाका प्रमुख निर्वाचित भएका छन् । हाल एमालेबाट निर्वाचित ४१ जना र राप्रपा, कांग्रेस, जसपा, माओवादीसहितको गठबन्धनबाट नगर प्रमुख, उपप्रमुखसहित १३ जना निर्वाचित छन् । एमालेले बनाएको संसदीय दलको उपनेतामा दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङ र सचिवमा कार्यपालिका सदस्य शारदा भट्टराई छन् । 

उनले नगर प्रमुख र नगरसभा सदस्यको हैसियत बराबर भएको दाबी गरे । ‘मेयर पनि दमकमा निर्वाचित ५५ जना नगरसभा सदस्यभित्रै पर्नुहुन्छ । उहाँ पनि हामीसमान हुनुहुन्छ,’ उनले भने, ‘हप्किदप्की गरेर नगरसभा चल्छ ?’

दमक नगरपालिकाका पूर्वनगर प्रमुख तथा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले एमालेको विधानमै पालिका दलको व्यवस्था भएको दाबी गरे । उनले विगतमा पनि दमक नगरपालिकामा पालिका दलको अभ्यास भएको पनि दाबी गरे । उनले संसदीय दलको समाचार लेखेर विषयलाई ‘ट्विस्ट’ गर्न खोजिएको आरोप लगाए ।