Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ श्रावण २ सोमबार २०:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समस्यामा किसान : रोपेको धान सुक्न थालेपछि इन्द्रकाे पूजा

Read Time : > 1 मिनेट
२०७९ श्रावण २ सोमबार २०:०३:००

आकाशे पानीको भरमा पर्सामा रोपिएको धान सुक्न थालेको छ । पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा सिँचाइ गरेर खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो । पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन् । 

पर्सामा असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । रोपिएको धान पानी अभावले पहेलिन थालेको पर्साको कालिकामाई गाउँपालिकाका किसान रामदेव दासले बताए । असार सकिँदा पनि धान रोपाइँले गति लिन नसकेको र रोपेको धान सुक्न थालेपछि यसपालि अन्नको संकट पर्ने चिन्ताले किसान पिरोलिएकाे उनले बताए । ‘मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको छ,’ उनले भने । 

मध्य असारअघिको आकाशे पानीको भरमा एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेको किसान श्याम साहले बताए । पानीको समस्या हुँदा असार सकिनै लाग्दा पनि जिल्लामा एकतिहाइ धान रोपाइँ सकिएको छैन । 

पानी नपरेपछि महिलाहरूले इन्द्र भगवानको पूजा गर्दै 
आकाशे पानी नपरेपछि जिल्लाका महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजाआजा सुरु गरेका छन् । महिलाहरूले पानी परोस् भनेर आइतबार इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधनाको लागि पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकालगायतका स्थानमा पूजाको लागि सहयोग माग गरेका छन् ।

पोखरिया नगरपालिका वडा नम्बर ६ का महिलाहरूको समूहले कालिकामाई र पोखरियामा घर–घर पुगेर पूजाका लागि चामल र रकम संकलन गरेका छन् । संकलित रकम र चामलबाट इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधना गरिने स्थानीय संगीता देवीले बताइन् । उनले पानी नपर्दा महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा गर्दा पानी पर्ने परम्परागत मान्यताअनुरूप पूजा गर्न लागेको बताइन् । महिलाहरूको समूहले टोल–टोल घुमेर सहयोग संकलन गर्ने क्रममा पुरुषहरूलाई पानी र हिलो छ्यापेका थिए । पुरुषहरूलाई पानी र हिलो छ्याप्दा पानी पर्ने परम्परागत मान्यता छ ।

पर्सामा ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न 
जिल्लामा अहिलेसम्म ४० प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर धाँजा फाटेको कृषि ज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत सुरेश चौरसियाले बताए । उनका अनुसार मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहेको छ । किसानले सहज रूपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादनमा ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेको उनको भनाइ छ । 

अधिकृत चौरसियाका अनुसार पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।.कृषि ज्ञान केन्द्र पर्साका अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ । 

मधेस प्रदेशमा चैते र बर्खे दुवै मिलाएर वार्षिक १४ लाख १६ हजार पाँच सय ८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६ सय ४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र पर्साको बाली विकास शाखाले जनाएको छ । शाखाका अनुसार पर्सामा एक लाख ६१ हजार ६ सय ९६ मेट्रिक टन धान उत्पादन हुने गर्छ ।