मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २ सोमबार १९:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला ४ वर्षपछि खुल्यो

Read Time : < 1 मिनेट
२०७९ श्रावण २ सोमबार १९:५१:००

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीस्थित मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खोलिएको छ। हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि विवाद चर्किँदा वि.सं. २०७५ भदौ २६ गते लागेको ताला आइतबार साँझ खोलिएको हो।

लामो समयदेखि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला नगरप्रमुख विमला राईको पहलमा आइतबार साँझ खुलाइएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। नगरउपप्रमुख रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक सुनील धाँजुलगायतको उपस्थितिमा ताला खोलिएको हो।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकारात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको नगरप्रमुख राईले बताइन्। ‘हलेसी प्राकृतिक स्रोत हो। तर, पोलिटिकल इस्यु बनाइयो। यसले राम्रो मेसेज जाँदैन,’ उनले भनिन्, ‘ताला खोल्नका लागि प्रस्ताव राखेँ। सबै कन्भिन्स हुनुभयो। विवादका कारण चार वर्षदेखि लागेको ताला सबैको सहमतिमा खोलियो।’

हलेसी गुफाको प्रवेशद्वारअगाडि मन्दिर व्यवस्थापन समितिको कार्यालयको ताला चार वर्षपछि खोलेर सटर खोल्दा कोठा धुलाम्मे अवस्थामा थियो। नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएका दुवै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले विवाद निम्तिएको थियो।