मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७९ श्रावण २ सोमबार ११:३६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

कोरोनाबाट वीरमा १३, टिचिङमा ६, सिभिल, टेकु र धुलिखेल अस्पतालमा एक–एक स्वास्थ्यकर्मी संक्रमित

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७९ श्रावण २ सोमबार ११:३६:००

सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् । काठमाडौंको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ ।

वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६, सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सिभिल अस्पताल र धुलिखेल अस्पतालमा एक–एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेत सेवामा खटिएका स्वास्थ्यकर्मी सुरुवाती अवस्थामै संक्रमित हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या आउन सक्ने बताउँछन् । सरुवारोग अस्पताल टेकुमा पनि स्वास्थ्यकर्मी संक्रमित हुँदा जनशक्ति कम भएर सेवा प्रवाहमा समस्या देखिन सक्ने सूचना अधिकारी नवराज गौतमले बताए । शिक्षण अस्पताल महाराजगन्जका डा. सन्तकुमार दास भने विगतमा चरम संकट पार गरेर आएका स्वास्थ्यकर्मी अहिले केहीमा संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । कोरोना बढेसँगै अन्य रोगका बिरामी अस्पताल आउन छाड्ने भएकाले पनि ठूला अस्पतालमा व्यवस्थापन केही सहज हुने उनको विश्लेषण छ । 

आठजनामा संक्रमण पुष्टि भएको १४ जेठदेखि कोरोनाको तेस्रो छाल अन्त्य भएको सरकारको निष्कर्ष थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने त्यसयता क्रमशः संक्रमण बढ्न थालेकोमा हालसम्म ६ स्वास्थ्यकर्मी मात्रै संक्रमित भएको दाबी गरेका छन् । विगतमा जस्तै केस बढे पनि कति पुग्छ प्रक्षेपण कार्य जारी रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना सुरु भएयता हालसम्म प्रदेश १ मा एक हजार ६ सय पाँच, मधेसमा ६ सय सात, बागमतीमा ६ हजार नौ सय सय ७१, गण्डकीमा चार सय ९७, लुम्बिनीमा नौ सय १०, कर्णालीमा दुई सय ३२ र सुदूरपश्चिममा दुई सय ८३ गरी जम्मा ११ हजार एक सय ९६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, प्रदेश १ मा पाँच, मधेसमा ११, बागमतीमा १४, गण्डकीमा एक, लुम्बिनीमा आठ, कर्णालीमा दुई र सुदूरपश्चिममा दुई गरी हालसम्म ४३ स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको छ ।

अढाई महिनापछि आइतबार एक संक्रमितको मृत्यु
७४ दिन अर्थात् अढाई महिनापछि पहिलोपटक आइतबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लोपटक २१ वैशाखमा एक संक्रमितको मृत्युपछि मानवीय क्षति भएको थिएन । स्वास्थ्य मन्त्रालयले सबैलाई स्वास्थ्यको पूर्ण पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्यका कुनै पनि मापदण्ड पालना नहुँदा स्वास्थ्यकर्मीमा संक्रमण बढ्न पुगेको स्वास्थ्यसचिव डा. रोशन पोखरेलले बताए ।