मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रत्येक अवाले
२०७५ चैत ६ बुधबार ११:३७:००
Read Time : > 2 मिनेट
सेयर बजार

५८ प्रतिशत घट्यो कारोबार रकम

Read Time : > 2 मिनेट
प्रत्येक अवाले
२०७५ चैत ६ बुधबार ११:३७:००

मंगलबार नेप्से परिसूचक शून्य दशमलव ५९ अंक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम ५८ दशमलव ७९ प्रतिशत घटेको हो । कारोबारको पहिलो १ घन्टासम्म सकारात्मक रहेको नेप्से, सोपछिको समयमा भने ओरालो लागेको थियो ।

अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस दिनको बजार प्रभावित भएको एक ब्रोकरले बताए । बुधबार होलीको सार्वजनिक बिदाका कारण पनि यस दिनको कारोबार प्रभावित भएको उनको भनाइ छ । लगानीकर्ता होलीको तयारीमा लागेपछि कारोबार प्रभावित भएको हो । पुँजी बजार सुधार र विस्तारका कार्य भइरहे पनि बजारले खासै गति लिन सकेको छैन । बैंकहरूले ब्याजदर नघटाउनु र बजारमा पर्याप्त माग सिर्जना नभएका कारण बजारले गति लिन नसकेको एक लगानीकर्ताले बताए ।  

बजार सारांश 
नेप्से परिसूचक यस दिन ६ दशमलव ८३ अंक घटेर १ हजार १ सय ४७ दशमलव १५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५७ अंक घटेर २ सय ४३ दशमलव ९७ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४७ अंक घटेर ८३ दशमलव ६० बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४५ अंक घटेर ७६ दशमलव ८० बिन्दुमा पुगेको छ । यस दिन १ सय ५८ कम्पनीको २ हजार ५ सय ९२ पटकको कारोबारमा १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँबराबरको ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ५४ दशमलव ८१ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

पिभट विश्लेषणअनुसार यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ५० दशमलव ९४ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ४३ दशमलव १० बिन्दुमा पहिलो टेवा र १ हजार १ सय ३९  दशमलव शून्य ६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार १ सय ५४ दशमलव ९८ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ६२ दशमलव ८२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

१० समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहको परिसूचक घटेको छ भने १ समूहको परिसूचक स्थिर रहेको छ । यस दिन होटेल समूहको परिसूचक स्थिर रहेको हो । 

व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव १५ प्रतिशत घटेको छ । वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ६८ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ६१ प्रतिशत, लघुवित्त र वित्त समूहको शून्य दशमलव ५३ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव २३ प्रतिशत घटेको छ । 

नागरिक लगानी कोषको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा नागरिक लगानी कोष अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ करोड ३५ लाख ४६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको कारोबार रकम यस दिन १ कराड नाघेको छ । यस दिन ग्लोबलको ६६ हजार १ सय ७३ कित्ता संस्थापक सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि अपर तामाकोसी हाइड्रोपावर अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन २ सय ५९ पटक सेयर कारोबार भएको छ ।

आशाको सेयर मूल्यमा सर्किट ब्रेक
बजार घटे पनि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य भने यस दिन १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । श्रीराम सुगर मिल्स र सिन्धु विकास बैंकको सेयर मूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ । त्यसैगरी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३ दशमलव १२ प्रतिशत घटेको छ । अन्य कम्पनीहरूको सेयर मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छैन ।