१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अध्यक्ष, तारा गाउँ विकास समिति
नारदकुमार लुइँटेल
२०७५ चैत ६ बुधबार ०७:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

नेपाल भ्रमण वर्षमा गाउँ पर्यटनको भूमिका

Read Time : > 3 मिनेट
नारदकुमार लुइँटेल
२०७५ चैत ६ बुधबार ०७:०१:००

अपार सम्भावना 
दृश्यावलोकन, अनुभव र स्वादका लागि विद्यमान थातथलो छाडेर घुमफिर गर्दै नयाँ स्थानमा पुग्नु पर्यटन हो । एकपटक पुगिसकेको स्थानमा मानिस सकभर जान चाहँदैन । त्यसका लागि उक्त गन्तव्यले केही न केही नयाँपन दिन सक्नुपर्छ । अथवा गन्तव्य नै नवीन हुनुपर्छ । नेपालमा हामीले पर्यटकलाई लामो समयदेखि केही सीमित पर्यटकीय गन्तव्यमा मात्र लगिरहेका छौँ । त्यसकारण मुख्य पर्यटकीय मौसममा सगरमाथा, पोखरा, चितवनजस्ता क्षेत्रमा अधिक पर्यटक पुग्छन् । त्यसबाहेक पर्यटकीय गन्तव्यको विविधीकरणमा हामीले त्यति पहल गर्न सकेका छैनौँ । तर, नेपालको ग्रामीण क्षेत्र पर्यटन विकासको अपार सम्भावना बोकेर बसेको छ । जहाँ पुग्दा पनि नौलोपनको अनुभव दिन सक्ने ग्रामीण क्षेत्रको प्रवद्र्धनबाटै ‘भ्रमण वर्ष २०२०’ सफल बनाउन सकिन्छ । 

पर्यटकलाई गाउँसम्म पु-याऔँ 
ग्रामीण पर्यटनको सन्दर्भमा हामी सम्भावना बोकेर पनि त्यसको उचित प्रयोग गर्न नसक्दा लाभ लिनबाट वञ्चित भएका छौँ । त्यसकारण अब पर्यटकलाई गाउँसम्म पु-याउने अभियान प्रारम्भ हुनुपर्छ । त्यसको एक माध्यम तारा गाउँ विकास समिति पनि हो । गाउँमा पर्यटक पु¥याउन सामूहिक पहलको आवश्यकता छ । सरकारी निकायले पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । त्यसमा अन्य सरोकारवालाले गन्तव्य प्रवद्र्धन र विकासका गतिविधि सञ्चालन गर्नुपर्छ भने स्थानीयले पर्यटन व्यवसायलाई अपनत्व ग्रहण गरी लाग्नुपर्छ । त्यसका लागि जनचेतना जगाउने, क्षमता अभिवृद्धि गर्ने, पूर्वाधार बनाउने र प्रवद्र्धनमा सहयोग गर्नेसम्मका काम समितिमार्फत भइरहेको छ । यो अभियानको उद्देश्य नै पर्यटकलाई गाउँसम्म पु-याउनु नै हो । 

देशव्यापी लोकप्रिय बनेको होमस्टे 
पछिल्ला केही वर्षयता होमस्टे नेपाली ग्रामीण पर्यटनको बलियो आधारस्तम्भ बनेको छ । तथ्यांकअनुसार अहिलेसम्म ५० भन्दा बढी जिल्लामा होमस्टे सुरु भइसकेको छ । अझ भन्नुपर्दा होमस्टे ग्रामीण भेगमा आर्थिक क्रियाकलाप वृद्धि गर्ने, उद्यमशीलता विकास गर्ने र पर्यटन प्रवद्र्धन गर्ने सन्दर्भमा एक अभियान नै प्रारम्भ भएको छ । यसले एकातर्फ ग्रामीण भेगमा जनतालाई पर्यटनका माध्यमबाट पनि पैसा कमाउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ भने अर्कोतर्फ लुकेर बसेका गन्तव्यको विकास र प्रवद्र्धन उत्तिकै मात्रामा भइरहेको छ । पछिल्लो समय स्थानीय तथा प्रदेश सरकारहरूले पनि होमस्टे विकासलाई उत्तिकै महत्व  दिइरहेका छन् ।

आन्तरिक पर्यटनको आकर्षण 
मानिसहरूको खर्च गर्ने क्षमतामा वृद्धि हुनु, यातायात तथा अन्य व्यवस्थापकीय सुविधा उपलब्ध हुनु तथा गन्तव्यहरूको प्रचार–प्रसारका कारण अहिले देशभित्रै मानिस पर्यटकका रूपमा घुम्ने प्रचलन बढेको छ । त्यसकारण हिजो कठिन मानिएका गन्तव्य अहिले व्यस्त भइसकेका छन् । रारा, कालिञ्चोक, दामन गन्तव्य अहिले आन्तरिक पर्यटकका कारण चलेका छन् । जब आन्तरिक पर्यटकलाई गन्तव्यले आकर्षण गर्न थाल्छ, त्यसपछि क्रमशः ती स्थानमा विदेशी पर्यटक पुग्न थाल्छन् । गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउन आन्तरिक पर्यटकको भूमिका महŒवपूर्ण रहेको छ । आफ्नै सवारी लिएर पनि जान सकिने सहरबाट नजिकका धेरै गन्तव्यमा अहिले देखिएको आन्तरिक पर्यटकको भिडले समग्रमा पर्यटन विकासलाई योगदान गरेको छ । 

पूर्वाधारमा लगानी 
हामीले ग्रामीण भेगसम्म पर्यटक लैजान नसक्नुको एक कारण कमजोर पूर्वाधार पनि हो । यसमा सुधार हुनु आवश्यक छ । तारा गाउँ विकास समितिले अहिले होमस्टे तालिममार्फत ग्रामीण भेगमा मानिसको क्षमता अभिवृद्धिको काम गरिरहेको छ । त्यसबाहेक हामी साना पर्यटन पूर्वाधार विकास, सुधार र निर्माणमा पनि सक्रिय छौँ । नेपाल आउने विदेशी पर्यटकलाई नेपाली कला, संस्कृति र रहनसहनसँग परिचित बनाउन प्रचलित रीतिरिवाजको प्रवद्र्धन, आतिथ्य, मैत्री र सद्भावनासँग परिचित गराउन नेपाली शैलीका आवासगृह, चमेनागृह र अन्य आवश्यक भवन स्थापनामा पनि काम गर्छौँ । यसको मतलब ग्रामीण भेगमा आवश्यक आधारभूत पूर्वाधार सरकारले बनाउँछ, प्रवद्र्धन र प्रचार–प्रसार निजी क्षेत्रले लिन्छ, त्यसको लाभ स्थानीयले पाउँछन् । यसप्रकार समग्र अभियानकै रूपमा ग्रामीण पर्यटनको विकास भइरहेको छ ।

हामीले पर्यटकलाई लामो समयदेखि केही सीमित पर्यटकीय गन्तव्यमा मात्र लगिरहेका छौँ । त्यसकारण मुख्य पर्यटकीय मौसममा सगरमाथा, पोखरा, चितवनजस्ता क्षेत्रमा अधिक पर्यटक पुग्छन् । त्यसबाहेक पर्यटकीय गन्तव्यको विविधीकरणमा हामीले त्यति पहल गर्न सकेका छैनौँ । तर, नेपालको ग्रामीण क्षेत्र पर्यटन विकासको अपार सम्भावना बोकेर बसेको छ । नेपालको पहिचान नै यहाँको मौलिक संस्कृति र परम्परागत स्वादमा लुकेको छ ।

स्थानीय सरकारहरूको सक्रियता 
परिवर्तित राजनीतिक परिस्थितिसँगै अहिले प्रदेश र स्थानीय सरकारहरू सक्रिय छन् । ग्रामीण भेगसम्म सरकारको उपस्थिति छ । अझ ती सरकारहरूलाई जनताको अपेक्षा पूरा गर्ने गरी केही काम गरौँ भन्ने हुटहुटी पनि छ । यसका लागि ग्रामीण पर्यटन एक फलदायी प्रडक्ट हुन सक्छ । किनकि, यसले एकसाथ धेरै क्षेत्रमा प्रभाव पार्छ । एक गाउँमा होमस्टे चल्यो भने स्थानीय तहमा उत्पादित मासुले बजार पाउँछ, स्थानीय बारीमा उत्पादन भएको तरकारी खपत हुन्छ । दूधले बजार पाउँछ । कामको खोजीमा बिदेसिन बाध्य युवाले आफ्नै गाउँमा रोजगारी प्राप्त गर्छ । व्यक्तिको जीवनस्तर उकासिन्छ र समग्रमा यसले अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्छ । त्यसकारण पछिल्लो समय प्रदेश सरकारहरूले होमस्टे स्थापना र सञ्चालनलाई प्रोत्साहन गरिरहेका छन् । यसका लागि नगद अनुदानदेखि तालिम र क्षमता विकासका काममा पनि उनीहरूले चासो देखाएका छन् । हामी ती सबै निकायसँग समन्वय गरी अगाडि बढ्ने प्रयासमा छौंँ ।

मुख्य गन्तव्यआसपासमा नयाँ प्रडक्ट 
सौराहा भ्रमणमा जाने पर्यटक अब अमलटारी नपुगी फर्किंदैन, किनकि त्यहाँ होमस्टेले आफ्नो पहिचान बनाइसकेको छ । जब राजकुमार ह्यारी बर्दियाको डल्ला होमस्टे पुगे, त्यसपछि बर्दिया पुग्ने हरेक पर्यटक डल्ला पुग्न थाले । लमजुङ, मनाङ, मुस्ताङ भ्रमणको योजनामा आउने पर्यटकको एक रात घलेगाउँका लागि छुट्टिएको हुन्छ । पोखरा पुग्ने पर्यटक स्याङ्जाको सिरुबारी पुग्न रुचाउँछन् । यसको मतलब अब मुख्य गन्तव्यनजिकै अन्य सहायक गन्तव्यको विकास तीव्र रूपमा भइरहेको छ । यसले अब पर्यटनको लाभ केवल सीमित मानिसले मात्र लिए भन्ने धारणा कम हुँदै गइरहेको छ । स्थानीयहरू पर्यटनबाटै कमाइ सम्भव छ भन्ने कुरामा विश्वास गर्न थालेका छन् ।

मौलिक संस्कृति र परिकार 
नेपालको पहिचान यहाँको मौलिक संस्कृति र परम्परागत स्वादमा पनि लुकेको छ । ग्रामीण भेगमा अझै पनि यसको झल्को पाइन्छ । अझ पछिल्लो समय होमस्टे तथा अन्य पर्यटकीय गतिविधिका माध्यमबाट यसको संरक्षण गर्ने अभियान पनि सुरु भएको छ । यस कार्यमा युवापुस्ता नै आकर्षित भइरहेका छन् । मौलिकता हरेक मुलुकले पर्यटक आकर्षित गर्न प्रचार–प्रसार गर्ने एक माध्यम हो । नेपालमा मगर, थारू, गुरुङजस्ता मौलिकतामा धनी जातजातिले होमस्टे चलाएका छन् । उनीहरूको मौलिक पोसाक, स्वादिष्ट खाना र परम्परागत नृत्य तथा संगीतले पर्यटक आकर्षित गर्ने क्षमता राख्छ । यसको उपयोग नेपाल भ्रमण वर्षमा गर्न सकिन्छ ।    

हट्नुपर्छ विकृति
ग्रामीण पर्यटनको विकास र होमस्टेका सन्दर्भमा बहस गर्दा केही विकृतिका बारेमा पनि छलफल हुनुपर्छ । होमस्टेको नाममा राज्यबाट छुट र सुविधा लिने अनि गाउँमा रिसोर्ट शैलीमा बढी मूल्य लिएर व्यवसाय गर्ने प्रवृत्ति छ । यस्ता गतिविधिले होमस्टेको वास्तविक स्वाद दिँदैन । अर्कोतर्फ काठमाडौंभित्रै पनि होमस्टे सञ्चालन भइरहेको पाइन्छ । जहाँ आतिथ्य सेवा पुगेको छैन, तर पर्यटक पुग्न थालिसके, उनीहरूलाई गाँस र वास उपलब्ध गराउने उद्देश्यले होमस्टेको अवधारणा आएको हो । तर, जहाँ अर्बौँ रुपैयाँ खर्च गरेर बनाइएका होटेल चलिरहेका छन्, ती स्थानमा होमस्टेमार्फत सस्तोमा पर्यटक राख्दा ठूला लगानीकर्तालाई असर पुग्छ । यो द्विविधामा स्पष्ट हुनुपर्छ । बरु, होमस्टेको पनि वर्गीकरण गर्न सकिन्छ । त्यसअनुसार सरकारले नै दर तोकिदिनुपर्छ । ग्रामीण भेगमा हुने पर्यटकीय गतिविधिमा असर पुग्ने गरी भित्रिएका विकृति भने हटाउनुपर्छ ।