मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३१ शुक्रबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषकका लागि गाउँमै बाली उपचार शिविर

Read Time : < 1 मिनेट
२०७९ असार ३१ शुक्रबार १९:४८:००

बागलुङको गलकोट नगरपालिका–१, दुदिलाभाटीका किसानले लगाएको सुन्तला, कागतीलगायतको फलफूलकोे फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतको समस्याले हैरान भएका वेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको छ । गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाबअनुसार किसानले आफ्नो बारीमा लगाएको फलफूल र तरकारीका बिरुवा जोगाएका छन् । 

‘सुन्तला कागतीलगायतका फलफूलका फल झर्ने समस्याले हैरान भएका थियौँ। तरकारीमा पनि औसाकिरा लागेर हैरान थियौँ,’ स्थानीय किसान हिरा काउचाले भने, ‘गाउँमै बाली उपचार शिविर सञ्चालन भएपछि हामीलाई धेरै फाइदा भयो । जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपायका बारेमा जानकारी पायौँ, शिविरका कारण फलफूल र तरकारीमा भएको समस्या पनि समाधान हुने आशामा छाैँ ।’ 

स्थानीय तहसँग समन्वय गरेर गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगका बारेमा जाँचबुझ गरी उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी दिने र उनीहरूले सोहीअनुसार रोग तथा किरा नियन्त्रणका लागि औषधि तथा अन्य विधि अपनाउने गरेको गलकोट नगरपालिकाका कृषि प्राविधिक रमा शर्माले बताइन् । नगरपालिकाको हरिचौर र दुदिलाभाटीमा शिविर गरिएको थियो । दुदिलाभाटीमा २५ जना कृषकहरूले आफ्नो तरकारी र फलफूल खेतीमा लागेको रोगकको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए । 

कृषि ज्ञानकेन्द्र बाग्लुङको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको हो ।  ज्ञानकेन्द्रले चालू आर्थिक वर्षमा जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरी कृषकका समस्या समाधानको उपाय खोजेको कृषि ज्ञानकेन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले बताए । शिविरमा किसानलाई परेका समस्या, बालीमा लागेको रोगकिराको उपचार, जैविक विषादीको प्रयोगलगायतका विषयमा जानकारी दिइएको उनले बताए ।