१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार ३१ शुक्रबार ११:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी फुटाउने प्रयास असफल भएपछि बाबुरामले अर्काे  बाटो रोजे : उपेन्द्र यादव

Read Time : > 1 मिनेट
२०७९ असार ३१ शुक्रबार ११:५५:००

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको गलत सोचले पार्टी फुटाउने प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गराउनेतर्फ लागेको बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा फुटाउने षड्यन्त्रमा भट्टराई असफल भएर आफ्नो बाटो राेजेको बताएका हुन् । 

भट्टराईसहितका नेताले विधानविपरीत काम गर्दै आएकाले बहुमतको निर्णयका आधारमा कारबाही भएको बताए । उनले भने, ‘बहुमतको दम्भ देखाउने अध्यक्ष डा. भट्टराईको गुटको भेला अवैधानिक छ  । जसपाको बहुमत सदस्यको बैठकले उक्त बैठकमा सहभागी भएकालाई कारबाही गर्ने निर्णय गरेको छ ।’ केन्द्रीय समितिको बैठकले पार्टीको विधानविपरीत अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित नौजनालाई कारबाही गर्ने निर्णय गरेको बताए । 

यादवले अध्यक्ष भट्टराईसहित विस्तारित बैठकमा सहभागी हिसिला यमी भट्टराई, पूर्वमन्त्री महेन्द्रराय यादव ,रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगाबहादुर श्रेष्ठ ,भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको हो । 

अध्यक्ष यादवले जनता समाजवादी पार्टीको वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयमा पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात-अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने तथा संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा निर्णय गरेको बताए । 

उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ । वीरगन्जमा दुई दिनसम्म चलेको बैठकमा करिब तीन सय १७ जना सदस्य सहभागी रहेको दाबी गरे । सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधानविपरीत झुन्डको भेला गरेकाले उनीहरूलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरिएको उनले बताए । 

भट्टराई पक्षले भने नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो ।