मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३१ शुक्रबार ०५:५०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रचण्ड आज दिल्ली जाँदै : मोदीसँग आइतबार, नड्डासँग शनिबार वार्ता

Read Time : > 1 मिनेट
२०७९ असार ३१ शुक्रबार ०५:५०:००

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तीनदिने भारतको औपचारिक भ्रमणमा दिल्ली जाने भएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा जान लागेका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । 

कूटनीतिक स्रोतहरूका अनुसार प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रचण्डको सम्मानमा शनिबार साँझ विदेशमन्त्री जयशंकरले रात्रिभोज आयोजना गर्दै छन् । ‘पूर्वप्रधानमन्त्रीको हैसियतमा भारत सरकारले प्रचण्डको भ्रमणलाई महत्व दिएको छ,’ एक भारतीय कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग टेलिफोनमा भने । अध्यक्ष प्रचण्ड शुक्रबार अपराह्न दिल्ली पुग्नेछन् । शुक्रबार उनलाई भाजपा विदेश विभागका तर्फबाट रात्रिभोज दिने कार्यक्रम रहेको भाजपा स्रोतले जनाएको छ । 

प्रचण्डले शनिबार फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । यो संस्थाका उपाध्यक्ष भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले हुन् । कार्यक्रम दिल्लीको चाणक्यपुरीस्थित सुष्मा स्वराज भवनमा हुनेछ । नेपाल–भारत सम्बन्धका जानकारहरूले कार्यक्रममा निमन्त्रणा पाएका छन् । 

‘अध्यक्ष प्रचण्डले भारत भ्रमणबारे हामीलाई जानकारी दिनुभएको छ । मूलतः भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा जान लाग्नुभएको छ,’ माओवादी नेता देव गुरुङले बिहीबार साँझ नयाँ पत्रिकासँग भने । प्रचण्डले पार्टी नेताहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशंकरलगायतसँग भेटवार्ता तय भएको जानकारी गराएको गुरुङले बताए । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भारतीय विदेशसचिव विनयमोहन क्वात्राले डेढ महिनाअघि नड्डाका तर्फबाट दिइएको निमन्त्रणा हस्तान्तरण गरेका थिए । नेपालका प्रमुख राजनीतिक पार्टीसँग सम्बन्ध विस्तार गर्ने भाजपा नीतिअनुसार भाजपाले प्रचण्डलाई निमन्त्रणा गरेको हो । 

‘भाजपाले नेपाली कांग्रेस, एमाले, माओवादीसहित सबै प्रमुख पार्टीसँग राजनीतिक सम्बन्ध विस्तार गर्न चाहेको छ । त्यसकै निरन्तरतामा प्रचण्डको भ्रमण हो जस्तो लाग्छ,’ भारतको प्रतिष्ठित चिन्तन प्रतिष्ठान एमपिआइडिएसएका नेपाल–भारत सम्बन्धविज्ञ डा. निहार नायकले नयाँ पत्रिकासँग भने, ‘छिमेकी मुलुकहरूका प्रमुख पार्टी र नेतासँग भाजपाको राजनीतिक सम्बन्ध विस्तारका लागि भाजपाले एक वर्षदेखि गर्दै आएको एउटा प्रयोगको यो निरन्तरता हो । दुई देशको सम्बन्ध सञ्चालनमा पनि राजनीतिक सम्बन्ध र सम्पर्कले भूमिका खेल्न सक्छ र समस्या समाधानमा यो सम्बन्ध कामयावी हुन सक्छ भन्ने भाजपाको बुझाइ देखिन्छ ।’