मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २९ बुधबार ०९:५३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बलात्कारको हदम्याद गुजार्न विवाह,  ६ महिनामै सम्बन्धविच्छेद

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २९ बुधबार ०९:५३:००

गत ७ वैशाखमा रामेछाप जिल्ला अदालत परिसरमै एक युवती अकस्मात् ढलिन् । उनले बान्ता पनि गरेकी थिइन् । उनको झोला प्रहरीले चेक गर्दा कीटनाशक औषधिको बट्टा भेटियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उक्त दिन दिउँसो ३ बजे मन्थली नगरपालिका– १ की २८ वर्षीया विनु यादवले आत्महत्या प्रयास गरेकी थिइन् । कारण थियो– सम्बन्धविच्छेदको फैसला । २५ वर्षीय श्रीमान्को मागबमोजिम जिल्ला अदालतबाट फैसला आउँदा उनले विष सेवन गरेकी थिइन् । 

प्रहरीले अदालत परिसरबाट उठाएर उनलाई जिल्ला अस्पताल पठायो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरीको रेकर्डले देखाउँछ । उनका पूर्वश्रीमान् एम्बुलेन्समा सँगै नगएपछि दुई प्रहरी जवानको जिम्मा लगाएर काठमाडौं पठाइएको र अस्पतालमा भर्ना गरी मध्यरातमा विनुका दाइ विमलको जिम्मा लगाई प्रहरी फर्किएका थिए । 

किन उनले विष सेवन गरिन् त ? यो घटना बुझ्न साढे तीन वर्षअघि फर्किनुपर्छ । महाराजगन्जस्थित टिचिङ अस्पतालको इमर्जेन्सीमा एउटा ‘केस’ आयो । युवतीको बच्चा पाठेघरमा नभई बायाँतर्फको ‘फेलोपियन ट्युब’मा बसेपछि उक्त नली फुट्दा पेटमा रगत फैलिएको थियो । त्यसपछि २४ वर्षीया ती युवतीको शल्यक्रिया गरियो । 

अस्पतालको रिपोर्टअनुसार ‘ट्युबल एभर्सन’सिर्जित स्वास्थ्य समस्याको उपचार गर्न २० चैत ०७५ मा विनु यादव टिचिङमा भर्ना भइन् । लगत्तै उनको शल्यक्रिया गरियो । त्यसको दुई दिनपछि २२ चैतमा उनका श्रीमान् प्रदीप कठायतले उनलाई डिस्चार्ज गरेर लगे । श्रीमान्सँगको सम्बन्धबारे सोलुखुम्बुकी विनुले भनिन्, ‘खासमा त्यसवेला हाम्रो विवाह भएको थिएन । हामी एक वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा थियौँ । त्यसवेला सहमतिमै शारीरिक सम्बन्ध हुन्थ्यो । त्यही वेला बच्चा बसेछ । उसले एभर्सन गराऊँ भन्यो । तर, उसको अरूतिर पनि सम्बन्धहरू थाहा पाएपछि मैले मानिनँ र विवाहका लागि कर गरेँ । उसले मानिरहेको थिएन । त्यहीबीचमा नलीमा बच्चा बसेकाले फुटेर शल्यक्रिया गरिएको हो ।’ अविवाहित नै भएका वेला बच्चा बसेपछि विनुलाई घर–परिवारमा भन्न पनि गाह्रो भयो । तर, शल्यक्रियाबारे प्रदीपलाई जानकारी गराएर कर गरेपछि उनले अस्पतालबाट आफूलाई लगेका थिए । त्यसपछि दुई स्थानका होटेलमा आफूमाथि बलात्कार गरेको विनुको आरोप छ । 

‘मेरो अप्रेसन गरेको चौथो दिन २४ चैतमा मेरो इच्छाविपरीत प्रदीपले बलात्कार ग¥यो । जसबाट मेरो दुईवटा टाँका पनि खुस्कियो,’ उनले भनिन्, ‘फलोअपका लागि अस्पताल जाँदा फेरि जोडिएको हो । त्यो ममाथि भएको बलात्कार थियो ।’ 

बलात्कारको उजुरी लिएर प्रहरीकहाँ, तर धम्कीपछि फिर्ता

प्रदीपसँग कुनै सम्पर्क नभएपछि विनु बलात्कारको उजुरी लिएर कालिमाटी प्रहरी पुगिन् । यो ०७६ जेठमा हो । ‘घटनाबारे जानकारी लगाएर बलात्कारको उजुरी दिन खोज्दा प्रहरीले एक–दुई दिन पर्खिन भन्यो,’ विनुले भनिन्, ‘होटेलको बिलसहित जाँदा मुचुल्का उठाउन र घटनाबारे थप बुझ्न प्रहरी मसँग गएन । प्रहरीले प्रसूतिगृहमा स्वास्थ्य परीक्षणका लागि लगे पनि के रिपोर्ट आयो मलाई जानकारी दिएन ।’ 

उक्त घटना हुँदा कालिमाटीमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार यादव प्रहरीसामु आउँदा निकै कमजोर थिइन् । ‘फिजिकल्ली त राम्रो स्थितिमा थिइनन् । तर, उजुरी होइन, ठाडो निवेदन दिएकी थिइन् । उजुरी भए त फिर्ता लिनै मिल्दैन,’ ती अधिकारीले भने, ‘पछि दुवै पक्ष मिलेर आएछन् । केटाले बिहे गर्ने, घर लाने कुरो भएछ । बिहे पनि गरेको रे । तर, मलाई केटाले रियलमा माया गर्दैन भन्ने कुरोचाहिँ मसँग गरेकी थिइन् ।’ यादवलाई पनि उक्त मिलापत्रको कुरा पढ्न दिएर सहमति जनाएपछि प्रदीपको जिम्मामा पठाइएको ती अधिकारीले बताए । 

तत्कालीन इन्स्पेक्टर (हाल डिएसपी) सुरज कार्की प्रदीपका मामा पर्छन् । उनले घरैमा आएर धम्की दिएको विनुको भनाइ छ । यो विषयबारे उच्च प्रहरी अधिकारीहरूलाई फेसबुक र मौखिक जानकारी गराए पनि कसैले खासै चासो नलिएको उनको गुनासो छ । ‘एकजना मधेसी मूलकै मान्छे, सायद त्यो पनि प्रहरी होला । उसलाई लिएर मेरो कपनको कोठामै आएर बन्दुक निकालेर धम्की दिएको हो । मेरो ममीलाई तेरो छोरा फलानो कलेज पढ्ने होइन ? भोलि बेलुका घर नआउन पनि सक्छ भनेको थियो । मलाई पनि ज्यानको धम्की दियो,’ उनले भनिन्, ‘भोलिपल्टै ममी र मलाई लिएर कालिमाटीमा सहमति गराएको हो । मलाई इच्छा थिएन । तर, भाइहरूलाई ज्यानको धम्की दियो । बिहे गर्ने आश्वासन पनि दियो ।’

यस्ता छन् सम्बन्धविच्छेदका आधार
जिल्ला अदालत रामेछापमा प्रदीपले श्रीमती आफूखुसी माइत गएर बसेको र अंगभंग गर्ने धम्की दिने गरेको साथै वैवाहिक बलात्कारको मुद्दा लगाउने चेतावनी दिने गरेको भन्दै ७ असोज ०७७ मा मुद्दा दायर गरेका थिए । प्रतिउत्तरमा विनुले आफूले कुनै पनि हालतमा वैवाहिक सम्बन्ध टुटाउन नसक्ने बताएकी छिन् । प्रदीपले अर्को विवाह गर्न आफूलाई सम्बन्धविच्छेद दिएको भन्दै उनले मुद्दा चल्दाका लागि मानाचामल मुद्दा पनि हालिन् । 

प्रदीपले मुलुकी देवानी संहिता, ०७४ को दफा ९४(ग) अर्थात् श्रीमतीले आफूलाई मानसिक कष्ट पु¥याएको दाबी गरेका थिए । जसमा न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले यसै वर्ष ७ वैशाखमा ठहरको आदेश सुनायो । विनुले प्रदीपलाई विवादका क्रममा पठाएका मेसेजहरूबाट मानसिक आघात पुगेको इजलासको ठहर छ । ‘...म्यासेजका प्रतिलिपिहरूबाट समेत प्रतिवादीले यी वादीलाई फिरादपत्रमा उल्लेखित र उल्लेख नभएकासमेत धेरै थरीका म्यासेज लेखी पठाएको भन्ने देखियो,’ आदेशमा छ । 

प्रायः पुरुष वादी भएका सम्बन्धविच्छेद मुद्दामा निकै कम ठहर हुन्छ । तर, यस मुद्दामा सुरु अदालतबाटै ठहरको फैसला भयो । दुवैबीच सम्बन्ध सुमधुर नभएको र विनुले पनि ती मेसेजहरू आफूले पठाएको स्वीकार गरेको कुरालाई आधार मानिएको छ । आदेशमा छ, ‘...वादी प्रदीप कठायतले प्रतिवादी पत्नीले मानसिक कष्ट पुर्‍याउने गरी लिखित रूपमा विभिन्न म्यासेज पटक–पटक लेखी पठाएको भन्ने दाबी गरेको, उक्त म्यासेज आफूले लेखी पठाएको कुरालाई प्रतिवादीले प्रतिउत्तर फिराउँदा स्विकारै गरेको र उक्त मिसिलमा संलग्न म्यासेजहरू हेर्दा वादीलाई मानसिक कष्ट पुगेन होला भनी भन्न र मान्न मिल्ने अवस्थासमेत देखिएन ।’

यसबारे बुझ्न खोज्दा प्रदीपले यो विषय व्यक्तिगत भएको प्रतिक्रिया दिए । ‘यो मेरो पर्सनल कुरा हो । जे छ अदालतको फैसलामै छ । त्यहीँ हेरे भइहाल्यो नि,’ उनले जवाफ दिए । 

विनु भने प्रदीपका कारण आफ्नो जिन्दगी नै समाप्त भएको बताउँछिन् । ‘शिक्षा विषयमा स्नातकोत्तर गरेकी छु, अहेवको तालिम पनि लिएकी छु । तर, मेरो पासपोर्टदेखि शिक्षण लाइसेन्स पनि प्रदीपसँग छ,’ उनले भनिन् । तर, विनुको लाइसेन्सका विषयमा आफूलाई जानकारी नै नभएको प्रदीपले बताए । 

अहिले आफू हरेक पक्षमा अशक्त भएकाले पनि प्रदीपसँग नै बस्नुको विकल्प नदेखेको विनु बताउँछिन् । ‘मलाई थाहा छ, हाम्रो वैवाहिक जीवन सुखी हुन्न । सँगै बसेर पनि राम्रो सम्बन्ध हुन्न । तर, शरीर रोगी छ । कामकाज गर्न मलाई त्यति सजिलो हुँदैन । बच्चा पाउन पनि गाह्रो हुन्छ । अब मैले अर्को बिहे गर्न पनि सक्दिनँ, काम वा पेसा गर्न पनि गाह्रो हुन्छ,’ उनले भनिन् ।