मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २८ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीशहरूको मनबाट डर हट्नुपर्‍यो : वरिष्ठतम् न्यायाधीश कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २८ मंगलबार १०:०६:००

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको मनबाट डर हटेमा मात्र स्वतन्त्र रूपले न्याय निरुपण गर्न सक्ने बताएका छन् । सोमबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले कोही न्यायाधीशप्रति आग्रह,–पूर्वाग्रह नराखी समाचार सम्प्रेषण गर्नुपर्ने बताए । 

‘कुनै मुद्दामा हेर्नुस्, ३९ पटक, २१ पटकसम्म आदेश भएका छन् । किन ? डरले,’ उनले भने, ‘न्यायाधीशको मनबाट डर हट्नुपर्‍यो । मिडियामा आएको कुरा हेरेर न्यायाधीशले फैसला गर्ने हो कि मिसिल हेरेर गर्ने हो ?’ उनले न्यायपालिकाको रचनात्मक आलोचना भने सदैव स्वागतयोग्य हुने बताए । 

साथै मुद्दा हार्नेबित्तिकै न्यायाधीशविरुद्ध उजुरी दिने प्रवृत्तिले न्यायाधीशहरूको छविमा असर गरेको उनको भनाइ थियो । न्यायाधीश कार्कीले भने, ‘हार्ने पक्षले न्यायाधीशलाई एउटा बिल्ला लाइदिहाल्छ । अब ऊ जुनसुकै कुनामा जाओस्, जहाँ सरुवा भए पनि उसलाई काम गर्न असजिलो हुन्छ । त्यसैले निष्कर्ष नआएसम्म छानबिनकै वेला न्यायाधीशलाई दोषी नबनाऊँ ।’ 

साथै आफ्नै नेतृत्वको समितिले बनाएको न्यायपालिकाको विकृति, विसंगति न्यूनीकरणसम्बन्धी प्रतिवेदन कार्यान्वयनको चरणमा गइसकेको भन्दै उनले यसमा सबै पक्षको सहयोग आवश्यक भएको बताए । गोलाप्रथाबाट पेसी व्यवस्थापन भइसकेको र अटोमेसनमा जाने तयारी रहेको उनको भनाइ थियो । साथै, फैसला टिपोट प्रणाली, अभियान फाँटजस्ता विषय मुद्दा व्यवस्थापनसम्बन्धी कार्ययोजनामा समेटिएको न्यायाधीश कार्कीले बताए ।

उनले भने, ‘हामी तदारुकताका साथ अघि बढ्छौँ । जस्तो शुक्रबार ५ बजेसम्म इजलास बस्ने कुरा छ । हामी न्यायाधीश त भोलुन्टरिली बसौँला । तर, इजलास अधिकृतसहितका कर्मचारीका विषय सरकारले सोच्नुपर्छ ।’