मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २८ मंगलबार ०७:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अल्पमत र बहुमतको चंगुलमा दमक नगरपालिका : एमालेको विरोधपछि नगरसभा स्थगित, बजेट पास हुन सकेन

Read Time : > 1 मिनेट
२०७९ असार २८ मंगलबार ०७:१६:००

झापाको दमक नगरपालिकामा अल्पमत र बहुमतको चंगुलले आर्थिक वर्ष ०७९/८० को बजेट पारित हुन सकेको छैन । १० असारमा नगरसभामा पेस भएको बजेट अझै पारित हुन नसकेको हो । सोमबार बजेट पारित गर्न बोलाइएको नगरपालिकाको ११औँ नगरसभा एमालेले अवरोध गरेपछि स्थगित भएको हो । दमकमा एमालेको दुईतिहाइ बहुमत छ । तर, नगर प्रमुख राप्रपाका राम थापा र उपप्रमुख कांग्रेसकी रेगिना भट्टराई छन् । 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार १० असारमा नगरसभामा पेस भएको बजेट १५ दिनभित्र छलफल सकेर कार्यपालिकामा पठाउनुपर्ने व्यवस्था छ । कार्यपालिकाले नगरसभाको सुझावलाई समेट्नुपर्ने र असार अन्तिमसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । नगर प्रमुख रामकुमार थापाले सोमबार आर्थिक वर्ष ०७९/८० को बजेट पास गर्न नगरसभाको कार्यसूची राखेका थिए । यद्यपि, एमालेको विरोधका कारण स्थगित भएको नगरसभा २९ असारमा बोलाइएको छ । 

सोमबारको बैठकमा एमालेका नगरसभा सदस्यले बोल्न पर्याप्त समय नदिएको, केही एजेन्डा कार्यपालिका सदस्यलाई पनि थाहै नदिई नगरसभामा ल्याइएको भन्दै अवरोध गरेका थिए । एमालेका नगरसभा सदस्यले आफूहरूले नगरसभामा दिएको सुझाव बजेटमा लेखिनुपर्ने सुनिश्चितता खोजेका थिए । यद्यपि, नगर प्रमुख थापाले सुझाव समेट्ने प्रतिबद्धता जनाए । ‘बजेटमाथि राखेको सुझाव लिखित रूपमा नै आउनुपर्ने नगरसभा सदस्यको धारणा हो । नगरसभा सदस्यले राखेको बजेटमाथिको संशोधन प्रस्ताव पनि छलफलमै आएन,’ एमालेबाट निर्वाचित दमक–३ का वडाध्यक्ष नवीन भरालले भने, ‘कतिपय एजेन्डा कार्यपालिकालाई नै थाहा नदिई ल्याइयो । यही प्रक्रियामा हाम्रो आपत्ति हो ।’

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एमालेले दुईतिहाइको दम्भ देखाएर नगर प्रमुख र उपप्रमुखलाई काम गर्न नदिएको आरोप लगाइन् । ‘हामीले ऐन र कानुनमै टेकेर बजेट ल्याएका हौँ । उहाँहरू बजेट पास गर्न नदिने भनेर अगाडि नै तयारीमा आउनुभएको थियो । हामी नगरसभामा जानुभन्दा पहिला नै एमालेले बजेट पारित गर्न नदिने रे भन्ने हल्ला थियो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘हामीसँग बहुमत छ भनेर मेयर, उपमेयरलाई काम गर्न असहज बनाऊँ भन्ने खालको उहाँहरूको उद्देश्य भएको भान भएको छ ।’ 

एमालेबाट निर्वाचित नगरसभा सदस्यले सुरुदेखि नै बैठक सञ्चालन आचारसंहिता उल्लंघन गरेको उनको आरोप छ । उपप्रमुख भट्टराईले एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग विभिन्न समिति र कार्यपालिका बैठकमा समेत पटक–पटक छलफल गरेको बताइन् ।