मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार २०:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सनातन धर्म संस्कृति सम्मेलनको निष्कर्ष : छुवाछूत र अन्धविश्वास धर्म परिवर्तनको कारण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार २०:५६:००

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघद्वारा आइतबार र सोमबार आयोजित ‘राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन’ले छुवाछूतले धर्म संस्कृतिको आडमा संरक्षण पाएका कारण धर्म परिवर्तन बढेको निष्कर्ष निकालेको छ । धार्मिक संघसंस्था र धार्मिक व्यक्तित्वले छुवाछूत र अन्धविश्वासविरुद्ध कदम चाल्नुपर्ने पनि सम्मेलनले जोड दिएको छ । 

‘सामाजिक सांस्कृतिक विभेद, छुवाछूत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाइरहेको छ । यही कारण  धर्मपरिवर्तन बढेको छ,’ सम्मेलनपछि जारी १० बुँदे संकल्प-पत्रमा भनिएको छ, ‘ यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ । खासगरी धार्मिक संघसंस्था एवं धार्मिक व्यक्तित्वहरूले यस कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सम्मेलनको धारणा रहेको छ ।’ 

सम्मेलनको संकल्प-पत्रमा ‘सर्वधर्म समभाव’ र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि प्रतिबद्धता जनाइएको छ । ‘सम्मेलनले सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने गरी संगठित र योजनाबद्ध रूपमा भैरहेको धर्मान्तरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ,’ संकल्प-पत्रमा भनिएको छ, ‘नेपालको वर्तमान संविधानले परम्परादेखि चलिआएको धर्म संस्कृति र परम्पराको रक्षा गर्नु सरकारको दायित्व हुने व्यवस्था गरेको हुँदा यसरी व्यापक रूपमा धर्मपरिवर्तन किन भैरहेको छ ? तथा यसको निराकरणका निम्ति के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गरी सुझाबसहितको प्रतिवेदन पेस गर्न अविलम्ब एक समिति गठन गरियोस् भन्ने यो सम्मेलन माग गर्दछ ।’ 

सम्मेलनले गौरक्षाको निम्ति प्रत्येक पालिकामा कम्तीमा एउटा गौशाला निर्माण गर्न देशका सम्पूर्ण पालिकाहरूलाई आग्रह गरेको छ। सबै धर्मका समुदायबीच सद्भावपूर्ण वातावरण बनाउनुपर्नेमा  सम्मेलनले जोड दिएको छ । सम्मेलनले देशको मौलिक चरित्रलाई नष्ट पार्न धर्मपरिवर्तन गराउने कार्य नगर्न आह्वान गरेको छ ।  संकल्प-पत्रमा सनातन धर्म संस्कृति र परम्परामाथि भैरहेको अतिक्रमण रोक्न तथा सनातन धर्मको संरक्षण र सम्बर्द्धनको निम्ति हिन्दू, बौद्ध र किराँत धर्ममा आस्था राख्ने सबै सनातनी परिवारमा कार्यगत एकता हुनुपर्नेमा जोड दिइएको महासंघका अध्यक्ष सुजन अधिकारीले बताए । 

सम्मेलनले नैतिक शिक्षा र सनातन धर्म संस्कृतिबारे जानकारी दिलाउन विद्यालयहरूको पाठ्यक्रममा तत्सम्बन्धी विषय समावेश गर्न तथा माध्यमिक तहसम्म संस्कृत विषय अनिवार्य गर्न सरकारसँग माग गरेको छ । बिहीबार सुरु भएको सम्मेलनलाई भारतबाट आएका स्वामी अमृतानन्द गिरी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संस्कृतिविद्  डा. जगमान गुरुङ, डा. सोमप्रसाद खतिवडा, डा . निर्मला पोखरेल, बिनु पोखरेल र मोहन लामालगायतले सम्बोधन गरेका थिए ।