मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २७ सोमबार ०६:५९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

धामीले भनेको भरमा मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई हात बाँधेर गाउँ डुलाइयो

घटनास्थल पुगेर पीडितहरूलाई उद्धार गरे पनि प्रहरीले सीताशरण दाससहितका पीडकलाई कारबाही नगरी छाड्यो

Read Time : > 2 मिनेट
२०७९ असार २७ सोमबार ०६:५९:००

धामीले भनेको भरमा महोत्तरीको औरही नगरपालिका–६ वैरियामा मोटरसाइकल चोरेको आरोप लगाउँदै एकाघरका आमाछोरालाई हात बाँधेर गाउँ डुलाइएको छ । उनीहरूसँगै बुहारीलाई बन्धक बनाएर कुटपिट गरिएको छ । गत साता स्थानीय सीताशरण दासको मोटरसाइकल गाउँबाटै चोरी भयो । उनीसहितको समूहले चोरीको आरोपमा स्थानीय राजेन्द्र मल्लिककी श्रीमती अनिता देवी, साइँली बुहारी निर्मला देवी र कान्छो छोरा सुशील मल्लिकलाई दाससहितका एक समूहले शुक्रबार तीन घन्टासम्म बन्धक बनाएर कुटपिट गर्दै बेइज्जत गरेका हुन् । 

पीडित अनिता देवीले आफूहरूले मोटरसाइकल नचोरेको बताइन् । उनले कुनै प्रमाण नरहे पनि कुनै धामीले भनेकै भरमा आफूहरूलाई गाउँमै सार्वजनिक बेइज्जत हुने गरी दाससहितका एक हुल मानिस आएर कुटपिट गर्दै हात बाँधेर गाउँ डुलाउँदै दासकै घरको बरन्डामा लगेर बन्धक बनाएर राखेको गुनासो गरिन् । आफूहरू निर्दोष रहेको र छाडिदिन हारगुहार माग्दा गाउँलेले समेत साथ र सहयोग नगरेको अनिताले दुखेसो पोखिन् । आफूहरूमाथि किन यस्तो अत्याचार गरियो भनेर प्रश्न गर्दा दासले ‘धामीलाई देखाउँदा मोटरसाइकल तिमीहरूकै परिवारले चोरेको छ’ भनेर जवाफ दिएको उनले बताइन् । 

‘हामी मोटरसाइकल चोर थियौँ भने हामीलाई प्रहरीमा बुझाउनुपर्ने थियो । प्रहरीले नै अनुसन्धान गरेर दोषी भए÷नभएको पत्ता लगाउने थियो । तर, सयौँ मानिसका अगाडि चोर प्रमाणित गर्न खोजेर हाम्रो मानमर्दन गर्दै हामीलाई अपहरण शैलीमै हातसमेत बाँधेर कुटपिट गर्दै बन्धक बनाएर राखियो,’ उनले भनिन् । अनिता देवीले आफूहरू दलितमै पनि अति विपन्न परिवार भएको र दिनभरि कमाएर राति छाक टार्ने गरेकोमा कुनै पावर तथा पहुँच नभएकाले बलिया र पहुँच भएकाले अत्याचार गरेको बताइन् । घरबाहिर रहेका अनिताका श्रीमान् राजेन्द्रले दुव्र्यवहारको खबर पाएलगत्तै रामगोपालपुर चौकी पुगेर सहयोग मागेपछि प्रहरी टोलीले उनीहरूलाई रेस्क्यु गरेको थियो । रामगोपालपुर चौकीका इन्चार्ज वरिष्ठ सबइन्स्पेक्टर आदित्य सिंहले स्थानीय मिडियामा भिडियोसहित आएपछि मात्र आफूहरूले घटनाको प्रकृतिबारे जानकारी पाएको बताए । सुरुमा पीडित पक्षले दुव्र्यवहार र कुटपिट भएको नभनेकाले सामान्य घटना भनेर लिए पनि पछि मात्र यो गम्भीर प्रकृतिको घटना भएको पाइएको बताए । उनले अहिलेसम्म पीडित पक्षले कुनै उजुरी नदिएको उल्लेख गरे ।

पीडित अनिताले कुटपिटबाट आफ्नो औँलामा चोट लागेको, छोरा र बुहारीको शरीरभरि नीलडाम रहेको बताइन् । दिनभरिको कुटाइले थला परेपछि राति गौशालास्थित अस्पताल गएर उपचार गराएको उनको भनाइ छ । पीडितलाई भेट्न शनिबार ओरेक महोत्तरीका कार्यक्रम अधिकृत लीला दियाली र समाजसेवी सबिता यादवसहितका विभिन्न अधिकारकर्मी उनीहरूको घर पुगेका थिए । अधिकारकर्मीहरूले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । गाउँमै सार्वजनिक रूपमा चोर दोष लगाउँदै छिमेकीमाथि कुटपिट र दुव्र्यवहार हुँदासमेत प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको उनीहरूको भनाइ छ । पीडित पक्षले दाससहित घटनामा संलग्नहरूविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । आइतबार मानवअधिकार आयोग मधेश प्रदेशको टोलीले पीडित र प्रहरीकहाँ पुगेर घटनाबारे जानकारी लिएको थियो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले स्थानीय सञ्चारमाध्यममार्फत घटनाको गम्भीरताबारे जानकारी पाएको बताउँदै घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए । यसमा केही कुरा बुझ्नुपर्ने भएकाले प्रहरीले घटनाबारे अनुसन्धान थालेको र पीडित पक्षसँग समेत सम्पर्क गरिरहेको बताए । दोषी जोकोही भए पनि उसले कुनै हालतमा उन्मुक्ति नपाउने पंगेनीले बताए । 

के थियो घटना ?
गत साता औरही नगरपालिका–६ वैरियाका सीताशरण दासको मोटरसाइकल घरबाटै चोरी भएपछि उनले प्रहरीमा निवेदन दिए । उजुरी परेपछि प्रहरीले मोटरसाइकल खोजी गर्न थाल्यो । तर, शुक्रबार अचानक दास एक हुल मानिस लिएर राजेन्द्र मल्लिकको घरमा आइपुगे । घरमा कोही नदेखेपछि खोज्न थाले । घरभन्दा करिब ५० मिटरअगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रकी श्रीमती अनिता देवी, साइँली बुहारी निर्मला देवी र कान्छो छोरा सुशील मल्लिकलाई देखे । दाससँगै गएका मानिसहरूले उनीहरूमाथि हमला गरे । बुहारी निर्मलालाई कुटपिट गरेर छेउ लगाए र सुशील तथा उनकी आमालाई कुटपिट गर्दै, घिसार्दै र डोरीले हात बाँधेर सीताशरणको घरमा ल्याएर बन्धक बनाएर राखे ।

प्रत्यक्षदर्शीका अनुसार दास आफ्नो चोरी भएको मोटरसाइकल कहाँ राखेको छ भन्दै बन्धक बनाइएका आमाछोरासँग केरकार गर्दै थिए । पीडित पक्ष भने आफूहरूलाई थाहा नभएको भन्दै स्थानीयलाई बचाइदिन हारगुहार गरिरहेका थिए । तर, कोही पनि उनीहरूलाई छुटाउन अघि सरेनन् । धेरै समयपछि मात्र प्रहरीले आरोपी र पीडित पक्ष दुवैलाई प्रहरी चौकी लगेको थियो । तर, प्रहरीले कुनै कारबाही नै नगरी छाड्यो ।