मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २६ आइतबार ०८:१७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जुम्लामा रग्बीको प्रशिक्षण

Read Time : < 1 मिनेट
२०७९ असार २६ आइतबार ०८:१७:००

जुम्लामा पहिलोपटक रग्बी खेलको प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा २०५२ (सन् १९९५) सालमै नेपाल रग्बी संघ दर्ता भए पनि झन्डै तीस वर्षपछि मात्रै जुम्लामा प्रशिक्षण थालिएको हो । 

संघ दर्ता भएर सुरुवाती समयमा केही गतिविधि गरे पनि पछि निष्क्रिय बन्यो, जसले गर्दा संघले दर्ता भएको दशकौँसम्म खासै आकार लिन सकेको देखिँदैन । यद्यपि, २०६८ सालमा रग्बी संघको पुनर्गठनपछि यसले गति लिन थालेको छ । यही क्रममा जुम्लामा पनि रग्बी संघ गठन भएको जिल्ला अध्यक्ष भानु देवकोटाले बताए । 

खेलकुदमार्फत महिला सशक्तीकरण
अझै पनि दुर्गम भेगमा महिलाले फुटबल, भलिबल, बक्सिङ, कराते, रग्बीजस्ता खेल खेल्नु हुँदैन भन्ने सोच छ । यही परम्परागत सोचलाई हटाउन र महिला सशक्तीकरणका लागि जुम्लामा अभियान चलाइएको हो । 

महिलाको शारीरिक बनावटले खेल्न असहज हुन्छ भन्ने साँघुरो सोचाइ चिर्दै खेलकुदमार्फत महिला सशक्तीकरण गर्न थालिएको हो । खेलकुदमा लाग्दा बाँझोपन हुने, शरीर कच्चा बन्नेजस्ता गलत मानसिकता हटाउनुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । जुम्ला पातारासी गाउँपालिकाकी धावक सुनमाया बुढा समाजको भ्रम चिर्दै दौडिएरै विश्वमा नेपाललाई चिनाउन सफल भएकी छिन् । अहिले उनी आम महिलाकी प्रेरणाकी स्रोत बनेकी छिन् । 

खेलकुदका माध्यमबाट जुम्लाका महिलाको सशक्तीकरणमा जोड दिन राष्ट्रपति खेलकुद महिला सहभागिता क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । जसमा जुम्लाभरका ५० महिला सहभागी छन् । क्षमता तथा नेतृत्व विकासका साथै महिलाप्रति समाजको भ्रम चिर्न खेलकुदमार्फत महिला सशक्तीकरणमा जोड दिइएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महत बताउँछन् ।