'भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण समयमै सक्छाैं'

२०७५ चैत ५ मंगलबार १७:१३:००

पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समय भित्र भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंगलबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यका भित्रका सम्पदाहरुको पुनर्निर्माणको काम २८ प्रतिशत सम्पन्न भएको र आगामी २ वर्ष भित्र ती सबै सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न गर्ने योजना पनि अघि सारे । 

काठमाडौं उपत्यका भित्र ७ सय ५३ वटा सम्पदाहरु भूकम्पले भत्काएका थिए । ती मध्ये २ सय २० वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गरिएको विभागले जनाएको छ । चालू आर्थिक वर्ष भित्र थप २ सय ५ वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने र बाँकि सम्पदाहरुको पुनर्निर्माणको काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको पनि विभागका निमित्त महानिर्देशक गौतमले बताए ।

निमित्त महानिर्देशक गौतमले सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको ऐतिहासिक, पूरातात्विक तथा मौलिक पहिचान मेटाउन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । बैठकमा समितिका सदस्यहरुले सम्पदाहरुको पहिचान मेटाउन खालको कुनै पनि गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका थिए ।