मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ असार २४ शुक्रबार ०८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल-भारत सीमामा चाँदीदेखि लागुऔषधसम्म तस्करी

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असार २४ शुक्रबार ०८:४०:००

- १ कात्तिक ०७७ को राति कैलालीको धनगढी उपमहानगर– १० मा केराउ तस्करको समूह र प्रहरीबीच भएको झडपमा असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदले ज्यान गुमाए । खुकुरी, चुप्पी र भालासहितका हतियारले प्रहरीमाथि आक्रमण गरिएको थियो । 

- प्रहरीले १८ असार ०७६ को अपराह्न विराटनगरको रोडशेष चोकमा भारतीय नम्बर प्लेट बिआर ११ एके १७९१ नम्बरको कारबाट करिब ६० किलो चाँदी बरामद गर्‍यो । भारत जोगबनी– १६ का २४ वर्षीय गौरवकुमार साहले कारको सिटमुनि प्लास्टिक र कार्टुनमा पोको पारेर चाँदी लुकाएका थिए । 

- केही वर्षअघि झापाको दक्षिणी गाउँ केचना हुँदै भारत तस्करी हुँदै गरेको ४० बोरा सुपारी प्रहरीले बरामद गर्‍यो । तस्करहरू उल्टै आक्रमणमा उत्रिएपछि त्यतिवेला प्रहरीले १३ राउन्ड गोली चलाउनुपरेको थियो । 

- १५ वैशाख ०७७ को राति भारततर्फ तस्करी हुँदै गरेको ५० क्विन्टल छोकडा प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट बरामद गर्‍यो । प्रहरीका अनुसार ना.५ख ९८५९ नम्बरको ट्रकबाट लैजाँदै गरिएको छोकडा ३७ लाख ५० हजारबराबरको थियो । 

नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीका यी केही प्रतिनिधि घटना मात्रै हुन् । खुला सीमाको फाइदा उठाउँदै साना–ठूला तस्करी प्रायः दैनिक भइरहेका हुन्छन् । नेपालको कानुनले उत्पादन गर्ने मुलुकबाट आयात गरिएका सामग्री तेस्रो मुलुकमा निर्यात गर्न रोक लगाएको छ । तर, केराउदेखि छोकडा र मरिचसम्म भारत तस्करी हुने गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले खुला सीमाको फाइदा उठाउँदै मरिच, चाँदी, केराउ, छोकडा, सुपारी, पप्पी सिडलगायतका सामग्री भारत तस्करी हुने गरेको बताए । ‘नेपाल–भारत सीमा खुला छ । त्यसको फाइदा उठाउँदै वेलामौकामा विभिन्न सामग्री तस्कर हुने गरेका छन् । विशेषगरी मरिच, चाँदी, केराउ, छोकडा, सुपारीलगायतका सामग्री तस्करी हुने गरेका छन् । तस्करसँग भएका झडपमा सुरक्षाकर्मीले ज्यानसमेत गुमाएको तितो अनुभव हामीसँग छन्,’ उनले भने । 

भारतबाट नेपालतर्फ तस्करी हुन्छ लागुऔषध
कारागार व्यवस्थापन विभागको गत फागुनसम्मको तथ्यांकअनुसार देशभरका ७४ कारागार र आठ बाल सुधारगृहमा २५ हजार तीन सय ५१ कैदीबन्दी छन् । जसमध्ये लागुऔषध मुद्दासँग सम्बन्धित कैन्दीबन्दीको संख्या पाँच हजार तीन सय २४ अर्थात् २१ प्रतिशत छ । लागुऔषधको दुर्व्यसनीमा फसेका अधिकांश युवा औषधिजन्य लागुऔषध (फर्मास्युटिकल ड्रग)का सिकार छन्, जुन शतप्रतिशत भारतबाट नेपालतर्फ तस्करी हुँदै आएको प्रहरी प्रवक्ता डिआइजी राईको भनाइ छ । 

डिआइजी राईले भने, ‘हामीकहाँ लागुऔषध दुर्व्यसनीको संख्या बढ्दै छ । जसमध्ये अधिकांश औषधिजन्य लागुऔषधको सिकार भएका छन्, जुन भारतबाट नेपालतर्फ तस्करी हुने गर्छ । नेपाल प्रहरीले वेलामौकामा यस्ता लागुऔषध बरामद गरेको छ ।’

गृह मन्त्रालयका अनुसार देशभर अहिले लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार चार सय २४ छ । जसमा महिलाको संख्या आठ हजार तीन सय ७२ रहेको छ । दुर्व्यसनीमध्ये अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका छन् । यो दर प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले बढेको गृहको तथ्यांकले देखाउँछ ।