१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार २२ बुधबार ०८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई सातादेखि थुप्रिएको बेँसीसहरको फोहोर उठाउन थालियो

Read Time : < 1 मिनेट
२०७९ असार २२ बुधबार ०८:४४:००

निरन्तरको वर्षासँगै पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीसहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठाउन थालिएको छ ।बेँसीसहर नगरपालिकाको ल्यान्डफिल्ड साइट जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीसहर बजार क्षेत्रको फोहोर उठ्न सकेको थिएन ।

बेँसीसहरको व्यस्त बजार क्षेत्रमा दुई सातासम्म फोहोर थुप्रिँदा बजार र सडक क्षेत्र समेत दुर्गन्धित बनेका थिए। अवरुद्ध सडक खुलेसँगै सोमबारबाट बजारमा थुप्रिएको फोहोर उठाउन थालिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । 

‘बेँसीसहर– ८ स्थित कर्पुरेश्वर मन्दिरको उत्तरपट्टि रहेको ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गरिँदै आएको थियो, वर्षाले मलामीचौरनजिकै ठूलो पहिरो गएकाले उक्त ल्यान्डफिल्ड साइटसम्म जाने बाटो नभएकाले फोहोर उठ्न सकेको थिएन,’ उनले भने । 

सोमबार दमौलीबाट डोजर ल्याएर बाटो मर्मत गरेपछि फोहोर उठाउन सुरु गरिएको नगरप्रमुख अर्यालको भनाइ छ ।

यसअघि ०६८ असारमा पनि झन्डै एक महिना फोहोर उठ्न सकेको थिएन । त्यसवेला गौँथलीडाँडामा फोहोर व्यवस्थापन गरिन्थ्यो । त्यहाँका स्थानीयवासीले अवरोध गरेका कारण एक महिनासम्म फोहोर उठेको थिएन ।

पछि हालको ल्यान्डफिल्ड साइट तयार गरेर मात्रै फोहोर व्यवस्थापन गर्न सकेको लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापाले बताए । ‘बेँसीसहर बजार विशाल बन्दै गएको छ, जसले फोहोर पनि धेरै उत्पादन हुन्छ, अहिलेबाटै तत्कालीन ठाउँको पनि विकल्प तयार राखिराख्नुपर्छ,’ उनले भने ।