मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार २२ बुधबार ०७:०७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली राजनीतिको लक्ष्यहीन यात्रा

आसन्न निर्वाचन देउवा कि ओली भन्ने विकल्पबीचको छिनाझप्टी मात्र बन्ने हो भने त्योभन्दा निराशाजनक स्थिति अरू केही हुन सक्दैन

Read Time : > 4 मिनेट
२०७९ असार २२ बुधबार ०७:०७:००

आम निर्वाचनको मिति घोषणा हुने दिन जति–जति नजिक आउँदै छ राजनीतिक दलहरूमा त्यति–त्यति छटपटी बढ्दै छ । नबढोस् पनि किन ? आखिर यही निर्वाचनले कसैलाई हस्तिनापुरको राज दिन्छ भने कसैलाई चपरीमुनीको बास । सत्तासुखको साधन बनेको पाँचदलीय गठबन्धन टुट्छ कि भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको त्रास र टुटाउन पाए भाग सोहोर्न पाइन्थ्यो कि भन्ने प्रमुख प्रतिपक्षी नेता केपी ओलीको आस । यी दुईमाझ सम्मानजनक तेस्रो बनेर ‘किङ मेकर’ हुन सकिन्छ कि नाइँ भन्ने प्रचण्डको अत्यास !  के यिनै नेताहरूको यस्तै राजनीतिक घिड्घिडो व्यहोर्नुपर्ने हो त नेपाली जनताले अझै पनि ?

पात्रहरूका कोणबाट हेर्दा यस निर्वाचनमा प्रधानमन्त्रीका प्रमुख दाबेदार दुईजना देखिन्छन् । ती हुन्– सत्तारुढ प्रधानमन्त्री शेरबहादुर देउवा, जो आफ्नो पदको निरन्तरता चाहन्छन् र सत्ताच्यूत प्रधानमन्त्री केपी शर्मा ओली जो गुमेको पद पुनः प्राप्त गर्न हुरुक्कै छन् । यदि आसन्न निर्वाचन यिनै दुई विकल्पमाझको छिनाझप्टी मात्र बन्ने हो भने त्योभन्दा निराशाजनक स्थिति अरू केही हुन सक्दैन । म यो कुनै पूर्वाग्रह वा पूर्वधारणाका आधारमा भनिरहेको छैन । यिनकै विगतका कार्यसम्पादनका आधारमा भनिरहेछु ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सबैभन्दा ठूलो उपलब्धि भनेकै उनको पाँचौँपटकसम्म प्रधानमन्त्री हुने कीर्तिमान हो । यसबाहेक उनले नेपालको राजनीतिमा सम्झनलायक के काम गरेका छन् ? हो, पछिल्लोपटकको उनको सत्तारोहण संविधानलाई ‘डिरेल’ हुनबाट बचाउने कोणबाट भने राम्रै मान्न सकिएला । तर, यसपटक पनि सरकार चलाउनुबाहेक उनले गर्नैपर्ने पनि कतिपय काम गरेनन् । जस्तो कि नागरिकता ऐन जारी नभएर लाखौँ युवाको भविष्य अन्धकारमा धकेलिएको छ, तर उनमा त्यसलाई पार लगाउने पित्को पनि हुटहुटी छैन । स्थायी सरकार भनिने कर्मचारीतन्त्रका लागि नभई नहुने संघीय निजामती सेवा ऐन वर्षौंदेखि संसद्मा झुलेको झुल्यै छ, तर त्यसलाई टुंग्याउनेतर्फ एक डेग पनि सारेका छैनन् । पूर्वप्रधानमन्त्री ओलीले शक्ति एकत्रित गर्ने नाममा सरकारका कतिपय निकायलाई आफूमातहत ल्याएका थिए, तर तिनलाई पुनः पुरानै ठाउँमा पुर्‍याउन मन गरेका छैनन् ।

प्रदेशलाई सबल बनाउन आवश्यक पर्ने कतिपय व्यवस्था, जस्तो कि प्रदेश प्रहरीको व्यवस्थातर्फ कुनै ध्यान दिएका छैनन् । अरू त अरू, एसपिपीमा नबस्ने भनी आफ्नै क्याबिनेटले गरेको निर्णयका विषयमा अमेरिकासँग पत्राचार गर्न पनि उनी धकाएका छन् । कहीँ यसले उनको अमेरिका भ्रमणको औचित्य नै जोखिममा पर्ला भनेर हो कि ? विगत कोट्याएर हेर्दा उनको सबैभन्दा ठूलो गुण भनेकै आफ्ना स्वार्थका लागि जति तल झरेर पनि सम्झौता गर्ने खुबी हो । उनले जम्मा एकपल्ट सम्झौता गरेनन्, जसको भारीका रूपमा नेपाली जनताले तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगामी शासन व्यहोर्नुपर्‍यो । त्यसवेला उनले आफ्नै पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेका भए सायद इतिहासको प्रवाह अन्तै मोडिन्थ्यो कि ! यहाँ म जानाजान ‘सायद’ र ‘कि’ भन्दै छु किनकि तत्कालीन राजाको जुन ‘माइन्डसेट’ थियो, उनले त्यसवेला आफ्ना लागि त्यही बाटो हिँड्न अरू नै कुनै उपाय खोज्थे नै होलान् ।

हो, प्रधानमन्त्री देउवाको सबैभन्दा सम्झौताकारी गुणकै कारण प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको कांग्रेस पार्टीका सभापति भएर पनि उनी पाँच–पाँचवटा पार्टीबीच समन्वय गरेर वर्ष दिनदेखि मजाले सरकार चलाइरहेछन् । तर, सरकार चलाउन सक्नुलाई मात्र कतिन्जेल उपलब्धि मानेर बस्न सकिन्छ ? शासकमा नभई नहुने गुण भनेकै ‘कार्यकारीपन’ हो । इतिहासमा तिनै शासकले आफ्नो पदचिह्न छोडेका छन् जसले पाएको अवसरलाई आफ्नो कार्यकारीपनले सदुपयोग गर्न सकेका छन् र आफ्नो ‘भिजन’ कार्यान्वयन गर्न सकेका छन् । प्रधानमन्त्री देउवामा त्यही कार्यकारीपन र ‘भिजन’को नितान्त अभाव देखिन्छ । के उनी छैटौँपटक प्रधानमन्त्री फगत यसकारण बन्न खोज्दै छन् कि नेपालमा ६–६ पटकसम्म को प्रधानमन्त्री भएको थियो ? भनी लोकसेवा आयोगले आफ्नो सामान्य ज्ञानको प्रश्नपत्रमा उनको नाम सामेल गरोस् ?

प्रधानमन्त्री कहलाउनका लागि मात्र प्रधानमन्त्री बन्नुको के तुक ? मलाई सम्झना आउँछ, जब भारतमा जनता पार्टीको शासनकालमा चौधरीचरण सिंह संयोगले प्रधानमन्त्री भए र उनले आफ्नो एउटा भाषणमा भने– मेरो जीवनको अभिलाषा पूर्ण भयो । ओहो ! त्यसवेला यस कथनलाई लिएर उनको कम्ती आलोचना भएन । के उनको जीवनको अभिलाषा प्रधानमन्त्री बन्नु मात्र थियो ? प्रधानमन्त्री पद त आफ्नो राजनीतिक सोचलाई कार्यान्वयन गर्ने वा दिशा दिने साधन पो हो त, यदि त्यही साधन नै साध्य बन्ने हो भने हामी कस्ता नेताबाट शासित रहेछौँ ? र हामी कता जाँदै रहेछौँ ? प्रधानमन्त्री देउवाको आजको अवस्था पनि उनको ज्योतिषीको भविष्यवाणी पूरा गर्नुबाहेक अन्त गएको देखिँदैन । 

वर्तमान नेपाली राजनीति पाँचदलीय गठबन्धन टुट्छ कि भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको त्रास र टुटाउन पाए भाग सोहोर्न पाइन्थ्यो कि भन्ने प्रमुख प्रतिपक्षी नेता केपी ओलीको आसबीच रुमल्लिरहेको छ

अब प्रधानमन्त्रीका अर्का दाबेदार श्रीमान् केपी ओलीलाई हेरौँ । उनी नेपाली उखान टुक्कामा राम्रै दख्खल राख्ने र बोल्दा भिडबाट तररर ताली पिटाउन माहिर नेता हुन् । वाक्पटुतामा उनका जोडी नेता नेपालमै छैनन् । तर, कुराले चिउरा भिज्दो रहेनछ । भिज्दो हो त यतिवेला पिटिक्क स्विच थिच्दा घरघरका भान्सामा चुलो बलिसकेका हुने थिए । पानीजहाजको ‘टिकस’ काटेर नेपालबाटै यतिखेर हामी बंगालको खाडी पार गरेर हिन्द महासागरको सयरमा निस्किसकेका हुने थियौँ । 

हो, एउटा समय थियो, जब उनले भारतीय नाकाबन्दीविरुद्ध अडान लिएर नेपालीको शिर गर्वोन्नत बनाएका थिए । नाकाबन्दीको तोडका रूपमा चीनसँग  पारवहन सम्झौता गरेका थिए । त्यसकै ‘रोयल्टी’ स्वरूप उनलाई २०७४ को आमनिर्वाचनमा प्रधानमन्त्रीको आसन प्राप्त भएको थियो । तर, त्यसपछि भयो के ? चीनसँगको त्यही सम्झौता उनले कार्यान्वयन गर्ने चासै दिएनन् । मान्छेहरू उनलाई नेपालका सबैभन्दा चतुर नेता भन्छन् । तर, उनको शासनकालले यो कुराको पुष्टि गर्दैन । यदि उनी साँच्चैका चतुर नेता हुन्थे भने दुईतिहाइ बहुमतनजिकको आफ्नै पार्टीको स्थिति अनि संसद्मा कांग्रेसबाहेक सबै दलको समर्थन प्राप्त सरकार चलाउन पाउनुभन्दा काम देखाउनका लागि अरू कुन ठूलो अवसर चाहिन्थ्यो र ?

तर भयो के ? लोककथाको घमन्डी भ्यागुतोको जस्तो भुँडी फुटेर सब छारपस्ट भयो । एकातिर ढंग हुनेले फरक–फरक विचार भएका पाँच दललाई मिलाएर सरकार चलाइरहेछन् भने अर्कातिर त्यत्रो ठूलो पार्टीको एकमना सरकारका प्रधानमन्त्री सत्ताच्यूत भएर मलाई आफ्नै पार्टीका नेताहरूले काम गर्न दिएनन् भनेर बिलौना गर्दै हिँडेका छन् । अब उनलाई चतुर नेता भन्नु कि हुस्सु ?

प्रश्न उठ्छ, के नेपाली जनताको पुर्पुरोमा यिनै दुई पड्किसकेका कारतुसमध्ये एकलाई छान्नुपर्ने लेखिएको छ ? पुर्पुरोको कुरा उठ्नासाथ म बिपी कोइरालालाई सम्झन्छु । आफ्नो सरकारले बिर्ता उन्मूलनको युगान्तकारी कदम चाल्दा त्यसको विरोध गर्नेहरूलाई जवाफ दिँदै उनले इतिहासको एउटा घटना सुनाएका थिए । राणाशासनविरुद्ध संघर्षका दौरान पक्राउ परेर सिंहदरबार पुर्‍याइएका वेला तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले उनलाई भनेका थिए रे, तिमीले हाम्रो गद्दी ताकेका छौ, हेर यो गद्दीमा बस्न त पुर्परोमा लेखेर ल्याउनुपर्छ । इतिहास कति कठोर हुँदो रहेछ, पुर्पुरोमा विश्वास गर्ने पतनको गर्तमा पुगे र कर्ममा विश्वास गर्ने प्रधानमन्त्री बने । 

पुर्पुरोमा परिस्थितिले लेखेको यो कुरा बदलिन्छ कि नाइँ । त्यो आगामी दिनले निर्धारण गर्छ । हेरौँ, कांग्रेसभित्र चल्मलाइरहेको असन्तोषको आगो कता मोडिन्छ । महाधिवेशनपछि कांग्रेसभित्र उदाएका चालीस प्रतिशतका नेता डा. शेखर कोइराला र तिनको समूहको युक्तिले कुन स्वरूप लिन्छ ? त्यो फगत आगामी निर्वाचनमा सिट प्राप्तिसम्म मात्र सीमित हुन्छ कि सरकारको नेतृत्वसम्मै पनि पुग्छ ? जहाँसम्म एमालेभित्रका युवा नेताको कुरा छ, तिनबाट अहिले नै आस गर्ने ठाउँ छैन । ती त ‘बा सिन्ड्रोम’मुनि यतिबिघ्न दबिएका छन् कि यही निर्वाचनमा ती बौरिने सम्भावना छैन ।

रह्यो, समाजवादी केन्द्र बनाउन लम्केकाहरूको मुहिमको कुरा । तिनले साँच्चै त्यस्तो केन्द्र बनाउन सके र आमनिर्वाचनको परिणाममा हस्तक्षेपयोग्य तेस्रो स्थान प्राप्त गर्न सके भने केही होला कि ! तर, ती पनि मच्चियो मच्चियो थच्चियो हुने हुन् कि, के ठेगान ?तर, राजनीतिलाई सम्भावनाको खेल भन्छन् । यसको यात्रा सधैँ बाङ्गोटिङ्गो हुन्छ । हेरौँ, आगामी दिनमा पनि नेपाली राजनीति अहिलेकै लक्ष्यहीन यात्रामा हिँड्छ वा यसले कुनै कोल्टे फेर्छ ?