मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौंको बालुवाटारस्थित समृद्धि मार्गमा रहेको कोठामा आचार्य परिवार । तस्बिर : नयाँ पत्रिका
२०७९ असार २० सोमबार ०७:१३:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

सडकमा दुर्व्यवहार खेपेका आचार्यदम्पतीमाथि महानगर प्रहरीको थप ज्यादती : बेइज्जत गरेको भन्दै कारबाही गर्न प्रहरीमा उजुरी

घुस मागेको भनेर महानगर प्रहरीको चरित्र हत्या गरेको भन्दै उल्टै आचार्यदम्पतीलाई कारबाही गर्न महाराजगञ्ज प्रहरीमा निवेदन

Read Time : > 3 मिनेट
२०७९ असार २० सोमबार ०७:१३:००

काठमाडौं महानगरपालिकाले ठेलामा मकै बेचेर गुजारा गरिरहेका चेतेन्द्र आचार्य दम्पतीलाई अपराधीझैँ व्यवहार गरेको छ । घुस मागेको भनेर महानगर प्रहरीको चरित्रहत्या गरेको तथा सार्वजनिक स्थलमा बेइज्जत गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न महानगर प्रहरीले उल्टै प्रहरीमा उजुरी दिएको छ ।महानगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीलाई कारबाहीको माग गर्दै अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीसमक्ष उजुरी दिएका हुन् । ‘उहाँहरूले अगुल्टाले हानेको हो भनेर गल्ती स्वीकार गरिसक्नुभएको छ,’ उनले भने, ‘नगर प्रहरीले घुस मागेको आरोप पनि लगाउनुभएको छ । बर्दीमा खटिएको प्रहरीको बदनाम भयो । त्यसैले उहाँहरूलाई कारबाही हुन्छ ।’

ठेला व्यवसायी आचार्यले भने सडकमा ठेलामा राखेर मकै बेचेर आफूले कुनै अपराधन नगरेको बताए । ‘हामीमाथि महानगरको पुलिसले कारबाही गर्ने भनेको छ रे,’ आचार्यले भने, ‘हामीले अपराध गरेका होइनौँ, बाध्यताले सडकमा व्यवसाय गरेका हौँ ।’ उनले आफ्नो अन्य पेसा व्यवसाय गर्ने आधार नै नभएकाले सडकमै व्यवसाय थालेको सुनाए । सडक किनार र चोकहरूमा सानोतिनो व्यवसाय गर्नुलाई अपराध मानिँदैन । तर, प्रधानमन्त्रीनिवास बालुवाटारनजिकै गत शुक्रबार सडकमा मकै पोल्न बसेका आचार्य दम्पतीलाई महानगर प्रहरीले गरेको व्यवहारको सर्वत्र आलोचना भइरहेको छ । मकैको ठेला उठाएर लगेको भिडियोले सामाजिक सञ्जालसमेत तताएको छ । नगर प्रहरीले ज्यादती गरेको भन्दै धेरैले विरोध जनाएका छन् । तर पनि नगर प्रहरी पछि हटेको छैन । उल्टै मकै पोल्न बसेका आचार्य दम्पतीलाई कारबाही गर्न नगर प्रहरी तम्सिएको छ । 

 १४ वर्षदेखि ठेलामा मकै बेच्दै
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, बगुवाका चेतेन्द्र आचार्यको चारजनाको परिवारको पेट पाल्ने आधार नै ठेला व्यवसाय हो । १४ वर्षदेखि आचार्यले ठेलामा मकै, तरकारी र फलफूल बेचेर परिवारको गुजारा चलाउँदै आएका छन् । काठमाडौंको बालुवाटारदेखि कान्ति बाल अस्पताल महाराजगन्जआसपाससम्म उनले दैनिक ठेला गुडाउँछन् । र, मकै, तरकारीलगायत सामान बेच्छन् । त्यही कमाइबाट परिवारको गुजारा चलाउँछन् । आचार्यका दुई छोरा छन् ।

बोर्डिङमा खर्च धान्न धौधौ भएपछि दुवैलाई सरकारी स्कुलमा भर्ना गरिदिएका छन् । ठेला व्यवसायमा आचार्यलाई उनकी श्रीमती सीता आचार्यको साथ छ । बूढाबूढी मिलेर ठेला गुडाउँछन् । सडक किनारमा आगो बालेर हरिया मकैै पोल्न बस्छन् । गत शुक्रबार पनि खाना खाइसकेपछि छोरालाई स्कुल पठाएर बिहान ११ बजेतिर आचार्य दम्पती मकै बेच्न बालुवाटारको मुख्य सडक चोकतिर निस्किए । सो दिन उनीहरू बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको उत्तरपट्टि सडक चोकमा मकै बेच्न बसेका थिए ।

कहिलेकाहीँ आएर हप्काएर जाने काठमाडौं महानगरको नगर प्रहरी शुक्रबार पनि आइपुग्यो । तर, त्यस दिन नगर प्रहरीको एक हुल नै त्यहाँ पुगेको थियो । प्रहरी टोलीले आचार्य दम्पतीको गरिखाने आधार नै खोसिदियो । सडक किनारमा राखेको ठेला उठाइदियो । हरिया मकैले भरिएको ठेला खोस्यो र भ्यानमा राख्यो । त्यसपछि धम्की दिँदै महानगरको प्रहरी टोली फर्कियो । प्रहरीले ठेला खोसेपछि आचार्य दम्पती सडकमै रोइकराइ गरे । तर, महानगरको निर्दयी प्रहरीले उनीहरूको करिब ३५ हजारबराबरको मकै र तरकारीको ठेला जबर्जस्ती खोस्यो । 

महानगर प्रहरीले पाँचपटक खोस्यो ठेला, तर अझै फिर्ता गरेन
आचार्य दम्पतीको गरिखाने आधार ठेला नगर प्रहरीले खोसेको यो पहिलो घटना भने होइन । यसअघि महानगर प्रहरीले पाँचपटकसम्म उनको ठेला जफत गरिसकेको छ । उक्त ठेलामा रहेको करिब साढे दुई लाखबराबरको मकै, फलफूल र तरकारी खोसेको आचार्य बताउँछन् । ती सामान प्रहरीले अझै फिर्ता दिएको छैन । ठेलागाडासहित पटक–पटक सामान जफत हुँदा पनि आचार्य दम्पतीले सडकको व्यवसाय छाड्न सकेनन् । किनकि, उनीहरूको पेट पाल्ने अन्य आधार नै छैन ।

अन्य विकल्प नभएपछि आचार्य दम्पतीले प्रहरीले उठिवास लगाउँदा पनि त्यही व्यवसाय गर्दै आएका छन् । त्यसो त सडकमा दिनभरि मकै पोलेर दुई भाइ छोरा पाल्ने र कोठाभाडा तिर्नेबाहेक अन्य उपाय अपनाउन सकेका छैनन्, उनीहरूले । बजारभाउ महँगिएको र व्यवसायबाट सोचेजस्तो फाइदा नभएपछि मकै, फलफूल र तरकारी व्यवसाय परिवारको पेट पाल्ने आधार मात्रै बनेको आचार्यको भनाइ छ ।

यसबाहेक उनीहरूको अन्य आर्थिक आम्दानीको स्रोत पनि छैन । ‘मेरो जिउने आधार अरू केही छैन, छोराहरू सानै छन्, बसेर खान सम्पत्ति छैन, मेरो परिवारको बाँच्ने आधार भनेकै यही ठेला व्यवसाय हो,’ उनले भने, ‘यही पनि गरिखान नदिने भए ।’ उनले आफूले व्यवसाय गर्दैमा सडक फोहोर नहुने बताउँदै आफूजस्ता विपन्नको छाक यस्तै व्यवसायले टरेको सुनाउँछन् । आचार्यको परिवार पछिल्लो सात वर्षयता बालुवाटारको समृद्धि मार्ग भन्ने टोलमा बस्छ । उनीहरूले त्यहाँ दुईवटा कोठा भाडामा लिएका छन् । कोठाको मासिक १० हजार भाडा तिर्छन् । महिनामा जेनतेन २०–२५ हजार रुपैयाँ आम्दानी हुने गरेको र त्यसले भाडा तिर्न तथा गुजारा टार्न मात्रै पुगेको आचार्य बताउँछन् । ‘गाउँमा गएर बसौँ भने गरिखाने ठाउँ छैन, यहाँ सडकबाट पनि लखेटिनुपर्ने अवस्था भयो,’ उनले पीडा सुनाए, ‘तर, म ठेला व्यवसाय छाड्दिनँ ।’ उनले लामो समयदेखि आफूले यही व्यवसाय गरेको र अब पनि यही व्यवसाय नै गर्ने बताए । 

रहरले सडकमाठेला राखेका होइनौँ
चेतेन्द्र आचार्य,ठेला व्यापारी
अरूले गर्न हुने मैले गर्न नहुने भन्दाभन्दै नगर प्रहरी हामीमाथि झम्टियो । यसअघि पनि पाँचपटक हाम्रो ठेला खोसिदिएको थियो । त्यो सामान फिर्ता दिएको छैन । हामी सडकमा रहरले ठेला राखेर बसेको पनि होइनौँ । अरू विकल्प नभेटिएपछि ठेलागाडी गुडाउनुपरेको हो । यो हाम्रो बाध्यता नै हो । छोराहरू सानै छन् । गाउँमा गएर गरिखान सक्ने जग्गाजमिन छैन । काठमाडौंमा अरू काम खोजेको हुँ, तर नभेटिएपछि १४ वर्षदेखि यो काम गर्दै आइरहेको छु । तर, सडकमा अरू कसैलाई अवरोध नगरी पेट पाल्ने आधार खोज्दा पनि प्रहरीले हैरानी पार्छ । हिजोआज त प्रहरीले धेरै सताउन थालेको छ । पटक–पटक पैसा माग्न प्रहरी आएको थियो । तर, मैले अहिलेसम्म उनीहरूलाई पैसा दिएको छैन । त्यही झोँकमा प्रहरीले हामीलाई यस्तो व्यवहार गरेको हो । कम्तीमा आफूले गर्न सक्ने काम गर्न पाए परिवारको खर्च चल्थ्यो भनेको त्यही पनि नसकिने अवस्था आयो । 

ठेलामा मकै बेच्ने दम्पतीमाथि कारबाही हुन्छ
 धनपति सापकोटा, प्रमुख, काठमाडौं महानगर नगर प्रहरी

सडक मकै बेच्नका लागि बनेको होइन । उनीहरूका कारणले ओहोरदोहोर गर्नेले दुःख पाइरहेकाछन् । दुईजनालाई सडकबाट उठाउँदा हामीलाई धेरैले गाली गरिरहेका छन् । शुक्रबार नगर प्रहरीमाथि अभद्र व्यवहार गरेपछि र पटक–पटकको आग्रहलाई अटेर गरेपछि दम्पतीलाई हामीले कारबाही गरेका हौँ । उनीहरूमाथि बाँकी कारबाही अझै हुन सक्छ ।