मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ५ मंगलबार ०९:५३:००
Read Time : > 3 मिनेट
सेयर बजार

०.६४ प्रतिशत घट्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ५ मंगलबार ०९:५३:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६४ प्रतिशत घटेर बन्द भएको छ । कारोबारमा आएका ८ समूहको परिसूचक ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो । यस दिन कारोबारको अधिकांश समय नेप्से सकारात्मक रहे पनि अन्तिम समयमा भने नेप्से ओरालो लागेको हो । पछिल्ला कारोबार दिनहरूमा बजार बढेका कारण यस दिन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको एक ब्रोकरले बताए । सोही कारण यस दिन बजारमा करेक्सन भएको उनको भनाइ छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

बजार सारांश 
सोमबार नेप्से परिसूचक ७ दशमलव ४७ अंक घटेर १ हजार १ सय ५३ दशमलव ९८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ६२ अंक घटेर २ सय ४५ दशमलव ५४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६३ अंक घटेको छ । यस दिन १ सय ६९ कम्पनीको ४ हजार ८ सय १९ पटकको कारोबारमा ३६ करोड ७ लाख ९ हजार ७ सय ८० रुपैयाँबराबरको १३ लाख ९३ हजार ५ सय ५८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ५८ दशमलव ३६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडि रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु यस दिन १ हजार १ सय ५७ दशमलव ४२ रहेको छ । मंगलबार नेप्से ओरालो लागे १ हजार १ सय ५० दशमलव १५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने सो बिन्दुभन्दा तल ओर्लिए १ हजार १ सय ४६ दशमलव ३३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, सोमबारका लागि पहिलो प्रतिरोध बिन्दु १ हजार १ सय ६१ दशमलव २४ रहेको छ भने दोस्रो प्रतिरोध बिन्दु १ हजार १ सय ६८ दशमलव ५१ रहेको छ । 

सर्वाधिक कारोबार हुनेमा ग्लोबलको संस्थापक सेयर
यस दिन कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन ६ करोड ३९ लाख १० हजार रुपैयाँबराबरको ३ लाख ५९ हजार ६ सय ३६ कित्ता सेयर खरिद–बिक्री भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको यस दिन १ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ सय ७४ पटक सेयर खरिद–बिक्री भएको छ । 

९ प्रतिशत बढ्यो युनाइटेडको सेयर मूल्य
पछिल्ला ३ कारोबार दिनदेखि १० प्रतिशत बढेर सर्किट ब्रेक लागिरहेको युनाइटेड फाइनान्सको सेयर मूल्य यस दिन ८ दशमलव ७२ प्रतिशत बढेको छ । मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य यस दिन ७ दशमलव १४ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयर मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य ५ दशमलव १६ प्रतिशत घटेको छ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य यस दिन ४ दशमलव ८ प्रतिशत घटेको छ । 

८ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ८ समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । यस दिन वित्त समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३८ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव २७ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक यस दिन १ दशमलव २१ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव १ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४२ प्रतिशत, होटेल समूहको शून्य दशमलव ४१ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । 

हाथवेको साधारणसभा
हाथवे फाइनान्स कम्पनी लिमिटेडले चैत २६ गते होटेल द रत्न इन, धरानमा बाइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । 
सभामा १ बराबर १ दशमलव ८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय रद्द गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीको एक्काइसौँ वार्षिक साधारणसभाले सो अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

 तिनाउ र मिसन मर्ज हुँदै
तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा मर्ज हुने भएको छ । मर्जका लागि यी कम्पनीहरूले चैत ३ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । मर्जरपश्चात् तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट कारोबार गरिनेछ । मर्जर प्रयोजनका लागि कम्पनीहरूको सेयर स्वाप रेसियो १ बराबर १ तोकिएको छ ।

युनियनको आइपिओ
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिएको सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत १७ गते हुनेछ भने ढिलोमा ०७६ वैशाख १२ गते हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ७ लाख ५० हजार कित्तामध्ये आवेदन नपरेको ६ लाख २१ हजार ७ सय ९० कित्तासहित सो सेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्राएनपी आइपिओ ग्रेड फाइभ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख २५ हजार ९ सय १५ दशमलव शून्य २ रहेको छ भने कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७ सय ४५ दशमलव शून्य ६ रहेको छ । कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २९ वर्ष बाँकी रहेको छ । कम्पनीको सामान्य लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि २३ दशमलव २३ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।