१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
२०७५ चैत ५ मंगलबार ०६:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

फास्ट ट्रयाक प्रभावितले पाएनन् मुआब्जा

जायजेथा छाड्न सेनाको उर्दी खाली हात गाउँ छाड्न तयार छैनन् स्थानीय

Read Time : > 1 मिनेट
२०७५ चैत ५ मंगलबार ०६:०७:००

काठमाडौं–तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी–८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन् । मुआब्जा नपाएका स्थानीयले बस्ती नछाड्दा सो क्षेत्रमा पहिल्यै खोलिएको सर्भिस ट्र्याकबाहेक अन्य काम अघि बढेको छैन । 

घरबारीको मुआब्जा नपाएका पीडित परिवार पटक–पटक बस्ती छाड्न सेनाले दिने उर्दीले झन् पीडित बनेको गुनासो गर्छन् । ‘पो’र मकै छर्ने वेलामा सेना आएर नछर्नू भने । तर, मैले मानिनँ । त्यही माटोको उब्जनीले वर्षभरि परिवारको पेट पालियो,’ रिपेकी ७३ वर्षीया क्षारामाया स्याङ्तानले वह पोखिन्, ‘अहिले फेरि मकै नछर्नू भनेको छ । न जग्गाको पैसा दिएर अन्त जाने बाटो खोलिदिन्छ, न आफ्नै जमिन खोस्रिन दिन्छ ? हामी गरिब कसो गर्ने ?’ १० परिवारमा अलि धेरै जग्गा भएको पनि क्षारामायाकै हो । रिपेमा पाँच रोपनी तीन आना, मालागाउँमा ६ रोपनी र इपामा दुई रोपनी खेतबारी छ । 

भूकम्पले भत्काएर घरविहीन बनेका रिपेकै पूर्णबहादुर घिसिङले गत वर्ष मात्रै घर उभ्याए । सरकारी अनुदानमै घर बनाएका हुन् । तर, त्यही घर छाड्न सेनाले आदेश दिएको उनले बताए । जब कि मुआब्जा हात परेको छैन । 

मालगाउँकी केसरीमाया घिसिङ पनि यसपालि मकै छर्ने कि नछर्ने दोधारमा छिन् । उनलाई पनि सेनाकै आदेशले अप्ठ्यारो पारेको हो । ‘मालगाउँमा हामी पाँच घर परिवार छौँ । सबैको गरी करिब २० रोपनी जग्गा छ । जहिल्यै छाडेर जान भनेको छ । जायजेथा छाडेर रित्तै कता जानु ?’ उनले भनिन् । 

फास्ट ट्र्याकको ट्र्याक रिपे र मालगाउँको बीच भएर खनिँदै छ । माथि रहेको रिपे र तलको मालगाउँको बीचबाट २५ मिटर चौडा सडक खन्दा दुवै गाउँ विस्थापित हुन्छन् । यो खण्डमा ठेक्का पाएको दिवा निर्माण सेवाका सुपरभाइजर सुवास अधिकारीले स्थानीयले बस्ती नछाडेकाले ट्र्याक खन्ने काम रोकिएको बताए । 

७३ वर्षीया क्षारामायाको गुनासो बाउबाजेको छाला छाडेर रित्तै कहाँ जाऊँ ?
मुआब्जाबापतको रकम दिने त भनेको थियो, तर अहिलेसम्म आएको छैन । सेना पटक–पटक आएर आजै जाऊ, भोलि नै जाऊ भन्छ । बाउबाजेको छाला छाडेर, हात–मुख मात्रै लिएर बुढेसकालमा अब रित्तै कहाँ जाऊँ ?

पूर्णबहाजुर घिसिङ भन्छन्– पोहोर मात्रै घर ठड्याएँ, छाडेर रित्तै जान सकिन्छ र ?
सडक खन्दै डोजर घरनजिक आउन थालिसक्यो । तत्काल छाड्नू भनेर पटक–पटक भनिसके । तर, मुआब्जा पाएको छैन । सम्पत्तिको नाममा यही घर र थोरै जग्गा हो, खाली हात कहाँ जानू ? 

मान्छेले बस्ती छाडेका छैनन्, हामीले जबर्जस्ती डोजर लगाउने कुरै भएन
सुवास अधिकारी
सुपरभाइजर, दिवा निर्माण सेवा

रिपे र मालगाउँको बीचबाट ट्र्याक खोल्नुपर्छ । २५ मिटर चौडा सडक खन्दा दुवै गाउँ प्रभावित हुन्छन् । तर, मान्छेले बस्ती छाडेका छैनन्, हामीले डोजर लगाउने कुरै भएन । यहाँ फास्ट ट्र्याकको काम नै रोकिएको छ ।