मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १७ शुक्रबार १२:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका स्थानीय तहको बजेट चार अर्ब एक करोड ५९ लाख

Read Time : > 1 मिनेट
२०७९ असार १७ शुक्रबार १२:०९:००

आगामी आर्थिक वर्ष ०७९–८० का लागि लमजुङका स्थानीय तहले चार अर्ब एक करोड ५९ लाखबराबरको बजेट ल्याएका छन् । जिल्लाका आठवटा स्थानीय तहले चार अर्ब एक करोड ५९ लाख एक हजारकाे बजेट ल्याएका हुन् । 

असार १० भित्र नै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार जिल्लाका आठवटै  स्थानीय तहले कृषि, स्वास्थ्य, शिक्षा र सडकलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट ल्याएका छन् ।  

सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैयाँकाे बजेट ल्याएको नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । नगरपालिकाले चालूतर्फ ६५ दशमलव ६ प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ८८ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात् ३४ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेको हो । 

त्यसैगरी, जिल्लाको सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकाले आर्थिक वर्ष ०७९–८० का लागि ७५ करोड ५३ लाख तीन हजार रुपैयाँकाे बजेट ल्याएको छ । आन्तरिक स्राेत तथा स्थानीय राजस्वबाट आठ करोड ५६ लाख ८१ हजार,  संघीय र प्रदेश राजस्व बाँडफाँडबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश ससर्त, समपूरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख अनुमान गरिएको छ ।

मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ । चालू आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँबराबरको बजेट ल्याएको नगरपालिकाले आगामी वर्षका लागि पाँच करोड बढी बजेट ल्याएको हो । 

राइनास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५९ करोड ३९ लाख रुपैयाँ प्रस्तावित बजेट पेस गरेको छ । गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका ५४ करोड ३९ लाख ४५ हजार नौ सय ४२ रुपैयाँबराबरको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको सूचना अधिकारी धर्म गुरुङले बताए ।

यस्तै क्व्होंलासोँथर गाउँपालिकाले ३५ करोड १८ हजार रुपैयाँकाे बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमध्ये चालूतर्फ २५ करोड ८४ लाख १० हजार र पुँजीगततर्फ नाै करोड १६ लाख आठ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए ।

जिल्लाको दूधपोखरी गाउँपालिकाले ३६ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले बताए ।