मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १६ बिहीबार ११:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुको खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक 

Read Time : > 1 मिनेट
२०७९ असार १६ बिहीबार ११:४८:००

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसक्दा पनि मुगुको खत्याड गाउँपालिकामा रहेका ४० वटा विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि १ देखि कक्षा १० सम्मको पठनपाठनमा समस्या भएको छ। समयमै पाठ्यपुस्तक नपुग्दा नियमित पठनपाठनमा समस्या भएको छ भने विद्यार्थी अलमलमा परेका छन्।

खत्याड गाउँपालिका– ८ स्थित  सर्वोदय माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत विद्यार्थी मनीषा गिरीले पढाइ सुरु भए पनि किताब नहुँदा पढ्न असहज भएको बताइन्। ‘स्कुल त सञ्चालन भइसकेको छ, तर हामीसँग किताब छैन,’ उनले भनिन्, ‘कोर्स नमिले पनि पुराना किताब मागेर पढ्ने गरेको छौँ।’ उनले किताब आए पनि  लिन एक दिनभर पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताइन्।

कक्षा १० मा अध्ययनरत भुवन सञ्ज्यायालले पनि सोही समस्या उल्लेख गरे। उनले विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि आफूहरूलाई पढ्न अलमल भएको जानकारी दिए। कक्षा ८ मा अध्ययनरत अर्का विद्यार्थी शिशिर सञ्ज्यालको पनि एउटै गुनासो छ। समयमै पाठ्यपुस्तक नपुग्दा पढ्न नपाएको उनको गुनासो छ।

उक्त विद्यालयका प्रधानाध्यापक लोकेन्दबहादुर कार्कीका अनुसार समयमै पाठ्यपुस्तक नपुग्दा पढाउनसमेत समस्या हुने गरेको छ। पाठ्यपुस्तक माग गर्दै विद्यालयले सम्बन्धित निकायमा पत्रचारसमेत गरेको छ। तर, हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। ‘जेठ महिनादेखि शैक्षिक सत्र सुरु भएको हो, गाउँपालिका र ठेकेदारले एक–आपसमा दोष मात्रै देखाउने गरेका छन्,’ उनले भने, ‘विद्यालयमा तीन सय आठजना विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।’ उनका अनुसार नयाँ पाठ्यपुस्तक नभएपछि पुराना किताबअनुसार पढाउने गरिएको छ।

 
गाउँपालिका र पाठ्यपुस्तक ढुवानी गर्न ठेकेदारको लापरबाहीले खत्याड गाउँपालिकाले खरिद नगरेपछि ४० विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । खत्याड गाउँपालिकाका प्राविधिक सहायक लोकेन्द बुढाले पाठ्यपुस्तक अहिलेसम्म नपुगेको स्विकारे।

विद्यालयबाट तथ्यांकहरू ढिलो आएकोले खरिद गर्न ढिलाइ भएको बुढाको भनाइ छ। खत्याड गाउँपालिकाभित्रका ४० वटा विद्यालयमा कुनैमा पुस्तक पुगेकाे छैन । ढुवानी गर्न ठेकेदार सुर्खेत पुगेको उनले बताए।