मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १६ बिहीबार ०९:४६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रोपाइँका लागि पाइन छाडे खेताला

Read Time : > 2 मिनेट
२०७९ असार १६ बिहीबार ०९:४६:००

यस वर्षको मनसुन असार पहिलो सातादेखि नै भित्रियो । निरन्तर वर्षा भइरहेको छ । धान राप्ने वेला भइसक्यो, खेतमा पानी पर्याप्त  छ । समयमा नै धान नरोपे राम्रो नफल्ला कि भन्ने किसानलाई चिन्ता छ । तर, समयमा नै धान रोप्नका लागि गाउँमा खेताला पाउन मुस्किल छ ।

‘गाउँमा काम गर्ने कोही छैन, भएका युवा पनि विदेश गए । न खन्ने बाउसे पाइन्छ न खेताला, गोरुको सट्टा त हातेट्याक्टर छ, खेताला र बाउसे पाउनै छाड्यो,’ बाग्लुङ नगरपालिका– १४ की कृषक देवी शर्माले भनिन् ।  

१९औँ राष्ट्रिय धान दिवस मनाइरहँदा बाग्लुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त ढकालसँग कृषकको गुनासो नै खेताला पाइन छाडे भन्ने थियो ।  गाउँघरमा खेताला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्कल भएको उनी बताउँछन् ।

‘समयमै पानी परेकोले यस वर्ष रोपाइँ समयमा नै सुरु भयो,’ शर्माले भनिन्, ‘पहिले त गाउँभरि सबैको एकैपटक भएर होला भन्ने लाग्थ्यो । यसपालि असारको १५ मा नै  खेत रोपाइँ गर्न खोज्दा पनि खेताला पाउन मुस्किल भयो । बल्लतल्ल दुई दिन लाग्ने मेलो तीन दिनमा सकियो, अझै केही दिनलाई बाँकी छ । त्यो कसरी रोप्ने हो गाह्रो भइरहेको छ ।’

उनले कृषिमा आधुनिकीकरण गर्ने भने पनि हालसम्म त्यही हातेट्याक्टरबाहेक अन्य आधुनिक यन्त्रहरू केही नहुँदा किसानले समयमा खेतीपाती लगाउन नपाएको बताइन् ।  कृषिमा नै आत्मनिर्भर हुन नसक्दा विभिन्न कारण युवा विदेश पलायन हुने कारण पनि अहिले गाउँमा अर्मपर्म गर्ने पनि खेताला पाउन छाडेको कृषक मोहनलाल शर्मा बताउँछन् । 

अधिकांश विदेश पलायन
उच्च शिक्षा, रोजगारीलगायतका सिलसिलामा दैनिक हजारौँको संख्यामा युवा देश छाड्ने गर्दछन् । यहाँ भएका जनशक्ति विदेश पलायन हुँदा यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको छ । रोपाइँ सुरु भएसँगै हली, बाउसे पाउनै मुस्किल परेको शर्माको गुनासो रहेको छ ।  सिगानामा मात्र हाेइन यो समस्या जिल्लाको गलकोट, बडिगाड, जैमिनी, बाग्लुङ र ढोरपाटन क्षेत्रका किसानलाई पनि छ । 

गलकोट क्षेत्रमा जेठको तेस्रो सातादेखि नै सुरु गरिएको रोपाइँ अन्य क्षेत्रमा भने खोला किनार तथा तटीय क्षेत्रमा सुरु भएको छ ।  कृषक यतिवेला धान रोप्नमै व्यस्त छन् । समयमै पानी परेकाले धान रोप्न निकै सहज भएको किसान बताउँछन । ‘पहिलेका वर्षहरूमा भन्दा अहिले समयमै पानी पर्‍याे, यसकारण किसानलाई सहज भएको छ,’ बाग्लुङ नगरपालिका– १३ का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले भने ।

पौडेलका अनुसार पछिल्लो समयमा  धान, कोदो रोप्नका लागि  खेताला पाउन कठिन रहेको छ । युवाहरू विदेशतिर पलायन हुनु काम गर्ने खेताला पाउन मुस्किल रहेको उनले बताए । 

युवाहरूले विदेश नै रोज्नुभन्दा गाउँकै माटोमा परिश्रम गरे खेतबारी बाँझो पनि नरहने, गाउँमा खेतीपाती लगाउन पनि सजिलो हुने  बाग्लुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘पहिले गाउँमा सबै युवाहरू हुन्थे, बर्खा सुरु भएपछि सबै मेलामा जान्थे, अर्मपर्म हुन्थ्यो । सबै हुँदा पहिले एकता थियाे,’ श्रेष्ठले भने, ‘अहिले सबै युवाहरू विदेशमा छन् जसले गर्दा खेतीपाती लाउन अर्मपर्म चल्दैन, खेताला पाइँदैन । जसका कारण जमिन नै बाँझो राख्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।’ उनले बाग्लुङ कृषिमा उर्भर भूमि भएका कारण यहाँ हरेक  किसान आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

४० प्रतिशत रोपाइँ सकियो
‘कृषि ज्ञान केन्द्र बाग्लुङका अनुसार जिल्लामा झन्डै ४० प्रतिशत रोपाइँ सकिएको छ । बाग्लुङमा बर्खे र चैते गरी दुई किसिमका धान लगाउने गरिन्छ । बाग्लुङमा बर्खे धान पाँच हजार आठ सय ९० हेक्टर र १० हेक्टर जमिनमा चैते धान गरी पाँच हजार नाै सय हेक्टर जमिनमा धान लगाउने गरिन्छ । बाग्लुङमा वार्षिक एक लाख १८ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । बढ्दो बिदेसिने क्रम र सहरमा झर्ने क्रमका कारण गाउँमा जमिन बाझै हुने अवस्थामा पुगेका छन् । 

‘यस वर्ष वर्षा निरन्तर पर्ने लक्षण देखिएको छ  । सिमसार क्षेत्र मात्र हाेइन अन्य क्षेत्रमा पनि रोपाइँ हुनेमा हामी विश्वस्त छौँ,’  कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले भने, ‘यस वर्ष रोपाइँ उल्लेखनीय मात्रामा हुन विश्वास गरेका छौँ । पानि नियमित परेमा लगभग सबै क्षेत्रमा राम्रो रोपाइँ हुनेछ ।’  

किसानलाई सहजताका निम्ति प्रविधिको विकाससँगै जोडिन आग्रह गरेकाे उनले बताए । यस वर्ष झन्डै ९०–९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुने ज्ञान केन्द्रले जनाएको छ ।

धान दिवस मनाइयो

१९औँ राष्ट्रिय धान दिवस बाग्लुङमा पनि मनाइएको छ । अन्य वेला खेताला नपाउँदा बुधबार भने दिवस मनाउने कार्यक्रममा खेतभरि खेताला थिए । सहरमा बस्नेहरू बाध्यताले हाेइन रहरले धान रोप्न पुगेका थिए । कृषि ज्ञान केन्द्र बाग्लुङको आयोजना, जिल्ला कृषि सहकारी संघ लि.को सहकार्य र मिर्मिरे कृषि सहकारी संस्थाको समन्वयमा बानपा– ८ सिगानामा कृषकहरूसँग रमाउँदै कार्यक्रम सम्पन्न गरिएको छ ।

धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ बाग्लुङमा पनि राष्ट्रिय धान दिवस मनाइएको हो । दिवस मनाउन कृषक, पत्रकार र कर्मचारीको उपस्थिति रहेको थियो ।