१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १६ बिहीबार ०९:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मलको खोजीमा भौँतारिँदै दाङका किसान 

Read Time : > 1 मिनेट
२०७९ असार १६ बिहीबार ०९:०९:००

सिमसिम पानी परिहेको थियो । तर, किसानलाई पानीको पर्वाह थिएन । मल नपाएर तड्पिरहेका किसान छाता ओढेर लाइनमा थिए । यो दृश्य देखियो  तुलसीपुर– ८ स्थित नवदुर्गा सहकारी संस्थामा । 

त्यही बाटो हुँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का धान दिवस मनाउन गइरहेका थिए । मल नपाएर छटपटाइरहेको समयमा चिल्ला गाडीमा सरर रोपाइँमा मनाउन जाँदै गरेका मेयरलाई देखेर किसानले लज्जाबोध गरिरहेका थिए । मेयर तुलसीपुर उपमहानगरपालिका– १ देवीस्थानमा धान दिवसमा रमाइँरहदा किसान भने मलका लागि लाइनमा थिए । ‘असार १५ आइसक्यो, अझै रोपाइँ गर्ने सुरसार छैन, अहिलेसम्म हामी मलको लाइनमै छौँ,’ तुलसीपुर– ८ निवासी किसान कृष्णप्रसाद भण्डारीले भने, ‘अहिलेसम्म पनि स्थानीय सरकारले पनि पहल गर्न नसक्नु दुःखद हो ।’ 

सीमित मल आएको थियो । त्यसैले एक बोरा (५० केजी)लाई चारजनाले बाँड्नुपर्ने थियो । त्यहीअनुसार नागरिकता लिएर मलको लाइनमा थिए । तैपनि त्यसका लागि लामबद्ध रूपमा लाइन लाग्नुपर्ने अवस्था थियो । ‘बिहानै आएको, भित्र नागरिकता दिएको दुई घन्टा भइसक्यो,’ किसान रूपलाल घर्तीले भने, ‘तैपनि अहिलेसम्म मल पाउन सकिएको अवस्था छैन ।’ एउटाको भागमा साढे दुई केजी पर्ने र त्यसले चार कट्ठा जग्गामा मात्रै पुग्ने उनको भनाइ थियो । जग्गा धेरै हुनेहरूका लागि त्यति मलले नपुग्ने भएकाले पनि किसान समयमै रोपाइँ नहुने कुरामा चिन्तित बन्ने गर्छन् । 

यसरी किसानले पीडा सुनाइरहँदा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने किसानका खेतमा पुगेर रमाइरहेका थिए । किसानलाई त्यो आफूहरूलाई मजाक उडाइरहेको अनुभूति भएको थियो । जहाँ रोपाइँ गर्न गएको त्यहाँकै किसानले आफूहरूले मल नपाएर समस्यामा परेको बताएका थिए ।‘मेयरसावहरू आउनुभयो, एकातिर खुसी लागेको छ, तर अर्कोतिर हामीले मल पाएका छैनौँ, त्यसले साह्रै समस्या बनाइरहेको छ,’ किसान दीपक न्यौपानेले भने, ‘मल नपाउँदा आफूहरूले कृषिको मलभन्दा पनि बजारमा पाइने मलले काम चलाइरहेका छौँ ।’

बजारमा पाइने मललाई दुई हजार आठ सय रुपैयाँ तिरेर ल्याएको उनी बताउँछन् । उनका अनुसार कृषिको डिएपी मल दुई हजार पाँच सयमा पाइन्छ । त्यसमा पनि बजारमा पाइने मलमा युरियाको मात्रा बढी हुने भएकाले त्यसले धानमा पनि समस्या बनाउने गरेको उनी बताउँछन् । अर्की किसान तिला न्यौपानेले पनि नेताप्रति गुनासो पोखिन् । ‘नेताहरू खेतमा त आउनुभयो, तर मल पाइएको छैन,’ उनले भनिन्, ‘परिश्रम गरेअनुसारको फल पाइँदैन कि भन्ने अपेक्षा छ ।’

यो वर्ष रोपाइँ दर पनि न्यून रहेको छ । अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले बताए । ‘अहिलेसम्म करिब ६० प्रतिशत रोपाइँ भइसक्नुपर्ने हो, तर यस वर्ष मल पनि समयमा नआएको, ब्याड पनि तयार नभएको स्थिति छ,’ उनले भने, ‘त्यसले गर्दा पनि यस वर्ष अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । तुलसीपुरमा १० हजार एक सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । 

जहाँ बर्सेनि चार हजार मेट्रिकटन धान उत्पादन हुने गर्छ । प्रायः यहाँ आकासे खेतीको भरमा रोपाइँ हुन्छ । तुलसीपुर उपमहानगरपालिकाभित्र २५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । पटक–पटक मल अभाव हुँदा किसान मारमा परेको भन्दै उपमहानगरपालिका प्रमुख खड्काले तुलसीपुरमा फोहाेरबाट जैविक मल उत्पादन गर्ने मेसिन ल्याउन लागिएको बताए । साउनभित्रै उक्त मेसिन तुलसीपुर आइपुग्ने उनको भनाइ छ । 

अबको १०–१२ दिनमा तुलसीपुरमा रासायनिक मल आउन लागेको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए ।