मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ असार १६ बिहीबार ०७:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनीका मुख्यमन्त्री केसी भन्छन्– राज्यमन्त्री वलीको राजीनामा स्वीकृत भयो, वली भन्छिन्– मैले राजीनामा दिएकी छैन

Read Time : > 1 मिनेट
२०७९ असार १६ बिहीबार ०७:२३:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए । 

मुख्यमन्त्री केसीले छानबिन सहज होस् भनेर राज्यमन्त्रीको राजीनामा आएको र धन्यवादसहित राजीनामा स्वीकृत गरेको बताए । उनले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने चरणमा पुर्‍याएको बताए । प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

राज्यमन्त्री वली भन्छिन्–मैले राजीनामा दिएकी छैन

दाङ/ लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् । पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् ।

‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दबाब आएको छ,’ राज्यमन्त्री वलीले नयाँ पत्रिकासँग भनिन्, ‘राजीनामापत्र पनि ल्याएर मकहाँ नेताहरू आउनुभएको छ, तर मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन ।’ 

आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत दिने उनले बताइन् । ‘यदि मैले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै होइन, सांसद, पार्टीबाटै राजीनामा दिन्छु,’ उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्नँ ।’

राज्यमन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । एकराजको घरपरिवारसँग हात हालाहालको अवस्था सिर्जना भएपछि वली आलोचित बनेकी थिइन् ।