१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ असार १५ बुधबार १८:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले जनकपुर जलमग्न

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ असार १५ बुधबार १८:२३:००

विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । ढल तथा नालाको अभाव तथा भएका नालहरूको मर्मतसम्भार नहुँदा वर्षाको पानी घरभित्रै नै पस्ने गरेको छ ।  जनकपुर–१० स्थित उपमहानगरपालिका उपप्रमुखसमेत रहेका किशोरी साहको घरमा पनि दुई फिट पानी जमेको छ । सो वडाका अधिकांश घरमा पानी जमेको छ भने वडा १, ४, १३ र १६ का कतिपय घरमा पनि पानी पसेको छ । 

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पनि पानी जमेको छ । 

पानी निकासको समस्याबारे निवर्तमान उपमहानगर प्रमुखलाई पटक-पटक सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरूले बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उपमेयर साहले बताए । आफूहरू भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनको भनाइ छ। अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा जनकपुरसहितका बजारहरूको व्यापार व्यवसायसमेत प्रभावित भएको छ भने सरकारी कार्यालयमा आउने सेवाग्राहीसमेत घटेका छन् । 

वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उनले  बताए । 

जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपास क्षेत्रका स्थानीयवासीलाई सचेत हुन आग्रहसमेत गरेका छन् ।