मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जिन बेडरस्नाइडर
२०७९ असार १५ बुधबार १०:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायुमैत्री हरित हाइड्रोजनको सम्भावना

Read Time : > 2 मिनेट
जिन बेडरस्नाइडर
२०७९ असार १५ बुधबार १०:३१:००

मानवसिर्जित जलवायु परिवर्तन व्यापक एवं भयावह वातावरणीय दुर्घटनातर्फ अग्रसर छ र विश्वभरका मानिसको जीवन संकटमा छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) का अनुसार आगामी दुई दशकमा विश्वले अवश्यम्भावी जलवायु जोखिम व्यहोर्नेछ । मानव इतिहासमै औसत वार्षिक वैश्विक हरितगृह ग्यास उत्सर्जन सन् २०१० देखि २०१९ सम्म सबैभन्दा उच्च थियो । यति हुँदा पनि हामी विश्व तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा रोक्न केही पनि गरिरहेका छैनौँ । यही अप्रिलमा जारी आइपिसिसी प्रतिवेदनले विश्वभर जीवाश्म इन्धनको आपूर्ति र मागमा तीव्र न्यूनीकरणको आवश्यकता औँल्याएको छ, जसमा सन् २०५० भित्र कोइलामा ९५ प्रतिशत, तेलमा ६० प्रतिशत र प्राकृतिक ग्यासमा ४५ प्रतिशत कटौती हुनुपर्नेछ । यो महत्वाकांक्षी लक्ष्य कसरी हासिल गर्ने होला त ? 

समाधान हरित हाइड्रोजन हो, जसको उत्पादन सौर्य, वायु, जललगायत सबै किसिमका नविकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गर्न सकिन्छ । इलेक्ट्रोलाइसिस प्रक्रियाबाट उत्पादन हुने हरित हाइड्रोजनले शून्य हरितगृह ग्यासको उत्सर्जन गर्छ । हरित हाइड्रोजन ऊर्जा एक व्यावहारिक एवं कार्यान्वयनयोग्य समाधान हो, जसले ऊर्जाको लोकतान्त्रीकरण, ठूला उद्योगमा कार्बन निर्मूलीकरण र वैश्विक रूपमा रोजगारी सिर्जना गरी वैश्विक ऊर्जाको मामिलामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । 

मुलुकहरू आफूले उत्पादन गर्ने जीवाश्म इन्धनको मात्राका आधारमा मात्र शक्तिशाली नहुन सक्छन् किनभने हरित ऊर्जामा तीव्र रूपमा भइरहेको प्रतिस्थापनले भूराजनीतिक परिदृश्यलाई पनि आधारभूत रूपमा परिवर्तन गर्न सक्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमा विध्वंसात्मक एवं गैरकानुनी युद्ध गरेयता पनि युरोपमा भइरहेको जीवाश्म इन्धन निर्यातका कारण रुसले प्रतिदिन करिब एक अर्ब डलर कमाइरहेको छ ।

तर फेब्रुअरीमा आक्रमण सुरु भएदेखि युरोपेली संघका राष्ट्रले रुसी ऊर्जामा निर्भरता कम गर्न लागिपरेका छन् र हालै रुसी तेलको सबै समुद्री आयातमा प्रतिबन्ध लगाउन सहमत छन् । पुटिनको युद्धविरुद्धका यी नयाँ प्रतिबन्धका कारण यो वर्ष इयूले रुसबाट खरिद गरेको तेलको मात्रा ९० प्रतिशत कटौती हुन सक्छ । सन् २०२२ को अन्त्यसम्ममा बेलायतले रुसी तेलको आयात क्रमशः बन्द गर्नेछ भने अमेरिकाले रुसी ग्यास, कोइला र तेलको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । यी नीतिका कारण इन्धनको लागत बढेको छ । तर, नवीकरणीय ऊर्जा र हरित हाइड्रोजन निर्माणमा लगानी बढाएर ऊर्जा लागत घटाउने मौका पनि नाटकीय रूपमा बढेको देखिन्छ । हालैका एक अध्ययनअनुसार आगामी १० वर्षमा हरित हाइड्रोजनले जीवाश्म इन्धनसँग प्रतिस्पर्धा गर्नेछ । 

हरित हाइड्रोजन ऊर्जा एक व्यावहारिक एवं कार्यान्वयनयोग्य समाधान हो, जसले ऊर्जाको लोकतान्त्रीकरण र ठूला उद्योगमा कार्बन निर्मूलीकरण गर्नुका साथै वैश्विक रूपमा रोजगारीसमेत सिर्जना गर्नेछ 

सन् २०२५ सम्ममा हरित हाइड्रोजनको मूल्य नाटकीय रूपमा घट्ने अनुमान छ र अस्ट्रेलियाजस्ता उच्च माग भएका मुलुकमा सन् २०३० सम्ममा हरित हाइड्रोजनको मूल्य एक डलर प्रतिकिलो पर्न जानेछ । यसको तुलना जीवाश्म इन्धनलाई प्रदूषित गरेर बनाइने ग्रे हाइड्रोजनको हालको मूल्य दुई डलर प्रतिकिलो छ । हालको ऊर्जा–सुरक्षा द्विविधाको ‘समाधान’ गर्न एलएनजी प्रयोग गर्ने भन्ने मत पनि छन् । यद्यपि यो ‘प्राकृतिक ग्यास’मा मिथेन समावेश भएको हुनाले र आइपिसिसीका अनुसार सन् २०५० सम्ममा प्राकृतिक ग्यासको खपत लगभग ४५ प्रतिशतले घटाउनुपर्ने भएकाले उल्लिखित ‘समाधान’ गम्भीर त्रुटिपूर्ण छ । यसकारण हरित ऊर्जा विशेषतः हरित हाइड्रोजन उत्पादन विश्वव्यापीस्तरमा चलिरहेको छ । ठूलो मात्रामा हरित हाइड्रोजन उत्पादन गरेर नवीकरणीय ऊर्जा धेरै स्रोत भएका कैयौँ राष्ट्रले ऊर्जा स्वतन्त्रता हासिल गर्न सक्छन् । त्यसबाहेक ऊर्जाका आयातकर्ताले प्राकृतिक रूपमा जीवाश्म स्रोत भएका रुसजस्ता मुलुकमा मात्र भर पर्नुपर्दैन । 

अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा एजेन्सीको हालैको एक प्रतिवेदनअनुसार (हरित) हाइड्रोजनले आयात निर्भरता तथा मूल्य तरलता घटाएर र विविधीकरणबाट निःसृत ऊर्जा व्यवस्थाको लचिलोपन एवं मजबुतीकरणले ऊर्जा सुरक्षालाई बल पुर्‍याउनेछ । प्रविधिको विकाससँगै हरित हाइड्रोजनको मूल्य घट्नेछ । यसर्थ प्रविधि विकासका लागि जे गर्न सकिन्छ, त्यो हामीले गर्नुपर्छ । म बोर्ड निर्देशक भएको फोर्टेस्क कम्पनी र अन्य कम्पनीले हरित हाइड्रोजनमा उल्लेखनीय लगानी गरिरहेका छन् र यसले रुसी जीवाश्म इन्धनलाई विस्थापित गर्नेछ । भूराजनीतिक र ऊर्जा परिदृश्यको तीव्र परिवर्तनका कारण हरित ऊर्जामा लगानी गरेर ऊर्जा र जलवायु संकट दुवैलाई एकैपटक सम्बोधन गर्ने स्पष्ट अवसर भए पनि विकसित मुलुकले अपेक्षाकृत कम उत्सर्जन गर्ने विकासशील अर्थतन्त्रलाई जीवाश्म इन्धन प्रयोग गर्न बन्द गर्नुपर्ने माग अन्यायपूर्ण देखिन्छ । विकासशील अर्थतन्त्र आफ्नो विकासको कार्यलाई किन सुस्त बनाउनु जब कि समस्याको सिर्जना यी मुलुकले गरेका होइनन् ? प्रश्न जायज छ ।

हरित प्रतिस्थापनका वेला नीति–निर्माताले विकासोन्मुख राष्ट्रको हितलाई ध्यानमा राख्नुपर्छ र तिनलाई औद्योगिकीकरणको आधारका रूपमा स्वच्छ ऊर्जा प्रयोग गर्न प्रोत्साहित गर्न लगानी एवं हौसला प्रदान गर्नुपर्छ । संसार द्विविधामा छ भन्नेमा शंका छैन । हामी जीवाश्म इन्धनको महँगो, हानिकारक भविष्यमा बाँच्न विवश छौँ, जुन भयानक रूपमा गलत छ । हामी यी इन्धनमा धनी रहेका राष्ट्रको एक सानो तप्कालाई मात्र फाइदा पुर्‍याइरहेका छौँ । विकल्पका रूपमा हामी हरित क्रान्ति रोज्न सक्छाँै, जसले सबैलाई सस्तो ऊर्जा प्रदान गर्छ । यसले हाम्रो भविष्यलाई तानाशाह, प्रदूषण र विश्व तापमानबाट जोगाउनेछ । विकल्प कठिन पनि छैन र यसले हरित ऊर्जाले विश्वव्यापी आपूर्तिलाई लोकतान्त्रिक बनाउने क्षमता राख्छ किनभने यसले धेरै राष्ट्रलाई ऊर्जा स्वतन्त्रतातर्फ डोर्‍याउनेछ ।
प्रोजेक्ट सिन्डिकेटबाट (बेडरस्नाइडर फ्रोटेस्क मेटल्स ग्रुपकी गैरकार्यकारी निर्देशक हुन्)