मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १५ बुधबार ०७:१८:००
Read Time : > 3 मिनेट
साहित्य डिजिटल संस्करण

अनेसासको बाटोलाई फराकिलो पार्न पोखेको बौद्धिक पसिना नै मेराे जित्ने आधार हुन् : गोवर्द्धन पूजा

Read Time : > 3 मिनेट
२०७९ असार १५ बुधबार ०७:१८:००

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्व चयनका लागि यही असार २५ गते निर्वाचन हुँदै छ । संस्थामा आबद्ध विश्वभरका दुई हजार चार सय साहित्यकारले मतदान गरी नयाँ नेतृत्व चयन गर्नेछन् ।  निर्वाचनमा अमेरिकाको बोस्टनमा रहेर साहित्यकर्म गरिरहेका गोवर्द्धन पूजाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, बेलायतमा रहेका सुनील संगमले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा नै तपाईंको उम्मेदवारी किन ? तपाईंले जित्ने आधारहरू के–के छन् ? जित्नुभयो भने नेपाली भाषा र साहित्यका लागि कस्तो काम गर्नुहुन्छ ? यसै विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाकर्मी संगीता पनेरूले  उम्मेदवारका प्रत्याशी  गोवर्द्धन पूजासँग गरेको कुराकानीको अंश :

अनेसास कस्तो संस्था हो र यसले हालसम्म के–के काम गर्दै आएको छ ? 

अनेसास परदेशमा  रहेका नेपालीभाषीको साझा संस्था हो भने घरदेशमा रहेका नेपाली, भुटानी, भारतीय, बर्मेलीहरूको मूलको फैलावट भाषिक फाँटबारी हो । सन् १९९१ मा अमेरिकाको वासिङ्टनडिसीमा स्थापना भएको यो संस्थामा हाल दुई हजार चार सय आजीवन सदस्य छन् । यसका विभिन्न मुलुकमा ८० भन्दा बढी च्याप्टर रहेका छन् । यसले नेपाली भाषा र साहित्यका क्षेत्रमा टेवा पुग्ने खालका सेवाहरू गरिरहेको छ । कृति प्रकाशन, लेखकलाई पुरस्कार-सम्मान, भाषिक र साहित्यिक प्रशिक्षण, सभा–समारोह, कृति अनुवाद र प्रकाशनका काम गर्दै आएको छ।

अनेसासको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

लामो समय यो संस्थामा लागेँ । यही संस्थाको कारण म अमेरिका आएको हुँ । यहाँ आएपछि मेरो लेखनको शोख अझ बलियो हुँदै आयो । मैले नेपाली भाषा र साहित्यका लागि केही गर्नुपर्छ र यो अनेसासमार्फत गर्न सक्छु भन्ने विश्वास पलायो ।  नेपालमा रहँदा म यसको सहसचिव थिएँ, यहाँ आएर पाँच वर्षसम्म कुनै पद नै नलिई संस्थाको सभा–सम्मेलनहरूमा सहभागी भइरहेँ । कार्यक्रम सञ्चालनदेखि कृति सम्पादकको रूपमा आबद्ध भएर अनेसासको उज्यालो पक्षबाट आफूलाई न्यानो बनाइरहेँ । 

२०१४ मा महासचिवको पदमा प्रवेश गरेर दुई कार्यकाल संस्थालाई मैले जानेको सीप र ज्ञान बाँड्न पाएँ । २०२०-२२ मा म वरिष्ठ उपाध्यक्ष भएर संस्थालाई गति दिने साथीहरूको साथमा सारथि बनेँ ।  विश्वभर नेपालीको विभिन्न संस्था छन्, तर अनेसासजस्तो वि‍शुद्ध नेपाली भाषा र साहित्यलाई सेवा गर्ने अर्को संस्था छैन । यसैले अनेसासलाई अनेसास नै बनाउन मेरो सानो प्रयास र समय दिने चाहना राखेको छु । म अनेसासको स्थापनाको मर्म र धर्मलाई पालन गरेर अझ गरिमामय संस्था बनाउने सपनालाई सार्थकता दिन नेतृत्वको चाह राखेर आएको हुँ ।

अनेसासको अध्यक्षमा निर्वाचित हुनुभयो भने भावी दिनमा तपाईंका योजना के–के छन् ?

मेरा योजना मैले सामान्य रूपले सार्वजनिक गरिसकेको छु । ठूला सपना छैनन् । दुईवर्षे कार्यकालमा पूरा गर्न सक्ने मात्र सार्वजनिक गरेको छु । निर्वाचनमा होमिनुभएका साथीहरूले पनि आ–आफ्ना कार्ययोजना सार्वजनिक गरिसक्नुभएको छ । यसैले उहाँहरूका योजना र मेरा योजना  जुन पूरा गर्नसकिने खालका हुन्छन् तिनिहरूलाई सामूहिक रूपले पूरा गर्नेछौँ 
मेरा योजनाहरू निम्नानुसार छन् : 

१. आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचयपत्र र अनेसासको पिन समर्पण गरिनेछ ।
२. साहित्यिक अनलाइन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यिक रचनाको नियमित प्रकाशन गरिनेछ ।
. अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
४. अनेसास भवन खरिदका लागि रकम संकलन समूह गठन गरी भवन खरिद र व्यवस्थापनका लागि काम गरिनेछ।
. अनेसासका आजीवन सदस्यको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गरिनेछ ।
६. अनलाइन साहित्यिक प्रशिक्षणको व्यवस्था गरी साहित्य लेखन प्रशिक्षणमार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाइनेछ ।
. क्षेत्रीय समिति गठन गरी भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गरिनेछ ।
८. नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा–सम्मेनन र गोष्ठी गरिनेछ ।
९. अनेसासका पूर्वनेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गरिनेछ ।
१०‍. बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगिता, अन्तर्राष्ट्रिय सभा–सम्मेलन, साहित्यिक उत्सव गरिनेछ ।
११. विधागत अनुवाद कृति प्रकाशित गरिनेछ ।
१२. पाँचै महादेशका सर्जकहरूको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गरिनेछ ।
१३. महिला सशक्तीकरणसम्बन्धी गोष्ठी  र कृति प्रकाशन गरिनेछ ।
१४. आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गरिनेछ ।
१५. विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

 निर्वाचनमा होमिएपछि जित र हार स्विकार्न सक्नुपर्छ। मैले नेपाली साहित्यमा समर्पण गरेको मेरो जीवनको केही समय र अनेसासको बाटोलाई फराकिलो पार्न पोखेको बौद्धिक पसिना नै मेरा जित्ने आधार हुन् । आजीवन सदस्यहरूले मलाई निकटबाट हेरिरहनुभएको छ । मेरो काम गर्ने शैली र संस्थाप्रतिको इमानदारी नै मेरा सबल पक्ष हुन् ।

साहित्यमा पनि गुटबन्दी हाबी छ भन्छन्, यसमा के भन्नुहुन्छ ?
साहित्यकार पनि सामाजिक प्राणी नै हुन्, उनीहरूको पनि समूह भइहाल्छ, त्यसैले कतै कुनै वेला  मन मिल्नेहरूको झुन्ड देखिनु अस्वाभाविक हुँदैन । तर, राजनीतिमा जस्तो लडाउने र पछार्ने खालका गुट साहित्यमा छैनन्, यहाँ र केवल उचाल्ने र ठूलो बनाउने गुट मात्र छ , त्यो पनि न्यून मात्रमा मात्र ।

यसअघि तपाईंले सम्हाल्नुभएको पदमा रहेर के–के काम गर्नुभयो ?
अनेसासमा म नेपालमा छँदा सहसचिव, अमेरिका आएपछि दुई कार्यकाल महासचिव र हाल वरिष्ठ उपाध्यक्ष भएर काम गरेँ ।

यस संस्थामा जोडिन साहित्यकारहरूले के गर्नुपर्छ ?
नेपाली भाषा र साहित्यमा संलग्न वा नेपाली भाषा र साहित्यलाई माया गर्ने जोकोहीकाे पनि एक सय पचास अमेरिकी डलर तिरेर सदस्यता लिन सकिने प्रावधान छ ।

तपाईंलाई अध्यक्षमा  जित्छु भन्ने  आधारहररू के–के हुन्  ?
निर्वाचनमा होमिएपछि जित र हार स्विकार्न सक्नुपर्छ। मैले नेपाली साहित्यका समर्पण गरेको मेरो जीवनको केही समय र अनेसासको बाटोलाई फराकिलो पार्न पोखेको बौद्धिक पसिना नै मेरा जित्ने आधार हुन् । आजीवन सदस्यहरूले मलाई निकटबाट हेरिरहनुभएको छ । मेरो काम गर्ने शैली र संस्थाप्रतिको इमानदारी नै मेरा सबल पक्ष हुन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
मैले जे–जति जानेको थिएँ, दशवटा कृतिमार्फत नेपाली साहित्यका लागि दिएको छु ।  अनेसासले मलाई प्रवासमा साहित्यिक कर्म गर्न सिकायो, यसैका कारण म अमेरिका आएको हुँ । १२ वर्षसम्म अनेसासले मलाई विभिन्न पदमा राखेर दुई हजार चार सय आजीवन सदस्यको मनसम्म पुग्ने बाटो दियो । साथीहरूको नेतृत्वलाई सहयोगीको भूमिकामा सघाइरहेँ । अब मैले साथीहरूको साथ लिएर नेतृत्व गर्दै केही नयाँ काममार्फत अनेसासलाई केही दिनेछु ।