मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कन्चनपुर
२०७९ असार १४ मंगलबार १८:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टनकपुर सन्धिको २६ वर्षपछि नेपालले पहिलोपटक पायो पानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कन्चनपुर
२०७९ असार १४ मंगलबार १८:२६:००

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निर्माण गरी सक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो । 

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निर्माण गरेको नहरको भागमा केही दिनअगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । 

लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूलनहर निर्माणमा चासो देखाएको थिएन । तर, केही वर्षअगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात् धान दिवसको दिन नहरको पानीबाट किसानहरूले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए । 

निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । उनले नहर निर्माण पूर्ण रूपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए ।