मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १४ मंगलबार ०९:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षायाममा सरसफाइप्रति अझै बढी ध्यान दिनुपर्छ

वर्षाजन्य रोग झाडापखालाबाट शरीरमा पानीको स्तर घट्नेहुँदा छाला सुक्खा हुने, लुतोको संक्रमण फैलिने, छाला चाउरिनेजस्ता समस्याले जटिलता निम्त्याउँछ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०९:१९:००

वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरि नै बाढी र डुबानको समस्या बढ्दै गएको छ । यस वर्ष तुलनात्मक रूपमा बढी वर्षा हुने अनुमान गरिएको छ । वर्षापछिको विपत् र डुबानका कारण संक्रमणजन्य रोगको जोखिमसमेत उच्च रहन्छ । डुबानमा पर्ने बस्तीहरूमा पानीजन्य संक्रमणबाट बच्न सतर्क रहनुपर्छ ।

फोहोर पानी र खाद्यवस्तुको प्रयोगबाट झाडापखाला र हैजाजस्ता संक्रमण फैलिरहेका छन् । विशेषगरी डुबान र बाढी प्रभावित क्षेत्रमा यस्ता रोगले बढी प्रभाव पारिरहेको छ । बाढीसँगै मिसिएर आउने ढलका कारण पानी दूषित हुने र अन्य खाद्यवस्तुमार्फत सजिलै खानामा पुग्ने भएकाले झाडापखालाजन्य रोगको जोखिम बढेको हो । विशेषगरी अत्यधिक फोहोर थुप्रिएको स्थानमा यस्ता संक्रमणको असर बढी रहन्छ ।

 झाडापखाला र हैजा 
मनसुन सुरु भएसँगै झाडापखाला र हैजाका बिरामी अस्पतालसम्म पुग्ने दर बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । झाडापखालाबाट प्रभावित भएर अस्पतालसम्म पुग्ने बिरामीसमेत अधिकांश अत्यधिक भिडभाड रहने स्थानमा देखिएका छन् । 

खासगरी बाढी र डुबानबाट प्रभावित हुने तराई, उपत्यका र खोलानजिकका बस्तीमा पानीजन्य संक्रमणको जोखिम बढी देखिन्छ । बाढीको समयमा सफा पिउने पानीको अभाव रहने भएकाले खानेपानीबाट ब्याक्टेरियल इन्फेक्सनहरू फैलिन्छन् । 

छालामा समस्या
फोहोरबाट निस्किएको ब्याक्टेरियाबाट छालामा ब्याक्टेरियल इन्फेक्सनको जोखिम हुन्छ । यसबाहेक फंगल, डेंगु र कोलेरियाको समेत उच्च जोखिम रहन्छ । जसले छालामा विभिन्न खाले समस्या ल्याउँछ र छालालाई कमजोर बनाउँदै लान्छ ।

यस्तै, वर्षाजन्य रोग झाडापखालाबाट शरीरमा पानीको स्तर घट्नेहुँदा छाला सुक्खा हुने, लुतोको संक्रमण फैलिने, छाला चाउरिने जस्ता समस्याले जटिलता निम्त्याउँछ । फोहोरको सम्पर्कमा रहने व्यक्तिमा एग्जिमा हुने सम्भावना रहन्छ । जसले छाला पाक्ने, ठूलो फोकाहरू उठ्ने, रगत र पिप जम्नुका साथै क्यान्सरको जोखिम बढाउँछ ।

 लामखुट्टेको टोकाइबाट हुने जोखिम 
वर्षाको पानी जम्ने स्थानमा लामखुट्टे मौलाउने भएकाले जोखिम बढ्ने गर्छ । जसका कारण यो समयमा मलेरिया, कालाजार, डेंगु, इन्फ्लुएन्जा र स्क्रब टाइफसजस्ता समस्या देखिन्छन् । पछिल्ला केही वर्षयता यस्ता रोगहरूले गम्भीर जोखिम निम्त्याइरहेका कारण लामखुट्टे तथा अन्य भुसुनाको टोकाइबाट बच्नुपर्ने हुन्छ । वर्षामा दूषित पानी, अस्वस्थ खाद्यपदार्थ र व्यक्तिगत सरसफाइको कमीबाट स्वास्थ्य समस्या निम्तिन्छन् । बाढी प्रभावित स्थानमा यसको जोखिम बढी रहने भएकाले सरसफाइमा अझै बढी ध्यान दिनुपर्छ ।