मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एसिसी एसिया कप टी–२० छनोट प्रतियोगिता खेलेर सोमबार नेपाल फर्किएको नेपाली राष्ट्रिय महिला टोली
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार ०७:११:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘महिला खेलाडीलाई म्याच एक्सपोजरको आवश्यकता’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार ०७:११:००

मलेसियामा शुक्रबार सम्पन्न एसिसी एसिया कप टी–२० छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोली सेमिफाइनलबाट बाहिरिँदा वर्षा बाधक बनेको थियो । सेमिफाइनलमा युएईविरुद्ध नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मलेसियाको किन्नरा मैदानमा नेपालले पहिलो सेमिफाइनलमा युएईलाई ८१ रनमै अलआउट गरेको थियो । दोस्रो इनिङ्स सुरु हुनुअघि भारी वर्षा हुँदा खेल हुन सकेन, जसका कारण समूह ‘ए’को विजेताको हैसियतमा युएई फाइनलमा पुग्यो । 

एसिया कप छनोटको सेमिफाइनलबाट बाहिरिएको नेपाली टोली सोमबार घर फर्किएको छ । फाइनलनजिक पुगेर अप्रत्याशित नतिजाको सिकार हुँदा निकै दुःखी भएको नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले बताएकी छिन् । ‘हामीले प्रतियोगितामा उत्कृष्ट खेल्यौँ तर फाइनल पुग्न नसक्दा दुःखी छौँ,’ त्रिभुवन विमानस्थलमा कप्तान क्षेत्रीले भनिन्, ‘उपाधि जित्ने लक्ष्यका साथ मलेसिया गएका थियौँ ।’

क्षेत्रीले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो नतिजा निकाल्न धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्न आवश्यक रहेको बताइन् । ‘योभन्दा राम्रो प्रदर्शन गर्न खेलाडीले धेरैभन्दा धेरै अभ्यास खेल खेल्नुपर्छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय लेभलको प्रतियोतिगामा सहभागी हुन पाउँदा खेलाडीको स्तर बढ्ने र नेपाली टोलीको भविष्य पनि राम्रो हुनेछ ।’ 

मलेसियामा सहभागी खेलाडीले निरन्तर रूपमा आफ्नो लयलाई यथावत् राख्नुपर्ने उनको भनाइ छ । सबै खेलाडी काठमाडौंमै बसेर आआफ्नो स्तरवृद्धि गर्नुका साथै फर्मलाई निरन्तरता दिलाउन अभ्यास गर्ने योजना रहेको कप्तान क्षेत्रीले बताइन् । ‘सबै खेलाडीले काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छन्,’ उनले भनिन्, ‘आउने प्रतियोगितालाई मध्यनजर गर्दै योजनाबद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौँ ।’ एसिया कपअघि भएको युगान्डाविरुद्धको सिरिजले कमी–कमजोरी थाहा पाएको उनले बताइन् । ‘युगान्डाविरुद्ध टी–२० सिरिज खेलेका थियौँ, त्यसमा प्रत्येक खेलाडीका कमी–कमजोरी थाहा पायौँ, यसबाट मलेसियामा खेल्न सजिलो भयो,’ उनले भनिन्, ‘धेरै सिरिज खेलेर प्रतियोगितामा सहभागी हुँदा नतिजा पनि राम्रो हुन्छ ।’ 

‘रिजर्भ’ दिन भएन
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रयोगितामा ‘रिजर्भ’ दिन हुनुपर्ने बताए । ‘एसिसी र आइसिसीले आयोजना गर्ने प्रतियोगितामा ‘रिजर्भ’ दिन राख्नुपर्छ,’ प्रशिक्षक टमाटाले भने, ‘यस्तो नियम नहुँदा खेल गुमाउनुपरेको हो ।’ टमाटाका अनुसार प्रतियोगितामा सबै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । ‘हङकङसँग हामी पराजित भयौँ, यसबाहेक अरू खेलमा अपेक्षाअनुरूप नै नतिजा आएको थियो,’ उनले भने, ‘दुर्भाग्य, सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो, युएई फाइनलमा पुग्दा धेरै दुःख लाग्यो ।’ मलेसियामा नेपाली खेलाडीले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरेको उनले जनाए । ‘हामीले सेमिफाइनलमा युएई सस्तै योगफलमा रोक्नु नै उत्कृष्ट प्रदर्शन जस्तो लाग्छ,’ सेमिफाइनलको समीक्षा गर्दै टमाटाले भने, ‘धेरैभन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोलीले छलाङ मार्न सक्छ ।’ 

राम्रो अनुभव
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता करिअरमै पहिलोपटक पाँच विकेट लिएकी अस्मिना कर्माचार्यले मलेसियामा राम्रो अनुभव लिने अवसर पाएको बताइन् । त्रिभुवन विमानस्थलमा उनले आगामी दिनमा अझै राम्रो गर्न क्यानले प्राथमिकता राख्नुपर्ने बताइन् । तर राम्रो खेल्दाखेल्दै प्रतियोगिताबाट बाहिरिनु पर्दा दुःख लागेको उनको भनाइ छ । उनले भनिन्, ‘मेरो करियरमा पाँच विकेटको प्रदर्शन निकै महत्वपूर्ण रह्यो ।’