१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजधानीमा हैजाका बिरामी बढे

११ दिनमा भेटिए हैजाका १२ बिरामी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०५:५९:००

बागबजार, डिल्लीबजार, बोहराटार, नैकाप, थानकोट, सानेपा, बल्खु, कोटेश्वर र कपन क्षेत्रमा भेटिए हैजाका जीवाणु

काठमाडौं÷ राजधानीमा पछिल्ला ११ दिनमा १२ जनामा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले राजधानीका भित्री भागमा कलेरा फैलिएको बताए । उनले २ असारयता १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । 

गत २ असारमा बागबजारमा मजदुरी गर्ने एकै परिवारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । चटपटे खाएर बिरामी परेका उनीहरूलाई नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको थियो । आइसियूमा उपचारपछि उनीहरू हालै डिस्चार्ज भएका छन् । 

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुमा झाडापखालाका बिरामी दैनिक सयको संख्यामा हुन्छन् । केहीको कलेरासँग मिल्ने लक्षण देखिए पनि धेरैमा झाडापखाला देखिएको छ । फोहोर उठाउन नसक्दा हैजाको संक्रमण फैलिएको हो । 

प्रभावित क्षेत्र हेर्दा हैजाले राजधानी घेरिएको छ । काठमाडौंका भित्री भागहरूमा बिरामी देखिएका छन् । स्वास्थ्य मन्त्रालयले बताए अनुसार हाल राजधानीको बागबजार, डिल्लीबजार, बोहराटार, नैकाव, थानकोट, सानेपा, बल्खु, कोटेश्वर र कपन क्षेत्रमामा हैजाका जिवाणु देखिएको छ । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा दासले घाराको पानी र विशेषगरी जारमा भरेको पानीमा कलेराको जिवाणु देखिएको बताए । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उनले बताए । ’काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,’  निर्देशक दासले भने, ’बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।’ 

हैजाले महामारीको रुप लिन सक्ने भन्दै तयारी स्वरुप पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि अलर्ट गरिएको छ । अघिल्लो वर्ष कपिल्वस्तु र सप्तरीमा ८ जनामा हैजा पुष्टि भएको थियो । 

हैजा हुँदा ग्याष्ट्रोएन्टेराइटिस हुनेगर्छ । यसले गर्दा बान्ता हुने । चौलानी पानी जस्तो पखाला जाने हुन्छ । पिसाव रोकिने र निरन्तर दिसा जाने गर्छ । संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्न सक्छ । 

खानेपानी सुरक्षित भए नभएको जाँचेर मात्र पिउनुपर्छ । पानी उमालेर मात्रै खानुपर्छ । सकेसम्म घरमै तयार भएको हाइजेनिक खानेकुरा खानुपर्छ । साबन पानिले हात धुने बानी बसाल्नुपर्छ जसले गर्दा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन् ।