१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १३ सोमबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षाकर्मीलाई बाँके प्रशासनको निर्देशन : किसानले भारतबाट मल ल्याए सहजीकरण गर्नु 

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार २१:२१:००

बाँके प्रशासनले किसानले भारतबाट मल ल्याए सहजीकरण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएकाे छ । राजनीतिक दल र किसानले मल आपूर्ति सहज बनाउन माग गरेपछि किसानले आफ्नो खेतबारीमा प्रयोग गर्न ल्याउने रासायनिक मल नरोक्न नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनले खेतीपातीका लागि ल्याउने किसानको पहिचान गरी मल ल्याउने किसानलाई दुःख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए । 

‘व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतवारीमा प्रयोग गर्नका लागि हो भन्ने यकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ,’ उनले भने । उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको बताए । भारतबाट मल ल्याउन प्रतिबन्ध रहे पनि व्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उनको भनाइ छ । ‘हुन त किसानलाई भारतबाट मल ल्याउनुस् भन्न मिल्दैन । नाकामा खटिएका सुरक्षाकर्मीलाई नरोक्नु भन्न पनि मिल्दैन, तर किसानको समस्या र व्यवहारिकता पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कानुनले नदिए पनि व्यवहारिकता हेरेर निर्देशन दिनुपरेको छ ।’

बाँकेका किसानले नेपालगन्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साइगाउँलगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो किसानको छ । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।