Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १३ सोमबार १८:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिफ्ट मागेका तीन भारतीयले गाडी लुटेर भागे

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १८:२०:००

इन्धन खर्च दिने भन्दै ‘लिफ्ट’ मागेर चढेका तीनजना भारतीय नागरिकले कार लुटेर लगेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारीलाई हातखुट्टा बाँधेर उनको प्रदेश ३–०१–०२३ च८७२१ नम्बरको कार लुटेरका हुन् । 

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका– ५, बुढीतोलामा दिउँसो १२ बजेतिर घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भण्डारीमाथि कुटपिट पनि भएको र उनको टाउकोमा ढुंगाले हिर्काएको घाउ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । अत्तरियास्थित पद्मा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कञ्चनपुरको सामादैजी घर भएका भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरबाट आउने क्रममा अपरिचित तीनजना भारतीय नागरिकले लिफ्ट मागेका थिए । बुढीतोला पुगेपछि फोटो खिच्ने नाममा कार रोकाएको र कुटपिट गर्दै हातखुट्टा बाँधेर गाडी लिएर गएकाे बुझिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । 

‘कपडाले हातखुट्टा र गम्छाले मुख बाँधेर सडकभन्दा केही तल छोडेर गएछन्,’ जोशीले भने, ‘घटनाको कारण खुलेको छैन । हामीले अनुसन्धान सुरु गरेका छौँ।’ 

भण्डारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकाले विस्तृत सोधपुछ पछि गरिने प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

‘डाँडामा फोटो खिच्ने भनेर गाडी रोक्न आग्रह गरे । फोटो खिचिदिनुपर्यो भनेर मलाई तल बोलाए,’ भण्डारीले भने, ‘हातमा चक्कु हाने र ढलाए । ढुंगाले पछाडिबाट हाने, हातखुट्टा बाँधेर छोडेर गए।’