मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ११:२४:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटमा अभ्यासको खाँचो छ : रुविना क्षेत्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ११:२४:००

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सीमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो । वर्षा बाधक बन्यो । अस्मिना कर्माचार्यको पाँच विकेटको तारिफयोग्य बलिङ शुभसंकेत भए पनि वर्षा बाधक बन्दा एसिया कप यात्रा टुंगियो ।

सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमबार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । 

मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमबार स्वदेश फर्कियो । उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन । उपाधि ल्याउन लक्ष्य यसपालि पनि धकेलियो । उत्कृष्ट प्रदर्शनका बाबजुद वर्षा बाधक बन्दा नेपालको अघिल्लो खुड्किलो सेमिफाइनलको पहिलो इनिङमा सीमित भयो ।

बलियो युएईसँगको खेलमा बलिङमा जादु देखाएकी अस्मिना कर्माचार्यको पाँच विकेट व्यक्तिगत प्रदर्शनमा अब्बल रह्यो । बलिङ इनिङमा न्याय भए पनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय गर्‍याे । दुर्भाग्य, नेपालको एसिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो । सम्मुखको उपाधि टाढिए पनि नेपाली टोली आफ्नो प्रदर्शनमा सन्तुष्ट देखिएको छ । नेपाली टोलीकी कप्तान क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन् । 

‘सबै खेलाडीले खेलमैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो । योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो । हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथिकाे प्रदर्शन हाम्रा लागि राम्रो हो,’ उनले भनिन्, ‘बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनुपर्दा दुःख लागेको छ ।’

केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान क्षेत्रीले निरन्तरको अभ्यास र धेरैभन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । 

यस्तै, जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताइन् । 

‘राम्रो खेल्दाखेल्दै पनि हामी बाहिरिनुपर्दा दुःख लागेको छ, मेरो व्यक्तिगत करिअरमा पाँच विकेट निकै महत्वपूर्ण रह्यो, व्यक्तिगत हौसला मिलेको छ,’ उनले भनिन्, ‘खेल गुमाए पनि हाम्रो टोलीले लय पाएको छ, यही लयलाई निरन्तरता दिनसक्यौँ भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्न सक्छ ।’

यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनुपरेको भन्दै जिम्मा आफूले लिने बताए । एसिसी र आइसिसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भए पनि नराखेकामा गुनासो गरे । समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।

मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुविनाले भनेजस्तै धेरैभन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोलीले दुई वर्षमा छलाङ मार्ने बताए । च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए । पाँच–पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिस्पर्धामा नेपाल समूह ‘बी’मा रहेको थियो ।

चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो । समूह ‘ए’को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको थियो ।