मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १३ सोमबार ०८:३३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाधान होइन स्वतन्त्र राजनीति

मिति गुज्रिएको ओखतीझैँ कतिपय दल काम नलाग्ने बने पनि तिनको विकल्प स्वतन्त्र होइन, राजनीतिमा स्वतन्त्र भन्ने नै हुन्न

Read Time : > 5 मिनेट
२०७९ असार १३ सोमबार ०८:३३:००

स्थानीय निर्वाचनपछि स्वतन्त्र शब्दको वस्तुकरण बढ्दो छ । नेपाली राजनीतिले देशको सर्वत्र कर्मचारीतन्त्र, न्यायालय, विश्वविद्यालय सबैलाई सिध्यायो । निष्ठा, विचार र सिद्धान्तसमेत सिध्याएपछि अब नेपाली राजनीतिले राजनीति स्वयंलाई नै सिध्याउँदै त छैन ? बढ्दो भद्रगोलमाझ गोल हान्ने उद्देश्यले स्वतन्त्रको आवरणमा अनगिन्ती उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन तम्तयार देखिन्छन् । स्वतन्त्र उम्मेदवारको अन्धाधुन्ध वकालत कतै प्रतिगामी षड्यन्त्रको पक्षपोषण हुने त होइन ? बृहत् राष्ट्रिय स्वार्थमाथि केन्द्रित भएर यस विषयमा गम्भीर विमर्श अत्यावश्यक देखिन्छ । 

दलको विकल्प दल : अहिले नेपालमा तीन खेमाका तर्कवितर्क गुन्जिरहेका छन् । पहिलो खेमाका तर्कवाला भन्छन्, स्वतन्त्रको जति नै चुरिफुरी देखिए पनि उनीहरू कहीँ नपुग्ने यात्राका यात्री हुन् । स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले नाटकीय सफलता प्राप्त गरेकै हुन् । यद्यपि, अंश नै पूर्णझैँ स्वतन्त्र पात्रहरू सामाजिक सञ्जालमा छ्यापछ्प्ती छाइदिएपछि आजीवन राजनीतिमा त्याग गरेकाहरूसमेत अदृश्यकरणको सिकार बन्न पुगेकामा उनीहरू दुःखी देखिन्छन् । यसर्थ, उनीहरू भन्छन्, स्वतन्त्रको विजयोत्सव पानीका फोकासिबाय केही होइन । क्षणिक आत्मरतिमा रमाएर केही हुन्न ।

स्वतन्त्रको आँधी उनीहरूको विचारमा केवल पानी नपर्ने बादल हो । उनीहरू भन्दै छन्, दलको विकल्प दल नै हो । कुनै स्थापित दल कुहियो, गनायो । त्यसको विकल्प स्वतन्त्र हो त ? सबैको समय आउँछ, जान्छ । नवीन समयमा मिति गुज्रिएको ओखतीझैँ कतिपय दल काम नलाग्ने बन्लान् पनि । तर, तिनको विकल्प स्वतन्त्र होइन । पारपाचुके भएका वा छोराछोरी बिग्रिएको देखेर बिहे नै नगर्ने भन्ने हुन्न । राजनीतिमा स्वतन्त्र भन्ने नै हुन्न । स्वतन्त्र, मेलमिलाप, गठबन्धन, आलोपालोजस्ता विषय राजनीतिक ‘टर्मिनोलोजी’ नै होइनन् । स्वतन्त्र भन्ने विषय रक्षात्मक पनि होइन । राजनीतिमा स्वतन्त्र पूरै पलायनवादी विषय हो । ऐतिहासिक आवश्यकताले नवीन विचार, सिद्धान्त र नयाँ दल निर्माण गर्छ । विचार, सिद्धान्त र संगठन कुनै व्यक्ति विशेषका लागि होइन, विविधतापूर्ण समुदाय र पूरै प्रकृतिको रक्षाका लागि पनि अपरिहार्य हुन्छ । यसर्थ, उनीहरू दलको विकल्प स्वतन्त्र कदापि होइन भन्छन् । 

दलको विकल्प स्वतन्त्र : कोहीकोही दलको विकल्प स्वतन्त्र भन्दै छन् । यद्यपि दलहरू नै शक्तिशाली छन् । दलहरूसँग संगठन छ । सम्पत्ति, सत्ता, सम्बन्ध सबै छ । तर, स्थापित दलहरू बदनाम छन् । उनीहरूसँग लड्नका लागि भन्दै केही झुन्डमुन्ड समूहहरू स्वतन्त्रको सञ्जाल बनाउन तँछाडमछाड गर्दै छन् । स्वतन्त्रबाट विजयी केही ब्रान्डलाई उभ्याएर काठमाडौंमा स्वतन्त्र उम्मेदवारीका लागि इच्छुकको राष्ट्रिय सम्मेलन गर्ने भन्दै छन् ।

स्वतन्त्र उम्मेदवार बन्न तम्तयार जमातलाई संगठित गर्न भन्दै एक समूह देश दौडाहाको नाटक मञ्चन गर्दै गरेका केही दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ, गैससको ब्यानरमा । उनीहरूको मनभित्र के अभिप्राय छ, उनीहरू नै जानून् । उनीहरूको ओठेबोलीले भनिरहेको छ, अब यी दलले मुलुक हाँक्न सक्दैनन् । मुलुक बचाउने ‘सुपरम्यान’ अब स्वतन्त्र नै हुन् । स्वतन्त्रको सञ्जालले नै निकास निकाल्छ भन्छन् । उनीहरूको बोली, वचन, चालचलन नियाल्दा धर्म, लिंग, जाति, क्षेत्र कुनै पनि कोणबाट स्वतन्त्र देखिन्नन् । अझ अमूर्त पाटोभित्र पसेर हेर्ने हो भने स्वतन्त्रभित्र षड्यन्त्रै षड्यन्त्र देख्न बेर छैन । निरपेक्ष रूपमा स्वतन्त्र बन्न बुद्धले कति तपस्या गरेका थिए, तैपनि बुद्ध सापेक्ष संसारमै फर्किए । एक धर्म सापेक्ष स्वतन्त्र प्राणी हुन् ? आलोचनात्मक प्रश्न उठाएमा, को स्वतन्त्र, कस्तो स्वतन्त्र भन्दै व्यक्ति विशेषको लेखाजोखा गर्दै जानुपर्ने हुन्छ । अन्ततः स्वतन्त्र शब्द निकै चिप्लो बन्दै जान्छ ।   

अझ अर्को तेस्रो तर्कसँग खेल्न खोज्ने खेमा पनि छ । अहिले देशमा स्वतन्त्रको आँधी आएको छ । पुराना दलप्रति जनताको विश्वास छैन । नयाँ दल बनाउने हुती पनि छैन । कुनै बेबारिसे दललाई भित्रभित्रै सक्रिय गराउने । स्वतन्त्र उम्मेदवारको हल्ला पनि फिँजाइरहने । संसदीय निर्वाचन आउन अझ आधा वर्ष बाँकी छ । स्वतन्त्रबाटै अघि बढ्ने माहोल बन्दै गए, स्वतन्त्र उम्मेदवार बन्ने । नयाँ दलतिर माहोल सोझिँदै गयो भने दलको उम्मेदवार बन्ने । यस्तो ढुलमुले स्वतन्त्र पनि सतहमा देखिँदै छन् । जो निकै दोधारे संकटमा तड्पिइरहेका देखिन्छन् । स्वतन्त्र उम्मेदवार बनेर उभिँदा समानुपातिक भोट गुमाउनुपर्छ । दल बोकेर अघि बढ्ने आँट पनि छैन । कुनै दलसँग भित्री साँठगाँठ गर्दै अघि बढ्दा कतिवेला घरको न घाटको हुने हो निश्चित छैन । स्वतन्त्रलाई स्थानीय चुनावमा जस्तो अनुकूल वातावरण संसदीय निर्वाचनमा देखिन्न ।  

ऐतिहासिक आवश्यकताले नवीन विचार, सिद्धान्त र नयाँ दल निर्माण गर्छ । विचार, सिद्धान्त र संगठन कुनै व्यक्तिविशेषका लागि होइन, विविधतापूर्ण समुदाय र पूरै प्रकृतिको रक्षाका लागि पनि अपरिहार्य हुन्छ । 

स्वतन्त्र ब्रान्ड अब पात्रबाट प्रवृत्ति बनिसकेको छ । हर्क साम्पाङ साँच्चैको भुइँतहबाटै उठेका अभियन्ता हुन् । श्रमजीवी साम्पाङजस्तै स्वरूपका छन् त अन्य स्वतन्त्र उम्मेदवार ? कोही स्वतन्त्र बौद्धिक सार्वजनिक बुद्धिजीवी बन्न सक्लान्, जो स्वाधीनताका हिसाबले बढी प्रखर देखिन सक्छन् । सार्वजनिक बुद्धिजीवी कुनै शक्तिकेन्द्रसँग साँठगाँठ नगरिकनै सादा जीवन बाँच्न सक्छ । पैदल हिँड्दै, पोलेको मकै खाँदै, साइकल चढ्दै सामान्य जीवन बाँच्न सक्छ, सार्वजनिक वुद्धिजीवी । सत्ता शक्तिकेन्द्रित राजनीतिमा त्यो सम्भव छ त ? साम्पाङ जस्तै अन्य स्वतन्त्रहरू सादगी देखिन्छन् त ? साम्पाङ नै साइकल चढेर, सार्वजनिक यातायात प्रयोग गरेर वा पैदल हिँडेर पहिलेकै जीवनशैलीमा मेयरको कार्यकाल पूरा गर्न सक्लान्? 

स्वतन्त्र भन्नेहरू कोही एमसिसी मुर्दावाद भन्नेहरू देखिन्छन् । कोही एमसिसी जिन्दावाद भन्नेहरू भेटिन्छन् । कोही राजा आऊ देश बचाऊ नारा घन्काउने छन् । कतिपय भातको प्रत्येक गाँस विदेशी बियर र रक्सीले निल्नेहरू छन् । कोही जोतिषले गर्दा जितेँ भन्छन् । कोही बन्दुक बोकेको पृष्ठभूमिवाला क्रान्तिकारी छन् । दलले टिकट नदिएपछि रातारात स्वतन्त्र बन्नेहरू छन् । स्थानीय निर्वाचनमा काठमाडौंमा मात्रै ५६ जना नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार थिए । एक हातको औँलामा गन्न सक्नेको अनुहार हामीलाई याद छैन् । ५६ जनाको मात्रै रङ र ढङ्ग राम्ररी नियाल्ने हो भने कति बहुरूपी स्वरूपहरू स्वतन्त्रको आवरणभित्र भेटिएलान् ? न सिद्धान्त, न संगठन छ । भोलि कहाँ जाने, कहाँ पुग्ने केही ठेगान छैन् । फर्की आउने हो कि होइन, केही थाहा छैन । 

अनेक स्वरूपका स्वतन्त्रको सञ्जाल बनाउन सक्रिय समूह अहिले अस्तित्वमा आएका छन् । स्वतन्त्र भन्दै सञ्जालरूपी संगठन निर्माणको पहल आफैँमा विरोधाभास भएन र ? सबै रङहरू एकै ठाउँमा मिसाएर घोल्दा कस्तो रङ बन्छ, यकिन हुन्न । विचार, सिद्धान्त र संगठनविहीनहरूको सम्मेलनको दृश्य कस्तो रङ र ढंगमा देखा पर्ला ? अनेक रङ र ढंगका स्वतन्त्रहरू सबैलाई जोड्ने जर्ती विचार कुन पृष्ठभूमिबाट प्राप्त भयो ? बुिझ्सक्नु छैन । मेरी शेलीको उपन्यासको प्रमुख पात्र भिक्टोरले धेरै लासको टुक्रा जोडेर भगवान् बनाउन खोज्दा लास जीवित त बन्यो, तर विध्वंसकारी स्वरूपमा सर्जक आफैँलाई सिध्याउने डरलाग्दो जीव बन्यो । बाबुराम भट्टराईले खसआर्य, मधेसी र जनजाति जोडेर नयाँ शक्ति बनाउने पहल त गरे, प्रभावकारी बन्न सकेन । सिद्धान्तभन्दा माथि देशको नारा घन्काउने रवीन्द्र मिश्र विचारविहीन बन्दै जाँदा उनकै शब्दमा आफू त खुइलिए, साझा पार्टी पनि सिध्याए । विचारविहीन ढंगले म नै सबथोक हुँ भन्ने शैलीमा अघि बढेमा रवि लामिछाने पनि मिश्रझैँ खुइलिने निश्चित छ । देशमा वैदेशिक हस्तक्षेप दिनप्रतिदिन बढ्दो छ । यस्तो समय बृहत् सामुदायिक शक्तिसम्पन्न राजनीतिक संगठन बलियो बन्नु पर्दैन ?  

स्वतन्त्र कि षड्यन्त्र : मार्क्स, लेनिन, माओदेखि एन्टोनियो ग्राम्सीभन्दा पछिसम्मका सबैजसो विश्वविख्यात चिन्तक अभियन्ता संगठनका पक्षधर हुन् । यद्यपि तिनले विचारविहीन संगठनको वकालत कदापि गरेनन् । संगठनविना विचार बाँच्दैन । विचारविना संगठन बन्दैन । पुँजीवादका पृष्ठपोषकहरू व्यक्तिवादमा विश्वास गर्छन् तर बहुराष्ट्रिय संगठन भने उनीहरू नै बनाइरहन्छन् । आफ्ना स्वार्थी चाहना पूर्तिका लागि पनि सांगठानिक शक्तिलाई प्रयोग गर्नेहरू मानव सभ्यताको विकासक्रदेखि अद्योपान्त अस्तित्वमा देखिन्छन् । सीमित सम्भ्रान्तको स्वार्थ केन्द्रीत संगठित शक्तिलाई तोड्न तथा आमउत्पीडितको अधिकार रक्षाका लागि पनि दमित उन्मुक्तिमैत्री संगठन अपरिहार्य देखिन्छ । संगठित शक्तिको हैकमलाई तोड्न उत्पीडितहरू अझ थप संगठित बन्नैपर्छ ।

स्वतन्त्र तथा स्वाधीन बौद्धिक वर्गले उनीहरूलाई संगठित गर्न सघाउनुपर्छ । उनीहरूको सामूहिक शक्तिलाई फुटाउन सक्रिय प्रतिक्रियावादी शक्तिविरुद्ध सामूहिकतावादी चेतना उनीहरूमा भर्नुपर्छ । त्यसका लागि उत्पीडित समुदायलाई संगठित गर्दै सामूहिक हितमैत्री चेतना भर्न संगठन नै चाहिन्छ ।  गौतम बुद्धले आफ्ना विचार विस्तार गर्न संसारमा सबैभन्दा पहिले संघको संस्थापना गरेका थिए । बुद्धले विकास गरेको संघको परिकल्पना आज विश्वव्यापी रूपमा व्यावहारिक हिसाबले स्थापित छ । यदि बुद्धले संघ निर्माण नगरेका भए बौद्ध दर्शन र त्यसका अनुयायीहरूलाई अहिले बत्ती बालेर खोज्दा पनि भेट्न मुस्किल हुन्थ्यो होला ।

बुद्धलाई सामूहिक शक्तिमार्फत मात्रै शान्ति र प्रेमको सन्देश फैलाउन सकिने बोध आजभन्दा सत्ताइस सय वर्षपहिल्यै भएको थियो । शताब्दी व्यक्ति बन्न सफल माक्र्सको विचार सिद्धान्त पनि यदि विश्वभर संगठनात्मक ढंगले नबोकी विस्तारको प्रयास गरेको भए, किताबका पानाभित्रै धमिरा लागेर सिद्धिने थियो । पुँजीवादी विचारलाई विस्तार गर्न पनि ठुल्ठूला बहुराष्ट्रिय संगठन अहिले सक्रिय देखिन्छन् । एमसिसी वा बिआरआई जस्ता पुँजीवादी परियोजना परिचालिन गर्न त कत्राकत्रा सांगठनिक शक्ति खर्चिएका दृश्यहरू हाम्रै आँखाअघि सलबलाइरहेका छन् । सामाजिक सञ्जाल, भिजुअल प्लेटफर्म, मिडिया आदि पनि पुँजीवादी सांगठनिक शक्तिकै स्रोत हुन् । अब भन्नुस्, तहगत हैकम तोड्न उत्पीडित समुदायले अझ कति शक्तिशाली नवीन संगठन निर्माण गर्नुपर्ला ? स्वतन्त्ररूपी एक विचारविहीन पिउसोले साम्राज्यवादी सूक्ष्म संरचनाहरू तोड्न सक्ला त ? 

कुनै पनि विचार संगठन विस्तारसँग बौद्धिक बहससम्म फैलिएपछि सिद्धान्तका रूपमा परिपक्व बन्छ । नवीन समयले स्थापित विचारलाई विस्थापित र नयाँ विचारलाई स्थापित बनाइदिन सक्छ । समय सान्दर्भिक विशेष विचार विचारकको मृत्युपश्चात् पनि प्रसिद्ध बन्न सक्छ । जसरी ग्राम्सीका विचार उनको मृत्यु भएको दशकौँपछि विश्वव्यापी बन्न पुग्यो । जेलजीवन भोग्दै गर्दा व्यक्त भएका टुक्राटाक्री ग्राम्सीका विचार विश्वविद्यालय र बौद्धिक जगत् जताततै फैलियो । उनको मृत्युपश्चात् पनि उनको विचारका आधारमा बौद्धिक आन्दोलन हाँक्ने संगठन विश्वभर देखा परे । शारीरिक रूपमा फरक क्षमता भएकाजस्ता देखिए तापनि ग्राम्सी संगठनमैत्री विचारकै कारण मृत्युपछि पनि निकै सम्मानित स्थानमा उभिएका छन् । ग्राम्सी उत्पीडित समुदाय अझ बढी सशक्त ढंगले संगठित बन्नुको विकल्प छैन भन्छन् । शक्तिविहीन समुदायमैत्री बौद्धिक वर्ग उत्पीडितहरूलाई संगठित गर्नका लागि समर्पित हुन्नन् भने उनीहरू बौद्धिक भूमिका निर्वाहमा चुकेका विवेकहीन प्राणी मान्छन् ग्राम्सी । अब तपाईं आफै भन्नुस्, विचारविहीन स्वतन्त्रको अन्धाधुन्ध वकालतकर्ता षड्यन्त्रकारी नभए को हुन् ?    

निष्कर्ष : संगठनलाई भ्रष्ट हुनबाट बचाई शुद्ध राख्न सधैँ बफादर होइन, विद्रोही समर्थकको खाँचो हुन्छ । तब विचारको विकल्प विचार नै बन्छ, सिद्धान्तको विकल्प सिद्धान्तै । संगठनको विकल्प पनि संगठन नै हो । शक्तिशाली संगठन विचारविहीन बन्यो भने समर्थकले छाड्दै जान्छन् । अन्ततः शक्ति र सत्ता पनि गुम्छ । सानो दल विचारमा बलियो बन्दै गएमा संगठन बढ्दै जान्छ, जसरी रानो मौरीको वरिपरि अनगिन्ती कर्मशील मौरी आकर्षित हुन्छन् । बुद्धदेखि ग्राम्सीपछिका चिन्तकसम्म सबै वैचारिक संगठनमै विश्वास गर्छन् । व्यक्तिवादको वकालतकर्ता पुँजीवादका पृष्ठपोषकहरू सबैभन्दा बढी बहुराष्ट्रिय संगठनका भक्त किन छन् ? यसर्थ, अहिले त अझ पूरा प्रकृतिले नै जैविक विविधतामैत्री विचारसहित सहअस्तित्व रक्षामा समर्पित नवीन संगठनहरू खोजिरहेको छ । विचारविहीन स्वतन्त्र राजनीतिक व्यक्तिले विश्व कहाँकहाँ बदलेछन्, देखाइदिनुस् त विद्वान् मित्रहरू ! शक्ति राष्ट्रबीच बढ्दो टकरावले भूराजनीतिक भड्खालोतिर नेपाललाई धकेलिरहेको समयमा संगठित दलहरू ‘लेथार्जिक’ (लोसे) र स्वतन्त्रहरू सञ्जालसहित सलबलाउनु समाधानमैत्री सुखद सन्देश हो त ?