१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:१२:००
Read Time : > 1 मिनेट
साहित्य

एनपी साउदका ५ प्रिय पुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:१२:००

विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका कांग्रेस नेता एनपी साउद अध्ययनशील छन् । उनी फुर्सद निकालेरै पुस्तक पढ्छन् । बजारमा आएका नयाँ पुस्तकबारे जानकारी राख्छन् । ‘मलाई गफाडी नेताका रूपमा चिनेका हुन सक्छन्,’ नयाँ पत्रिकासँग उनले भने, ‘म पार्टीको काम, घरपरिवार, साथीभाइबाट ओझेल परेर पढ्छु, फुर्सद मिल्नेबित्तिकै वा एकाग्र हुन सक्ने वातावरण पायो कि पढ्न बस्छु ।’ सबै सुतिसकेपछि आफू राति उठेर एकान्तमा पढ्न रुचाउने उनले सुनाए । प्रायजसो बायोग्राफी, राजनीतिक र इतिहासबारे लेखिएका पुस्तक नेता साउदको रोजाइमा पर्ने गरेका छन् । उनलाई मन पर्ने पाँच पुस्तक यस्ता छन् :

रुसोको आत्मस्वीकारोक्ति 
‘आत्मस्वीकारोक्ति’ रुसोको आत्मवृत्तान्त हो । यो पुस्तकमा रुसोले प्रस्तुत गरेको यथार्थ पक्ष निकै सुन्दर छ । रुसोले कतै नलुकाई, कुनै बनावटी कुरा नगरी पुस्तकमा आत्मवृतान्त प्रस्तुत गरेका छन् । आफैँलाई इमानदारिताका साथ प्रस्तुत गर्न ठूलो नैतिक बल चाहिन्छ । रुसोले त्यो आँट गरेकाले पुस्तक स्मरणीय र पठनीय भएको हो । त्यसकारण लेखकका रूपमा रुसोको नैतिक बल उच्च छ ।

बिपीको आत्मवृत्तान्त
बिपीको आत्मवृत्तान्त पनि मलाई औधी मन परेको पुस्तक हो । मैले पहिलो पाना पल्टाएपछि पढिनसकी नछोडेको पुस्तक यो पनि हो । आत्मबल भएकाले मात्रै आत्मवृत्तान्त लेख्न सक्छन् । बिपीसँग निकै ठूलो आत्मबल थियो । आत्मवृत्तान्तमा बिपीले समकालीन र आधुनिक इतिहास पनि चित्रण गरेका छन् । यो पठनयोग्य गतिलो पुस्तक हो । सबैले एकपटक पढ्नैपर्ने पुस्तक पनि हो ।

पर्ल एस बकको द गुड अर्थ
प्रकृतिको सुन्दर र सौम्य वर्णन यदि कहीँ पढ्नु छ भने त्यो पर्ल एस बकको ‘द गुड अर्थ’मा पाइन्छ । यो पुस्तकमा प्रकृतिको सजीव वर्णन छ । त्यही कारण यो मेरो सम्झनामा बसिरहेको हो । त्यति मात्र होइन, पुस्तकले किसानको असली मिहिनेतको चर्चा इमानदारीपूर्वक गरेको छ । आफ्नो माटो र भूमि कति महत्वपूर्ण छ भन्ने पुस्तकमा वर्णन गरिएको छ ।

सिल्भा लेभीको नेपाल
फ्रान्सेली इतिहासकार सिल्भा लेभीको ‘नेपाल’ पनि मेरो स्मरणमा बसिरहेको पुस्तकमध्येको हो । करिब सय वर्षअघि नेपालबारे लेखिएको यो सम्भवतः पहिलो पुस्तक हो । पुस्तकमा तत्कालीन काठमाडौं उपत्यकाको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक मूल्यांकन र विवेचना उल्लेख छ । लेखकले जुन किसिमले नेपालबारे वर्णन गरेका छन्, त्यो अद्वितीय छ । त्यसवेलाको नेपाल बुझ्न यो पुस्तक पढ्नैपर्ने हुन्छ ।
 
जोन रिडको टेन डेज द्याट सुक द वल्र्ड
अमेरिकी लेखक जोन रिडले रुसमा भएको अक्टोबर क्रान्तिका बारेमा यो पुस्तकमा मिहिन चित्रण गरेका छन् । रुसमा कसरी कम्युनिस्ट क्रान्ति सम्पादन भएको थियो र लेनिनले कसरी तत्कालीन रुसको राजनीतिक परिस्थितिलाई आफ्नो अनुकूल बनाएर हातमा सत्ता लिए भन्ने चर्चा पुस्तकमा सजीव ढंगले गरिएको छ । पुस्तक राजनीतिमा चाख राख्ने र कम्युनिस्टलाई बुझ्न चाहनेका लागि असाध्यै उपयोगी छ ।