मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १२ आइतबार ०९:३६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाँकेमा लागुऔषध प्रयोगकर्ता बढे, पक्राउ पर्ने घटे

Read Time : > 1 मिनेट
२०७९ असार १२ आइतबार ०९:३६:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका

बाँकेमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गए पनि पक्राउ पर्नेको संख्या घटेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको ७ असारसम्म १० महिला र एक सय ७५ पुरुष गरी एक सय ८५ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारकर्ता पक्राउ परेका छन् । गत आवमा ११ महिला र एक सय ८५ पुरुष गरी एक सय ९६ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये गत वर्ष एक सय २६ जनाविरुद्ध मुद्दा चलाइएको थियो । चालू आवको ७ असारसम्म एक सय १२ जनाविरुद्ध मुद्दा चलाइएको लागुऔषध दुर्व्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका संयोजकसमेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका भएको बताउँदै उनले चालू आवको ७ असारसम्म ८९०.९९ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको जानकारी दिए । गत आवमा बाँकेमा ५७० ग्राम ब्राउन सुगर बरामद भएको थियो । 

चरेस, अफिम, गाँजा र कोरेक्स बरामद कम भए पनि नाइट्रोजन भ्याट र ट्रामाडोल बरामद बढेको उनले बताए । केसीले चालू आवमा चार हजार २५ ट्याब्लेट नाइट्रोजन भ्याट र दुई हजार चार सय ३० ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी दिए । गत आवमा एक हजार तीन सय १० ट्याब्लेट नाइट्रोजन भ्याट र एक हजार ७० ट्याब्लेट ट्रामाडोल बरामद भएको थियो । 

लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएपछि पुनर्स्थापना केन्द्र बढाइए
बाँकेमा लागुऔषध पुनर्स्थापना केन्द्रको संख्या बढेर २० पुगेको छ । सहरसँगै गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएपछि कोहलपुर, खजुरा, हवल्दारपुरलगायतका ठाउँमा पनि पुनर्स्थापना केन्द्र सञ्चालनमा आएका छन् । 

चालू आवको ७ असारसम्म यहाँका पुनर्स्थापना केन्द्रमा सात सय ९४ जना पुरुष र ९३ महिला गरी आठ सय ८७ जना लागुऔषध प्रयोगकर्ता भर्ना भएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी केसीले पाँच सय तीन पुरुष र ७२ महिला गरी पाँच सय ७५ जना निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार तीन सय १२ जना लागुऔषध प्रयोगकर्ता अहिले पनि उपचाररत छन् । 

गृह मन्त्रालयले नेपालगन्जमा स्थापना गरेको लागुऔषध पुनर्स्थापना केन्द्रमा ७८ जनाले प्रत्यक्ष र ४० जनाले अप्रत्यक्ष सेवा लिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले बताए । उनले ६ पुरुष र तीन महिला उपचाररत रहेको बताउँदै ११ जना डिस्चार्ज भएको जानकारी दिए । 

बाँकेमा ८० जनाले मेथाडोन पद्धतिबाट लागुऔषध सेवन गरिरहेका छन् । चेन्ज टिमसँगको सहकार्यमा भेरी अस्पतालका चिकित्सकको प्रत्यक्ष निगरानीमा मेथाडोन पद्धतिबाट लागुऔषध सेवन गरिरहेको चेन्ज टिमकी अध्यक्ष इन्दिरा जोशीले बताइन् ।