१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ असार १२ आइतबार ०७:४९:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

किताब नपढी  निदाउनै सक्दिनँ (भिडियो)

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ असार १२ आइतबार ०७:४९:००

मैले पछिल्लो समय पढेको किताब ‘भोल्गादेखि गङ्गासम्म’ हो । लेखकको नाम ठ्याक्कै याद भएन । यो विदेशी किताब हो, जसलाई हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो । किताबमा मानवजातिको उत्पत्ति र सभ्यताको विकासक्रमका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको छ । मानव युगदेखि गङ्गा सभ्यतासम्म किताबमा भेटिन्छ । यो किताब पढ्दा निकै मजा लागेको थियो । यो किताब पढेपछि मैले धेरै नै नयाँ कुरा थाहा पाएँ । 

आजभोलि मलाई राति सुत्नुअघि किताब पढ्ने आदत बसेको छ । यही कारण कतै पाहुना लाग्न जाँदा पनि किताब बोक्छु । एक पेज मात्रै भए पनि नपढी सुत्दिनँ । र, फुर्सद हुनासाथै किताब पढ्ने बानी लागेको छ । 

इन्ट्रेस्टिङ किताब आफैँ किन्छु
मलाई ‘इन्ट्रेस्टिङ’ लागेको किताब किनेरै पढ्छु । कतिपय किताब साथीहरूको सिफारिसका आधारमा पनि किन्छु । बजारमा हल्लाखल्ला भएका किताब पनि किनेर पढ्ने गर्छु । तर, मलाई भाषाचाहिँ मिठो चाहिन्छ । भाषा मिठो भएका किताब पढ्न मन लाग्छ । 

साथीहरूसँग आदानप्रदान गरेर पनि किताब पढ्ने गर्छु । मेरा अधिकांश साथीहरू सिनेमा क्षेत्रकै हुनुहुन्छ । उहाँहरूले मेरा लागि कुन किताब उपयोगी छन्, सिफारिस गर्नुहुन्छ । उहाँहरूले आफैँ पनि दिनुहुन्छ ।

पढिसकेको किताब साथीहरूलाई पनि दिन्छु
मेरा थुप्रै किताब साथीहरूले पढ्न लगेर फर्काएका छैनन् । यही कारण आफूले नपढी कसैलाई पनि किताब दिन मन लाग्दैन । पढिसकेको किताबचाहिँ दिने गरेको छु । हुन त मैले पनि साथीहरूको किताब फिर्ता गरेको छैन । लिनै आए भने त्यो किताब फर्किन्छ, नत्र फर्किंदैन । त्यसैलै आफ्नै साथी सर्कलसँग मात्रै किताब आदानप्रदान गरेर पढ्ने गर्छु । पढ्नै मन लागेको किताबचाहिँ आफैँ किनेर ल्याउँछु । 

मन परेको किताब : घुम्ने मेचमाथि अन्धो मान्छे
मलाई मन परेको किताबमा भूपि शेरचनको कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ हो । यो किताब पढेर कहिल्यै धित मर्दैन । किताबले मानव जीवनमा नयाँ आयाम थपिदिन्छ । हरेक किताबले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । मेरो जीवनमा प्रभाव परेका त्यस्तै थुप्रै किताब छन् । त्यो किताबको लिस्ट लामै छ । 

एक–दुई पेज पढेर छाडेका धेरै किताब छन्
एक–दुई पेज पढेर छाडेका किताब पनि धेरै छन् । कतिपय किताब  पढ्दापढ्दै कसैलाई उपहार दिऊँजस्तो लाग्छ । ‘इन्ट्रेस्टिङ’ किताबहरू नसकी नउठौँ जस्तो पनि लाग्छ । तर, मैले एकै रातमा कुनै उपन्यास वा कथा सक्ने गरी पढेकोचाहिँ छैन । नारायण वाग्लेको ‘पल्पसा क्याफे,’ बुद्धि सागरको ‘कर्णाली ब्लुज’लगायत किताबहरू नसकी छाडेको छैन । 

हिन्दी किताब पनि पढ्छु । अंग्रेजी किताब त्यति पढ्ने बानी छैन । आफूलाई रुचि नेपाली भाषा र हिन्दी भाषाका किताबमै छ । गुरुकुलमा रहँदा बढीजसो हिन्दी किताबहरू पढेँ । मैले पढ्न बाँकी किताब धेरै छन् । कहिले काममा व्यस्त भएपछि किताब पढ्न छुट्छ । किनभने काम गर्दा काममा मात्रै फोकस हुनुपर्छ । हामी कलाकारले किताब पढ्न अति आवश्यक हुन्छ । किताबले ज्ञानको दायरा फराकिलो बनाइदिन्छ ।