१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार ७ मंगलबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ४ मा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
२०७९ असार ७ मंगलबार १३:४६:००

इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन्। कपनको साततलेस्थित खुला सडकमा मंगलबार बिहान एक समारोहबीच पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन्।

काठमाडौं ४ मा हाल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सांसद रहेका छन्। थापालाई चुनौती दिँदै पोखरेलले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले भविष्यमा नतिजा जस्तोसुकै आए पनि राजनीतिमा आफू नहार्ने जिकिर गरे। ‘किनकि यसका लागि मसँग योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक छ,’ उनले भने,‘मेरो टिमले विगत पाँच वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुशासन तथा विकासमा अध्ययन, अवलोकन तथा अनुभव गरिरहेको छ।’

यस क्षेत्रमा विद्यमान समस्याहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडक/ट्राफिक व्यवस्थापन, ढल तथा डुबान, पुल तथा खोला/खहरे व्यवस्थापनलगायतका समस्याको एउटा मार्गचित्र तयार गरेर समाधान खोज्ने उनको प्रतिबद्धता छ। आमनागरिक र विषयविज्ञसँगको सहकार्यमा समाधान खोज्ने उनको योजना छ।

देशका लागि दश विकल्प, अब निर्विकल्प भन्ने सोचका साथ चाँडै घोषणापत्र सार्वजनिक गर्ने पोखरेलले बताए। ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प होइन,’ उनले भने, ‘आजदेखि सुरुवात भएको छ।’

उम्मेदवारी घोषणा कार्यक्रममा इन्जिनियर पोखरेललाई समर्थन जनाउन अभिनेता आर्यन सिग्देल, गायक मानस राजलगायत विभिन्न क्षेत्र, प्रबुद्ध र विज्ञ व्यक्तित्वहरूको सहभागिता थियो।