१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ७ मंगलबार ०८:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी एकताका लागि वामदेव फेरि अग्रसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ७ मंगलबार ०८:५७:००

दबाब दिन राष्ट्रिय भेला बोलाइयो 

एमाले उपाध्यक्षबाट राजीनामा दिएर निष्क्रिय रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गरी एकताका लागि दबाब दिन राष्ट्रिय भेला बोलाएका छन् । नेकपा राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आगामी ११ असारमा ललितपुरको सिद्धार्थ कटेज धोबीघाटमा अभियानको राष्ट्रिय भेला बोलाएका हुन् । 

गौतमले दबाब अभियानमा रहेका ७७ वटै जिल्लाका प्रतिनिधिलाई भेलामा उपस्थितिका लागि सूचित गरेका छन् । भेलामा उनले मुलुकको राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेकाले राष्ट्रिय हितका लागि फेरि वाम पार्टीहरू एकै ठाउँ उभिनुपर्ने स्थिति आएको भन्दै नेकपा ब्युँताउने गरी पार्टी एकताका लागि प्रस्ताव राख्ने तयारी गरेका छन् । ३ जेठ ०७५ मा एमाले–माओवादी एकीकरणलाई निष्कर्षमा पुर्‍याउन तत्कालीन एमाले उपाध्यक्षको हैसियतमा गौतमले अग्रसरता देखाएका थिए । 

‘भेलामा सबै जिल्लाबाट प्रतिनिधिलाई काठमाडौं बोलाइएको छ,’ गौतमका स्वकीय सचिव दीपक टमाटाले नयाँ पत्रिकासँग भने, ‘उहाँले राष्ट्रिय भेलाबाट फेरि पार्टी एकताका निम्ति पहल लिनुहुनेछ । त्यस दिशामा भेलामा विमर्श गर्ने तयारी छ ।’ 

अघिल्लो भदौमा एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि गौतमले नेतृत्व गरेको राष्ट्रिय एकता अभियान निष्क्रिय थियो । ६ सय सदस्यीय केन्द्रीय कमिटी र एक सय ७५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा रहेका थुप्रै नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमाले विभाजनपछि तितरबितर भएका थिए । कतिपय नेता–कार्यकर्ता एमाले र कतिपय एकीकृत समाजवादीतिर लागेका थिए । तर, अहिले उनले अभियानका नेता–कार्यकर्तालाई जागृत गर्दै भेला बोलाएका छन् ।

नेकपाभित्र अन्तरविरोध चर्किंदै गएका वेला ०७७ माघमा गौतमले यस्तै प्रकृतिको दबाब भेला राखेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपामा विभाजनको प्रक्रिया सुरु भएपछि गौतम तटस्थ बसेका थिए । यद्यपि, उनले संसद् विघटनको विरोध गरे । 

०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि उनी निष्क्रिय नै बसे । ०७८ भदौमा एमाले विभाजनपछि गौतम एकीकृत समाजवादीतिर लाग्ने चर्चा चलेको थियो । तर, एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादको सिद्धान्त त्यागेको भन्दै विभाजनबाट बनेको पार्टीतिर लागेनन्, बरु एमाले उपाध्यक्षबाट मात्र होइन, पार्टी सदस्यबाटै राजीनामा दिएर निष्क्रिय बसे ।