मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिवाकर पन्त
२०७५ चैत ४ सोमबार ०६:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

फेक रेस्क्यु : युरोपबाट नेपाल आउने पर्वतारोहीको बिमा गर्न आनाकानी

यसरी हुन्थ्यो फेक रेस्क्यु

Read Time : > 2 मिनेट
दिवाकर पन्त
२०७५ चैत ४ सोमबार ०६:५१:००

नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् । विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले नेपालमा हुने गरेको फेक रेस्क्युलाई कारण देखाउँदै पर्वतारोहीको बिमा गर्न अस्वीकार गरेको उनले जानकारी दिए । उनले भने, ‘पर्वतारोहणअघि पर्वतारोहीले अनिवार्य बिमा गर्नैपर्छ । तर, आउँदो सिजनमा हिमाल आरोहण गर्न नेपाल आउन लागेका आरोहीको बिमा गर्न ती देशका बिमा कम्पनीहरूले गाह्रो मानिरहेको पर्वतारोहीले हामीलाई भनिरहेका छन् ।’ 

पर्वतारोहीहरूले आफ्नो देशका कम्पनीले बिमा गर्न नमानेको भन्दै नेपालमा बिमा गर्न सकिने–नसकिने विषयमा सोधपुछ गरिरहेको पर्वतारोहण पर्यटन व्यवसायी ठाकुरराज पाण्डेले बताए । उनले भने, ‘नेपालमा पर्यटक उद्धारका नाममा हुने ठगीलाई लिएर बिमा कम्पनीहरू बिमा गर्न तर्सेको देखिन्छ ।’ गत वर्ष अन्तर्राष्ट्रियस्तरमा फेक रेस्क्युले चर्चा पाएपछि सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । सो समितिले केही अस्पताल, ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीलगायतलाई कारबाही गर्ने सिफारिस गरेको थियो ।   पर्यटकलाई बिरामी बनाएर उद्धारका नाममा पैसा अपचलन भएको विषयमा सरकारले गठन गरेको कार्यदलले कारबाहीको सिफारिस गर्दासमेत कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरू पर्वतारोहीको बिमा गर्न हच्किएको व्यवसायीको भनाइ छ ।

महावाणिज्यदूतहरूको गुनासो
नेपालमा हुने गरेको फेक रेस्क्युका कारण विदेशी बिमा कम्पनीहरू पछि हटेका विषयमा महावाणिज्यदूतहरूको संस्था अननरी काउन्सिल कर्प्स नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जानकारी गराएका छन् । नेपालमा आफ्नो दूतावास नभएका ५० देशले महावाणिज्यदूत नियुक्त गरेका छन् । काउन्सिल कर्प्स अफ नेपालका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले आरोहीले बिमा गर्नका लागि भोगेको समस्याबारे मन्त्री ज्ञवालीलाई जानकारी गराउँदै समस्या समाधानका लागि सरकारलाई पहल गरिदिन आग्रह गरको बताए । तर, मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले नक्कली उद्धारबारे गरिएको अध्ययनको कार्यान्वयन विभिन्न निकायबाट भइरहेकाले बिमा कम्पनीहरूले भनेजस्तो समस्या नभएको बताए । उनले भने, ‘आरोहीका लागि बिमा नहुने भन्ने नै हुँदैन । कतै समस्या होलान्, तर यो सिजनमा फेक रेस्क्युका नाममा गलत काम हुनेछैन ।’

आरोही र बिमा
 हिमाल आरोहणका क्रममा कुनै दुर्घटना भई आरोहीको उपचार गर्न या निधन भएमा उनका परिवारलाई क्षतिपूर्ति दिन बिमाको व्यवस्था गरिएको हो । फेक रेस्क्युको घटना सार्वजनिक हुनुअघि नेपालमा हिमाल आरोहण गर्न आउने आरोहीले अत्यन्त थोरै प्रिमियममा बिमा गर्न सक्थे । तर, अहिले बिमा कम्पनीले यस्ता आरोहीको प्रिमियम रकम बढाएका छन् । बेलायतलगायतका युरोपेली देशमा फेक रेस्क्युको प्रकरण आउनुअघि प्रतिओरोहीकोे ५० देखि एक सय युरोसम्ममा बिमा हुने गरेको थियो । तर, अहिले कम्तीमा पनि ३ देखि ४ हजार युरो बिमाको प्रिमियम हुने गरेको पर्यटन व्यवसायी ठाकुरराज पाण्डेले बताए । फेक रेस्क्युकै कारण पर्वतारोहीको प्रिमियम ह्वात्तै बढेको तथा नेपालको बदनाम भएको व्यवसायीले बताए ।  

सार्वजनिक भएन अध्ययन प्रतिवेदन
गत वर्षको फेक रेस्क्युका विषयमा अन्तर्राष्ट्रिय  चर्चा चलेपछि नेपाल सरकारले अध्ययन समिति गठन गरेको थियो । सो समितिले पनि फेक रेस्क्यु प्रकरणमा केही अस्पताल, हेलिकोप्टर सेवा प्रदायक, ट्रेकिङ एजेन्सीलगायतलाई कारबाहीको सिफारिस गरेको थियो । तर, अहिलेसम्म उक्त समितिको अध्ययन प्रतिवेदन र सिफारिस सार्वजनिक भने गरिएको छैन ।  

यसरी हुन्थ्यो फेक रेस्क्यु
पर्वतारोहणमा जाने पर्यटक सामान्य बिरामी हुँदा पनि उसलाई अत्याएर उद्धार गर्नुपर्छ भन्नेसम्मका गलत काम व्यवसायीले गर्ने गरेको सरकारी समितिले ठहर गरेको हो । त्यसैगरी, कतिपय घटनामा त पर्यटकलाई बिरामी हुने खानेकुरा खुवाएर हेलिकोप्टर उद्धारको वातावरण पर्यटन व्यवसायीले बनाउने गरेको समितिले ठहर गरेको थियो । त्यस्ता बिरामीलाई काठमाडौं ल्याएर महँगा अस्पतालमा भर्ना गरी  महँगो बिलमा उपचार गरी कमिसन खाने गरेको पाइएको थियो । पर्यटक बिरामी भएर उद्धार गरेर प्राप्त हुने रकम पर्यटन व्यसायी, हेलिकोप्टर व्यवस्था गर्ने एजेन्ट, हेलिकोप्टर कम्पनी र उपचार गर्ने अस्पतालहरू आपसमा मिलेमतो गरेर बिमा रकम कमिसनका रूपमा बाँडचुँड गर्ने गरेको पाइएको थियो । त्यति मात्र होइन, एउटै हेलिकोप्टरबाट चार–पाँचजना पर्यटकलाई उद्धार गर्ने, तर बिल भने प्रत्येक पर्यटकको छुट्टाछुट्टै उद्धार गरेको भनी बिमा कम्पनीबाट रकम भर्पाइ गर्ने गरेको समितिको ठहर छ ।