मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ६ सोमबार ०८:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा निर्वाचन आज

Read Time : > 1 मिनेट
२०७९ असार ६ सोमबार ०८:४४:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आज (सोमबार) हुँदै छ । एन्फा निर्वाचनको अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजीव पौडेलले पनि उम्मेदवारी दिएका छन् । २१ सदस्यीय कार्य समितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिलासहित २१ सदस्यीय कार्य समिति बन्नेछ । 

शेर्पा एन्फाका वर्तमान अध्यक्ष तथा नेम्वाङ वरिष्ठ उपाध्यक्ष हुन् । चार वर्षअघिको निर्वाचनमा दुवै एकै प्यानलबाट निर्वाचनमा होमिएका थिए । यसपटकको निर्वाचनमा यी दुवै फरक गुटमा छन् । एन्फा निर्वाचनमा शेर्पा र नेम्वाङ प्यानेलले विजयी हुने दाबेदारी प्रस्तुत गरिरहेका छन् । २२ वैशाख ०७५ मा शेर्पाले मणि कुँवरलाई हराउँदै अध्यक्ष बनेका थिए । 

चार वर्षअघि सबै उम्मेदवारको मुख्य नारा ‘चेन्ज एन्फा’ रहेको थियो । यसपटक भने खासै नारा कुनै उम्मेदवारले बोकेका छैनन् । नारा बिर्सेर शेर्पा र नेम्वाङ आपसी ‘वाक् युद्ध’मा छन् । एन्फा चुनावमा ८७ मत रहेको छ । निर्वाचनमा ४५ जिल्लाका प्रतिनिधित्वले मतदान गर्न पाउनेछन् । तर, सिन्धुली र भक्तपुरले निर्वाचनमा भोट हाल्न पाउनेछैनन् । निर्वाचनमा १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका चार क्लबले पनि मताधिकार पाएका छन् । 

महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । एन्फा निर्वाचनमा दुवै प्यानलका पदाधिकारीले तयारी पूरा भइसकेको जनाएका छन् । अध्यक्षका दाबेदार शेर्पाले अघिल्लो चार वर्षमा गर्न नसकेको कामलाई आगामी वर्ष पूरा गर्ने जनाएका छन् ।नेम्वाङले पनि एन्फालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी अध्यक्षमा दाबेदारी दिइएको बताएका छन् । शेर्पाले एन्फामा थप एकपटक नेतृत्व सम्हाल्न पाउनुपर्ने माग राखेका छन् । ‘अघिल्लोपटक हामीले हाम्रा योजना पूरा गर्न पाएनौँ, अबको एक कार्यकालमा ती सबै योजना पूरा गर्ने लक्ष्य राखेका छौँ,’ अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदा शेर्पाले भने, ‘मलाई काम गर्नका लागि अझै एक कार्यकाल दिनुस् ।’ शेर्पाका प्रत्याशी नेम्वाङले एन्फाभित्रको भ्रष्टाचार र एकाधिकार समाप्त पार्न उम्मेदवारी दिनुपरेको बताए । 

‘भ्रष्टाचार नभएको भए एन्फामा आर्थिक नाकाबन्दी किन छ ?’ नेम्वाङले भने, ‘एन्फालाई स्वच्छ रूपमा अगाडि बढाउने योजना छ ।’ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली र नेम्वाङको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । 
चार उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ छन् । नेम्वाङतर्फ विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडाले उपाध्यक्षमा चुनौती दिनेछन् । यसैगरी, एन्फाको १३ खुला सदस्यमा दीपक थापा, प्रवीण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट, मनीष जोशी, सुरेन्द्र सिख्राकारलगायतले उम्मेदवारी दिएका छन् । 

निर्वाचन रोक्न अदालतले दिएन अन्तरिम आदेश
उच्च अदालत पाटनले एन्फाको निर्वाचन रोक्ने आदेश गर्न अस्वीकार गरेको छ । अधिवक्ता विष्णुप्रसाद तिवारीले एन्फा निर्वाचन रोक्न माग गर्दै उच्च अदालतमा रिट दिएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।