१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार ६ सोमबार ०७:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुरक्षित ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न सिक्दै प्रदेश १ का सांसद

Read Time : < 1 मिनेट
२०७९ असार ६ सोमबार ०७:४८:००

नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रूपमा इन्टरनेट तथा समाजिक सञ्जाल सञ्चालन सम्बन्धमा प्रदेश १ का सांसदहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ । आइतबार विराटनगरमा प्राधिकरणले इम्पावर ट्रेडिङ प्रालिको आयोजनामा प्रदेश सभाका सांसदहरूलाई एकदिने इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगबारे प्रशिक्षण दिएको हो । 

प्रशिक्षणमा ५० जनाभन्दा बढी सांसद र मुख्यमन्त्री राजेन्द्रकुमार राई र उनको सचिवालयका प्रतिनिधि सहभागी थिए । प्रशिक्षक ऋषिराम गौतमले सहभागी सांसदहरूलाई आफ्नो फेसबुक, ट्विटर र अन्य पेज मोबाइल र कम्प्युटरमा कसरी सुरक्षित ढंगले प्रयोग गर्ने भन्ने विधि सिकाएका थिए । मुख्यमन्त्री राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढंगले चलाउन नजान्दा ठुल्ठूला क्षति भोग्नुपर्नेदेखि गोपनीयतासमेत चोरी हुने भएकाले तालिम उपयोगी भएको बताए । 

प्राधिकरणका निर्देशक विजयकुमार रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेश सांसदलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल चलाउने तरिका सिकाउन थालेको जानकारी गराए । ‘हामीले प्रदेश १ बाट तालिम सुरु गरेका छौँ, यसलाई सातवटै प्रदेशमा सञ्चालन गर्नेछौँ ।’ 

तालिम संयोजक संस्था इम्पावर ट्रेडिङका निर्देशक शम्भु पहाडीले बढ्दो साइबर असुरक्षा र सोसल मिडियामा आउने गालीगलौज आदि अनेकौँ घटना दोहोरिन नदिन सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल सञ्चालन गर्ने सीप हासिल गर्नु अति आवश्यक भएकाले तालिमको सहजीकरण गरेको बताए । सांसदहरूले आफ्नो सामाजिक सञ्जाल वा इन्टरनेट ह्याक भएकोदेखि सुरक्षित पासवर्ड कसरी राख्ने, सामाजिक सञ्जाललाई सुरक्षित कसरी बनाउने र सामग्रीहरू के कसरी पोस्ट गर्ने र हटाउने भन्नेबारे जानकारी लिएका छन् ।