१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार ६ सोमबार ०६:०९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसपिपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने

अमेरिका भ्रमणमा राष्ट्रिय हितविपरीतका सम्झौता केही हुँदैनन् : प्रधानमन्त्री देउवा

Read Time : > 1 मिनेट
२०७९ असार ६ सोमबार ०६:०९:००

अमेरिकाले सम्झौताका लागि प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले एसपिपी राष्ट्रिय हितविपरीत रहेको निष्कर्षसहित यसबारे सर्वदलीय बैठकमार्फत साझा धारणा बनाउन प्रधानमन्त्री देउवालाई सुझाएका थिए । 

गठबन्धनका नेताले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर जनस्तरमा यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । ‘राष्ट्रिय हितविपरीतका सम्झौता अगाडि बढाउने काम कुनै पनि हालतमा हुँदैन । नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुँदैन । सर्वदलीय बैठकमार्फत धारणा बनाएर जान म तयार छु,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्रीले उपयुक्त समयमा सर्वदलीय बैठक बोलाउने भएका छन् । 

शनिबार कांग्रेसबाहेक गठबन्धनका अन्य दलले एसपिपी अस्वीकारबारे अमेरिकालाई पत्राचार गर्न र श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । आइतबार कांग्रेस नेतासहितको बैठकमा सर्वदलीय बैठक आह्वान गर्ने सहमति बनेको हो । ‘एसपिपी राष्ट्रिय हितविपरीत रहेको निष्कर्षसहित सम्झौता अस्वीकार गर्नेमा गठबन्धनमा शीर्ष नेताबीच एकमत देखियो,’ एक शीर्ष नेताले भने, ‘यस विषयमा धेरै शंका–उपशंकाको अवस्था रहिरहेकाले स्पष्ट पार्न सर्वदलीय बैठकमार्फत समान धारणा बनाउने निर्णय भएको छ । 

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा कुनै पनि सम्भौता नगर्ने गरी भ्रमण अगाडि बढाउने विषयमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताबीच सहमति बनेको छ । बैठकमा प्रधानमन्त्री देउवाले सम्झौता राष्ट्रिय हितमा नरहेकाले सम्झौता नगर्नेमा शीर्ष नेतालाई आश्वस्त पारेका थिए । 

बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा, गठबन्धनको निरन्तरता, जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनको परिणामलगाायतका विषयमा छलफल भएको छ । जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार बैठकमा जनमोर्चालाई भने आमन्त्रण गरिएको थिएन । बैठकमा एकीकृत समाजवादीले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । एकीकृत समाजवादीले २२ जेठमा पार्टीबाट सहभागी सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सूची बुझाएको छ । 

संसद् र संसदीय समितिमा जान प्रधानमन्त्रीको आनाकानी
प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को संसद् र संसदीय समितिमा जान आनाकानी गरेका छन् । विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिन संसद् नगएका प्रधानमन्त्री देउवाले आइतबार संसदीय समिति बैठक पनि छलेका छन् ।