१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार ५ आइतबार ०८:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

Read Time : > 1 मिनेट
२०७९ असार ५ आइतबार ०८:१८:००

सम्झौताको अवधि ६ महिना बाँकी रहँदा २४ प्रतिशत मात्र काम

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाउँदा नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम अलपत्र परेको हो । 

सडक स्तरोन्नतिका लागि श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले जिम्मा लिएको छ । जेभीले पेटी ठेकेदार कम्पनीमार्फत सडक स्तरोन्नतिको काम गरिरहेको थियो । गत फागुनदेखि नै सडक स्तरोन्नतिको काम ठप्प थियो । बीचमा केही समय पेटी ठेकेदारमार्फत काम भए पनि अहिले ठप्प रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताए । 

मुख्य ठेकेदार कम्पनीले काम गरेको पैसा नदिएपछि पेटी ठेकेदारले समेत काम रोकेका छन् । ३० पुस ०७९ मा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनासँग १ साउन ०७७ मा सम्झौता गरेको थियो । सम्झौताको अवधि अब ६ महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । हालसम्म २४ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

हालसम्म टेवा पर्खाल लगाउने काम मात्र भएको र सडकसम्बन्धी कुनै पनि काम हुन नसकेको योजनाका प्रमुख शाक्यले बताए । मुख्य ठेकेदार कम्पनी सडक स्तरोन्नतिका लागि सडक योजनासँग सम्झौता भएयता सम्पर्कविहीन हुँदै आएको छ । सडक योजनाले पटक–पटक पत्राचार गरे पनि सम्पर्कमा नआउने र सम्पर्कमा आए पनि कामलाई गति नदिने गरेको पाइएको छ । 

ठेकेदार कम्पनीसँग सम्झौता भएयता सडक योजनाले पत्र र टेलिफोनमार्फत सम्पर्कमा आउन पटक–पटक ताकेता गरेको छ । योजना प्रमुख शाक्यले भने, ‘हामीले कार्यालयमा सम्बन्धित व्यक्ति उपस्थित हुन धेरैपटक ताकेता गर्‍यौँ, तर आएका छैनन्, कारबाही प्रक्रिया अघि बढाउन थालेसँगै अहिले मेल गरेर हामी काम गर्छौं भनेर भनेको छ, चित्तबुझ्दो जवाफ दिएको छैन ।’

सडक स्तरोन्नतिको कामलाई निरन्तरता नदिने र सम्पर्कमा नआउने भएसँगै कारबाही प्रक्रिया अघि बढाएको शाक्यले बताए । ठेकेदार कम्पनीलाई काम गर्न सहजीकरणका लागि दिएको पेस्की रकम फिर्ता लिन बैंकसँग समन्वय भइरहेको उनको भनाइ छ । 

मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक स्तरोन्नतिका लागि ठेकेदार कम्पनीसँग सडक योजनाले एक अर्ब ४५ करोड १३ लाख ३९ हजार ८४ रुपैयाँको सम्झौता गरेको छ । सडक स्तरोन्नतिको कामलाई सहजीकरण गराउन योजनाले सुरुमै ३६ करोड ७१ लाख ३६ हजार ९९ रुपैयाँ मुख्य ठेकेदार कम्पनीलाई दिइसकेको छ । 

योजनाको कार्यालयले ठेकेदार कम्पनीलाई साढे १२ करोड पेस्कीबापत दिइसकेको छ । सडक स्तरोन्नतिको काम अलपत्र पारेसँगै ठेकेदार कम्पनीलाई कारबाही गरी नयाँ ठेक्काको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । 

वर्षायाम सुरुभएसँगै मैलुङ–स्याफ्रुबेँसी सडक हरेक वर्ष अवरुद्ध हुने गरेको छ । यो वर्षको वर्षायाम पनि सुरु भइसकेको छ । ठेकेदार कम्पनीले काम नगर्दा बाटो बन्द गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको शाक्यले बताए । 

राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाइ १९ किलोमिटर छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।