मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ असार ५ आइतबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ असार ५ आइतबार ०६:१४:००

डेढ वर्षयता स्वास्थ्य बिमा कार्यक्रमको रकम भुक्तानी नभएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका लागि बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले करिब आठ करोड रकम पुगिसक्दासमेत भुक्तानी नगरेको भन्दै अस्पतालले १५ असारदेखि लागू हुने गरी कार्यक्रम स्थगन गरेको हो । योसँगै त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने दैनिक लगभग चार सय बिरामी प्रभावित हुनेछन् । 

अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बिमा बोर्डले कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगन गरेको जानकारी गराएका थिए । बिमितको उपचारबापतको करिब आठ करोड रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध नगराएको अस्पतालले जनाएको छ । 

त्रिवि शिक्षण अस्पतालमा ०७७ मंसिरदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको थियो । सरकारले रकम भुक्तानी नगर्दा औषधि किन्न, उपकरण मर्मतसम्भार गर्न र खरिद, सेवामा खटिएका कर्मचारीको सेवा–सुविधामा समस्या भएका कारण बिमाबापतको उपचार सेवा तत्कालका लागि रोक्नुपरेको अस्पतालका कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । बिमा कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको हो । 

‘बोर्डको मापदण्डअनुसार विभिन्न प्रकृतिका बिरामीलाई उपलब्ध हुने सेवा–सुविधासमेत मेल नखाँदा अस्पतालले व्यहोर्न सक्ने अवस्था रहेन । स्वास्थ्य बिमा बोर्डले सरकारबाट पैसा नआएको भन्दै रकम भुक्तानी रोकेको छ । बोर्डले अस्पतालको उपचार खर्चअनुसार मापदण्ड बनाएर अघि बढेमा कार्यक्रम पुनः सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।

निर्देशक डा. काफ्लेका अनुसार बोर्डले निर्धारण गरेको बिमा भुक्तानीको रकम र अस्पतालमा हुने खर्च मेल नखाँदा समस्या भएको हो । सामान्यतया जटिल शल्यक्रियाका केसमा टिचिङ अस्पतालमा खर्च तुलनात्मक रूपमा बढी हुने, तर बिरामीले बिमा दाबी गर्दै तिर्न नमान्ने हुँदा अस्पतालले कार्यक्रम रोक्नुपरेको डा. काफ्लेले बताए । 

‘उपचारमा प्रयोग हुने औषधि बिमाको रकमअनुसार व्यवस्थापन गर्न सकिन्छ, तर अन्य उपचारमा सम्भव छैन । जस्तै प्रसूतिका लागि टिचिङसम्म पुग्ने केसहरू मुटु, मिर्गौला, कलेजो वा यस्तै अन्य समस्या भएका हुन्छन् । प्रसूतिको समयमा आमा वा बच्चालाई आइसियूजस्ता सघन उपचार अति आवश्यक हुन्छ, जसले गर्दा खर्च बढी हुन्छ । तर, खर्चअनुसारको भुक्तानी गर्न बोर्ड तयार दैखिँदैन,’ उनले भने । 

बिरामीको उच्च भिडभाड हुने टिचिङ अस्पतालमा बिमाअनुसार रकम भुक्तानी समयमै नहुँदा अन्य सेवा–सुविधासमेत प्रभावित भएकाले बिमा कार्यक्रम रोकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर चार सय ४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् ।