मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ४ शनिबार ०७:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले भुटानलाई ५० रनले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ४ शनिबार ०७:२५:००

नेपाली महिला टोलीले एसिसी महिला टी–२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले हराएको छ । प्रतियोगिताअन्तर्गत समूह बीमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनाएको थियो । मलेसियाको वान्गी मैदानमा ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा  ४४ रनमै समेटियो । 

नेपालको जितमा संगीता राईले घातक बलिङ गरेकी थिइन् । उनले २.५ ओभरमा केवल ६ रन दिँदै भुटानका चार खेलाडीलाई आउट पारिन् । नेपालका पहिलो तीन बलरले भुटानी ब्याट्सम्यानलाई चल्नै दिएनन् । कविता कुँवरले तीन ओभरमा तीन रन खर्चंदै तीन विकेट लिइन् । उनले आफ्नो स्पेलमा एक मेडन पनि राखिन् । 

यसैगरी, अस्मिना कर्माचार्यले सात रन दिँदै एक विकेट लिइन् । अलराउन्डर सीता रानामगरले आठ रन खर्चंदै दुई विकेट हात पारिन् । भुटानको ब्याटिङमा छिरिङ जान्गोमाले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले आफ्नो इनिङ्समा २८ बलको सामना गरिन् । भुटानका पाँच ब्याट्सम्यान एक रनमै आउट भए । 

ओपनर गान्वाङले १८ बलमा आठ रन बनाइन् । भुटानले पहिलो १० ओभरमा २४ रन बनाएको थियो । पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात कमजोर भएको थियो । नेपालले ४.४ ओभरमा तीन विकेट गुमाएर स्कोर बोर्डमा १२ रन मात्र जोडेको थियो । ओपनर बिन्दु रावल एक रन तथा ज्योति पाण्डे शून्य रनमा आउट भए । 

मुख्य ब्याट्सम्यान सीता रानामगरले १५ बलको सामना गरी चार रन मात्र बनाइन् । नेपालको ब्याटिङमा दुई साझेदारी महत्वपूर्ण रह्यो । इन्दु बर्मा र काजल श्रेष्ठले चौथो विकेटका लागि ३२ रनको साझेदारी गर्दै नेपाललाई १२–३ बाट ४४–४ को स्थितिमा राखे । इन्दुले २६ बलमा एक चौकाको सहयोगमा २० रन तथा काजलले ३५ बलमा एक चौका प्रहार गर्दै सर्वाधिक २६ रनको योगदान दिए । 

कप्तान रुबिना क्षत्रीले २२ बलमा एक चौका प्रहार गरी २१ रन बनाइन् । भुटानले नेपाललाई १३ अतिरिक्त रन दिएको थियो । बलिङका क्रममा भुटानकी सोनामले चार ओभरमा १३ रन खर्चंदै सर्वाधिक चार विकेट लिइन् ।